चुरेपारिको बिरानो नेपाल

‘आउन कृष्ण बसन मेरो मनैमा
नजाउ कृष्ण छोडेर वृन्दावनैमा’

 

नीमबहादुर थापाले मोबाइलमा बजाउनु भएको भजनले बिहानबिहानै निंद्रा खुल्यो । हामी आङ् तान्दै अल्छी मानीमानी उठ्यौं । नित्य क्रम सक्यौं । सीमा नाका पदयात्राको आज तेश्रो दिन हो । बिहान पखको उज्यालो भैसाही नाकाका पाखाभरी फैलिए । भैसाही स्कुलका यादब सर र पुनसरले चिया पकाएर सबैलाई पिलाउनु भो । स्कुलको साइबोर्ड आउने गरी समुहको फोटो खिच्यौं र बिदा लिएर हिड्यौं ।

खगेन्द्र गिरि काेपिला

भैसाहीको रात कटाई अस्ती अडबरुआको जस्तो सुखद हुन सकेन । लामखुट्टेको भुनभुन र घुर्नेहरुको घुराईले निद्रालाई रातैभरी बिथोलिरह्यो । तल गहिरो खोलाबाट आउने चिसो हावा पनि त्यस्तै बैगुनी । फाल्गुणको चिसो रातले सिरक खोजीरह्यो तर सिमेण्टेड चिसो भुईँमा ओछ्याइएको कार्पेटमाथि लुङ्गी ओढेर सुत्नु प¥यो हामीलाई । झ्याल बाहिर स्कुलको आँगनको छेऊमा उभिएका पीपलका रुखसंग मौन वार्ता गरेर सुत्ने प्रयास ग¥यो कोही न कोही बोलेर डिस्टर्ब गरिरहने । साँच्चै अन्त कहाँ भेटिदो रहेछ र घरको ओछ्यानमा पाइने मीठो निंद्राजस्तो सुताईको आनन्द !
राती राम्ररी निंद्रा नपरेकोले हिड्ने जाँगर छैन तैपनि घरबाट हिड्ने यात्रामा निस्किसकेपछि बसीरहन कहाँ पाइयो र? अल्छि मानीमानी हिडियो ।
मजाजको शेर सम्झिंदै हिडें ः—

 

रास्ते में रुकते दम लूँ यह मेरी आदत नहीं
लौटकर वापस चला जाउँ यह मेरी फितरत नहीं

 

