प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

उनीहरुले रिटमा संविधानको धारा ७६(२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ७६(३) बमोजिम नयाँ नियुक्ति गर्न माग गरेका छन्। अधिवक्ता यज्ञमणि न्यौपानेले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाएर रिट दर्ता भएको जानकारी दिए।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । उनले आज सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।