राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन कामपा मेयर बालेनलाई योगेशको चेतावनी

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई आग्रह गरेका छन्।
प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा नेता भट्टराईले काठमाडौं महानगरका मेयर शाहले राजनीतिक व्यवस्था परिवर्तनको संवाहक राजनीतिक दलका नेताहरूको जेलजीवनको उपहास गरेकामा आपत्ति जनाए।
उनले मेयर शाहप्रति लक्ष्य गर्दै भने,काठमाडौंलाई अझ सुन्दर बनाउन तपाईंको योजना के छ?आउनुहोस् हामीसँगै काम गरौँ। उत्तेजना फैलाउने उच्छृङ्खल गतिविधि नगर्न म आग्रह गर्छु।
सांसद भट्टराईले सहकारी ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिले सहकारीका तमाम नीतिगत समस्याका सन्दर्भमा स्पष्ट धारणा पेस गर्ने विश्वास व्यक्त गरे। उलने भ्रष्टाचारका सबै प्रकरणमा आफ्नो पार्टी अनुसन्धानका लागि तयार भएको पनि बताए।
यस्तै गिरीबन्धु टी–स्टेटको जग्गा हिनामिनाको विषय लिएर एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथि नियोजित ढङ्गले आक्षेप लगाइएको भन्दै सांसद भट्टराईले आक्रोश पोखे।
उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा अवरोध गरेका कारण नागरिकका धेरै विषय सदनमा उठाउन नसकिएको बताए।