दुईटा पहाडबीचको साँगुरो फाँटमा अटेसमटेस गरेर बसेको छ भैसाही । वरपर पहाडका पाखामा पनि फाट्टफुट्ट घर देखिए । बायाँपट्टिको पहाडको पल्तिर खिरकी नाका छ रे ! हामी सुनपत्रीबाट अलि माथिमाथि आएकोले त्यो गाउँमा पाइला टेक्न छुटेछ । खिरकी यहाँभन्दा दक्षिणपूर्वतर्फ प¥यो, हामीलाई सिधै दक्षिणपश्चिम लाग्नु पर्ने । केही पर गएपछि अलि बाक्लो बस्ती भेटियो । बाटोको छेउमा सीमा सुरक्षा प्रहरी चौकी देखियो । चौकी पनि के भन्नु र ख्वै? एउटा खरले छाएको टहरोको अघिल्तिर खुइलिन लागेको साइनबोर्ड झुन्डिएको छ । आँगनमा केही खाट र चारपाईहरु छन् । नीलोकालो पोशाक लगाएका केही जवानहरु अल्छिलाग्दो अनुहार बनाएर आँगनमा बसेका छन् । एक जना जवान हातमा बन्दुक समातेर उभिएका छन् । यस्तो एकलास ठाउँमा झोला बोकेका मानिसहरुको लश्कर देखेर ती प्रहरीहरु हामीलाई अचम्म मानेर क्वाक्वार्ती हेर्न थाले । एकजना अधबैंसे मान्छे राताराता आँखा पार्दै रबाफसाथ हामीलाई बोलाएर सोधपुछ गर्न थाले । नीमबहादुर दाजु उत्तर दिन थाल्नु भो । मुख ठ्वास्स गनाएको, बोली लर्बरिएको, खुट्टा लड्खडाएका, अस्तव्यस्त पोशाक लगाएको, टिल्ल परेर रक्सी पिएका उनी त्यही प्रहरी चौकीका सई (प्रहरी नायक निरिक्षक) रहेछन् । कुरा गर्दै जाँदा हामीले उनलाई चिनिहाल्यौं । यिनी त गत वर्षको सीमान्त यात्राको क्रममा कोइलाबासको सीमा सूरक्षा चौकीमा भेटिएका उनै सई पो रहेछन् । हामीले हाम्रो परिचय दियौं, उनले हामीलाई पत्रकार सोचेछन् । हामीले चिनेको भनेपछि उनको रबाफको पारा एकाएक हरायो । सहज बनेजस्तो गरेर कुरा गर्न थाले ।
‘हेर्नुस् न, म त यिनै नाकाहरुको रखवाली गरेर बसीरहेको छु, उता शहर र सुगम ठाउँमा सरुवा भएर जान कहिल्यै नपाउने भएँ’ उनी त आफ्नो गुनासो पोख्न थाले । ‘यो रक्सीले मलाई सीमानाकाबाट अन्त जान नदिने भो’ उनले आफ्नो सरुवा राम्रो ठाउँमा नहुनुको दोष रक्सीलाई दिए । हामीलाई उनको गुनासो पछाडिको सत्यता बुझ्न गाहारो भएन । बिहानैदेखि टिल्ल रक्सी पिउने सईलाई माथिल्लो निकायले पक्कै पनि यतैतिर सरुवा गरेर घुमाउँदै एक किसिमले सजाय दिइरहेको छ । हुन पनि हो, आफ्नै शरिरमाथि नियन्त्रण नभएका यी सईले सीमानाको रेखदेख कसरी गरेका होलान् र ?

 

ती सईले हामीलाई चिया पकाएर खुवाउन खोजे तर चौकीमा चिनी रहेनछ । ‘आजको खाना हाम्रै चौकीमा खाएर जानु होस्’ पनि भने, तर हामीले भौआ पुगेर त्यहाँको विद्यालयमा साहित्यिक कार्यक्रम गर्नु छ भनेपछि सबैसित हात मिलाएर बिदा गरे । ‘फर्केपछि यहाँका समस्या माथि सुनाइदिनु होला’ के सोचेर हो कुन्नि हामीलाई जिम्मेवारी पनि दिए ।

 

