समाजवादी मोर्चालाई सक्रिय बनाउन नेताहरूबीच छलफल
काठमाडौं। समाजवादी मोर्चालाई सक्रिय बनाउनेबारे समाजवादी दलहरूबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुका भएको छलफलमा समाजवादी मोर्चालाई सक्रिय बनाउने विषयमा नेताहरूबीच अनौपचारिक कुराकानी भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले जानकारी दिए।
मोर्चालाई सक्रिय बनाएर सातै प्रदेशमा सङ्गठन विस्तारबारे कुराकानी भएको उनले बताए। छलफमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेपाल समाजवादीका अध्यक्ष यादवसहितका नेताहरू सहभागी थिए।
बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको थियो। नेकपा एमालेले एकाएक नेपाली कांग्रेससँग सत्ता समीकरण बनाउने समझदारी गरेपछि राजनीतिमा तरंग पैदा भएको छ।