भैसाही गाउँको पुछारमा एउटा सानो चिटिक्क परेको मन्दिर देखियो । सीमाक्षेत्रको यात्रामा धेरै ठाउँमा चर्च देखिए तर मन्दिर नदेखेका हाम्रा आँखाको लागि त्यो मन्दिरको दृश्य आश्चर्य र खुसीको विषय बन्न पुग्यो । शिवजीको मन्दिर रहेछ । मन्दिर सानो भए पनि मुर्ती भने भव्य र निकै कलात्मक रहेछ । छविलाल मिटवा, आशिष, मीनबहादुरजी र बुलबुल हिड्दै रहे । हामी अरुले मन्दिर प्रवेश गरेर भगवानको दर्शन ग¥यौं । पुजारी एक जना भारतीय साधु रहेछन् । हामीहरु मन्दिर प्रवेश गरेको दृश्यलाई उनी एक किसिमले विष्मय ढंगले हेरिरहेका थिए । उनीसित हामी केही बेर गफियौं । ‘यहाँ मेरो काम केवल मन्दिर रुङ्ने मात्रै हो, दर्शन गर्न पुजा गर्न कोहि आउन्नन् । यहाँका नेपालीहरु सबैजसो कृश्चियन बनिसकेका छन्’ उनले खिन्नता र चिन्ता प्रकट गरे । त्यही भएर पो उनले हामीहरु मन्दिर पस्दा अचम्म मानेर हेरेका पो रहेछन् । ‘कभी कभी भारत से कोही पुजा करने वाले लोग आ जाते ह,ै उनकी दक्षिणा दान से मन्दिर के लिए पूजा सामाग्री खरिद लेते है’ । ‘म मरे पछि कसले निरन्तरता देला यो मन्दिरको पूजापाठको?’ उनले भविष्यको चिन्ता पनि पोखे हाम्रासामु । नेपाली भूमिको त्यो एक्लो र टुहुरो मन्दिरको सुरक्षा र नित्य पूजाको लागि उनी जसरी अहोरात्र खटिरहेका छन् त्यसको प्रशंसा नगरी रहन सकिएन । उनको हातबाट टिका लगाएर दक्षिणा दिएपछि निकै खुसी भए् । हामीले ती साधुका खुट्टैमा ढोग्यौं र आभार प्रकट गरेर अघि बढ्यौं । साँच्चै त्यहाँनिर मलाई त देश, भूगोल, जात र भाषाका सीमारेखाले धर्मको अपनत्वलाई छेक्न नसक्दो रहेछ भन्ने लाग्यो । मन्दिर परिसरमा आएपछि भगवानको काखैमा लुटपुटिएको आभास भयो । पाइला चाल्न मन लागेको थिएन । तैपनि हिड्न आएका मान्छे, नहिडि सुक्ख थिएन । मन्दिरको मांगलिक अनुभूतिको अतृप्तता बोकेर बाटो लाग्नै प¥यो ।

 

यहाँनिर सीमानाको काम एउटा खोल्सोले गरेको रहेछ । खोल्साको पारिपट्टी भारतीय सीमा सुरुक्षा बलको भव्य चौकी देखियो । वारिपट्टिको नेपाली भूमिमा सानो पहाडको कोप्चोमा पाँच छ ओटा घर छन् । एउटा घरको आँगनमा उभिएर हामीलाई हेरिरहेकी महिलालाई मनौरा जाने बाटो सोध्यौं ।

 

‘डाँडापट्टि जानु भयो भने बाटो पहिल्याउन सक्नु हुन्न, तलैतल बाउडरैबाउडर जानु होस्’ भनेर उनले बाटो देखाइदिईन ।
खोल्सो तरेर हामी पश्चिमतर्फ लाग्यौं । खोल्सामा पानी थिएन, केवल बालुवैबालुवा थियो । दशगजामाथिको खाल्डाखुल्टी बाटो बास्तबमा बाटो भन्न सुहाउने जस्तो छैन । बाटोको रुपमा जमिनमाथि कोरिएका ससाना रेखाहरु जङ्गलभित्र पसेपछि साँगुरो साँगुरो हुँदै एउटा खोल्सोनिर पुगेर बिलिन भए । हाम्रो टोलीका छ जना साथी छिटोछिटो हिडेर नदेखिने गरी ओझेल परिसकेका छन् । पछाडिको ढिलो हिड्ने टोलीमा म, श्रीधर भण्डारी, बीपि अस्तु, डम्मर र महेन्द्र गरी पाँच जना छौं । खोल्साको डिलमा हामी कता लागौं? कता लागौं? भएर एकछिन अलमलियौं तर रणभुल्लमा परेर यहाँ उभिइरहने कुरा भएन । आखिर नेपालपट्टि जाने त हो, अगाडि कहिँ न कहिँ बाटो भेटिई त हाल्ला भनेर खोल्सो तरेर झाडी पन्छाउँदै उत्तरतिर लाग्यौं । झाडीभित्र केहिबेर रुमल्लिदै हिडेपछि एउटा बाटोको नमूना भेटियो । हामी त्यसैलाई सहारा बनाएर हिड्न लाग्यौं । त्यो बाटो दक्षिणदक्षिणतर्फ लाग्दै गयो । जङ्गल झन्झन् घना हुँदै गयो । भैसाहीबाट हिड्दा एकघण्टामा मनौरा पुगिएला भनेका थिए तर डेडघण्टा जति जङ्गलभित्र हिडीरहँदा पनि कुनै गाउँ आएको संकेत देखिएन । बाटो दक्षिणतिरै गैरहेको कारणले अब हामीलाई पक्का भो जङ्गलमा हराइसकेका छौं हामी, या त उल्टो बाटो हिडिरहेका छौं । अगाडि हिडेका छ जना साथीहरु कता पुगे थाह छैन । एक किसिमको डर पनि पलायो मनभित्र । चरा नचिर्चिराएको, हावा नसिर्सिराएको जङ्गल बिरानो बिरानो लागिरह्यो । जङ्गलमा जताततै पात खसेका छन् । पातमाथि हिड्दा खस¥याङ खस¥याङ आवाज आएर जङ्गलभित्र अर्कै खाले कोलाहल थपिएको छ । भुइँभरी फिजिएका पातमाथि हिड्दाको आवाज भयावह सुनिदो रहेछ । कुनै अपनत्व भेटिएन यो जङ्गलमा ।

 

एक ठाउँमा त्यही बाटोबाट छुट्टिएर पश्चिमपट्टि गएको सानो धर्सोजस्तो रेखा भेटिएपछि त्यसैलाई आधार मानेर हिड्न लाग्यौं । त्यो रेखा उत्तरउत्तर मोडियो । केही बेर त्यही धर्सोमाथि हिडिरह्यौं । हामी हिडिरहेको धर्सो बाटो उत्तरउत्तर लाग्दै गएपछि हिड्दै गरे नेपालै त पुग्ला भनेर एक—अर्कोलाई आश्वस्त पा¥यौँ । जङ्गलभित्र बाघ, भालु वा डाँका भेटिने डर त छँदै छ भारतिय सीमा सुरक्षा बलका गस्ती गर्ने जवान भेटिएपछि हामीमाथि कस्तो व्यवहार गर्लान् भन्ने पिर पनि छ । हिड्दै गर्दा जङ्गलमा दुई जना दाउरा बटुल्न लागेका नेपाली महिला देखिए । त्यस्तो घनघोर जङ्गलमा उनीहरुलाई देखेर हामी आश्चर्यमा प¥यौं । हामीहरुलाई देखेर उनीहरु तर्सिएजस्ता भए । उनीहरुले हिड्दै जानुहोस् आधा घण्टा लाग्ला मनौरा पुग्न भनेपछि मन ढुक्क भएर आयो । अब त हिडाईमा केही फुर्ति पनि आयो । अघिदेखि चुपचाप हिडिरहेका श्रीधर भण्डारी कविता सुनाउन लागे । बाटोमा उताबाट साइकिलमाथि खरका डोरीहरु बोकेर आइरहेको एक जना केटा भेटियो । उसले ‘हिंत्ती छ मनौरा’ भनेपछि हामी उत्साहित भयौं ।

 

हराएर पनि हामी सही ठाउँमा आइपगेका छौं फेरि । अघि छुटेको दशगजा भेटिएको छ फेरि । दशगजामा एकछिन सुस्तायौं । हाम्रा छ जना साथीहरु पनि पछिपछि लमक्लमक गर्दै आइरहेका देखिए । उनीहरु पनि जङ्गलभित्र भौंतारिएर बल्लबल्ल बाटो भेटिएपछि यहाँ आइपुगेका रहेछन् । नेपाली भूमिमा टेक्न पाउँदा बिहानै भरी भारतीय जङ्गलमा भौतारिदाको थकाई मेटिएजस्तो भयो । छुटेको बाटो भेटिनुमा पनि अर्कै आनन्द हुँदो रहेछ । मनमा उर्लिरहेको चिन्ता र डरको भाव पनि हराएर गयो । पारिपट्टि भारतको घनघोर जङ्गल, पारिपट्टि छ सानो फाँटमा रहेको सानै नेपाली बस्ती । हुन त दश—बारह ओटा मात्रै ससाना झुप्रा छन् गाउँमा तर हामीलाई स्वर्गको राजधानी अमरावतीमैं पुग्दाको भन्दा कम सुखानुभूति भएन । गाउँ निकै सुनसान लाग्यो । उत्तरतिरबाट आउने खोलाको दुबैतिरको किनारमा फैलिएको छ गाउँ । धेरैजसो घरमा मानिस कोहि भेटिएनन् । रसिलो बगरमा गहुँ बाली राम्रै सप्रिएको रहेछ । दुई जना महिलाहरु बारीमा केराउ टिप्दै छन् । श्रीधर भण्डारीलाई एकसुरमा कविता भट्टयाउँदै हिडेको देखेर खितिती हाँस्न थाले । बाटो र आँगनमा खेलिरहेका केटाकेटीहरु हामीलाई देखेर दौडिदै कता लुके कता । कुनै घरमा खाना खाने मेसो नभेटिएपछि ‘आज भोकै रहिने भो’ बीपी अस्तुले चिन्ता पोखे ।

 

अब खानाको मेसो मिलाउनु थियो । एउटा घरको आँगनमा भाँडा धोईरहेकी महिलासित कुरा गर्न थाले श्रीधर भण्डारी । यो गाउँको नाम सानो मनौरा रहेछ । ‘याँ हाम्रा घरमा छोरा मान्छे कोई छैनन्, अलि पर जानु होस् ठूलो मनौरा आउँछ, त्यहाँ खाना पाइहाल्नु हुन्छ’ भनेर उनले झण्झट पन्छाइन् । हामी फेरि खोल्साको गड्याङगुडुङ बाटो हुँदै अघि बढ्यौं । आफ्नो देशको बाटो जस्तो भए पनि आफ्नै हो । भोक र थकानले शरिर म्लान भए पनि यात्राको स्फुर्ति भने यथावत नै छ । छिटोछिटो हिड्ने साथीहरु फेरि अघिअघि लम्किए । यो पाली त श्रीधर भण्डारी पनि छिटोछिटो हिड्न लागे । पछाडि रह्यौं हामी चार जना हिड्न नसक्नेहरु । आधा घण्टा जति हिंडेपछि आइपुग्यो ठूलो मनौरा । सात जना साथीहरु मनौरामा नपसेर सिधै भौआ लागेछन्, पछि परेका हामी चार जना मनौरा गाउँमा पस्यौं ।

 

‘भौआको कविगोष्ठी छुटे छुटोस्, खाना नखाएर अब अगाडि गइन्न आफू त’ मैले घोषणा गरेपछि महेन्द्र, डम्मर र बीपीले होहो अङ्कल भनेर समर्थन जनाए ।

 

एउटा सानो घरको पिढीमा महिला देखिइन् ।

 

‘लौ बहिनी खाना पकाउने व्यवस्था गरिदिनु प¥यो’ मैले हत्तपत्त अनुरोध गरिहालें । ‘हाम्रा घरमा चामल छैन, के पकाएर खुवाउनु?’ उनले विवशता देखाइन् ।

 

‘हामीले चामल बोकेका छौं, भाँडा, पानी र पकाउने ठाउँ दिनु भयो भने हामी आफै पकाइहाल्छौं’ मैलें भनें ।
‘चामल भए त म पकाइदिई हाल्छु नि आउनुहोस् बस्नुहोस्’ भनेर उनले पिढीमा गुन्द्री ओछ्याइदिइन् । महेन्द्रले कुखुराका चल्लाको मोलतोल मिलाए । एक जना बुढा मान्छे हामी भएको ठाउँनिर आएर गफिन थाले । उनको नाम लालबहादुर घर्तीमगर रहेछ । रोल्पाबाट आएका रहेछन् । ‘याँ आयाको पनि तीस वर्ष भैगो बाबु केई प्रगति भएको नाइँ, अब मन्र्याँ बेला पनि भै गयो’ बुढामान्छे आफ्ना कथाव्यथा सुनाउन लागे । गाउँलेहरु खाना खाएर कोही घाँस दाउरा गर्न जङ्गल गएका रहेछन् । कोही खरले बाटेका डोरी बेच्न सिर्सिया गएका रहेछन् । यतातिर खरले बाटेको डोरी नगद आम्दानीको एउटा श्रोत रहेछ ।

 

घरपट्टि महिलाको नाम रहेछ देवकला राना । उनको घरमा हामी डेड घण्टा जति बस्यौं । उनले आफ्ना निजी दुख र गाउँका समस्याहरु पनि सुनाइरहिन् । यिनका पति भारतको सिर्सियामा मजदुरी गर्न गएका रहेछन् । तीन ओटा बच्चा हुर्किदै रहेछन् । उनी क्षत्रीकी छोरी उनका पति पुन मगरका छोरा ।
‘तपाइँको मागि बिबाह हो कि भागि बिबाह हो दिदी?’ डम्मरले सोधि हालें ।
‘उँ क्या सोध्नु हुन्छ यस्ता कुणा?’ उनी हाँसिन् र लजाइन् ।
बारह वर्ष अगाडि रोल्पाबाट भागेर यहाँ आई जङ्गल फडानी गरेर नयाँ जीवन शुरु गरेका रहेछन् उनीहरुले । पतिको ज्याला मजदुरी र बारीमा फल्ने अन्नले जेनतेन गुजारा चलेकै रहेछ । तर जग्गाको कुनै कागज साथमा नभएकोले सरकारले कतिखेर लखेट्ने हो कुन्नि? उनलाई यसैले चिन्तित बनाउँदो रहेछ ।

 

मनौरामा नेपालका केही एफ.एम. सुनिदा रहेछन् । सबैका मोबाइल स्वीच अफ भैसकेका छन् । डम्मरको मोबाइलमा अलिअलि चार्ज बचेको रहेछ । घरमा फोन लगाएँ, लागेन । उनले मोबाइलमा तुल्सीपुरको एफएम लगाए । एकछिन गीत सुनेर रोमाञ्चित भयो मन । बारह बजेको समाचार आयो । समाचार सुन्दै जाँदा एकछिनमा छविलाल कोपिलाको संयोजन र नीमबहादुर थापाको नेतृत्वमा सीमा नाका साहित्य पदयात्रा शुरु भयो भन्ने समाचार पनि भन्यो । भौआमा साहित्यिक कार्यक्रम हुने जानकारी पनि दियो एफएमले । अकस्मात हाम्रै बारेको समाचार सुन्न पाउँदा हामी औधी खुसी भयौं तर हाँसो पनि लाग्यो । हाम्रा संयोजनकर्ता छविलाल कोपिला र नेता नीमबहादुर थापा हामीलाई मनौराको जङ्गलमा अलपत्र पारेर आफू भने अघिअघि कता पुगे कता । हामी भने बल्लबल्ल मनौरामा देवकला रानाको घरमा ओत लाग्न आइपुगेका छौं । नेता हुन सजिलो छ र ?

 

एकैछिनमा खाना पाक्यो । तातो भात र तातो झोल पेटमा गएपछि जिउमा नयाँ स्फुर्ति आयो । हामीले आफ्ना भाँडा आफै धुन खोज्यौं तर उनले धुन दिइनन् । उनका हातमा एक हजार रुपियाँको नोट राखिदिएँ ।

 

‘आआआआ रन्दिनु पाहुना मान्छेबाट हामी खाना पकाएर खुवाएको पैसा लिन्नम्’ उनीभित्रको सामाजिक संस्कार बोल्यो तर हामी पैसा नदिएर जाने पक्षमा थिएनौं । निकै कर गरेपछि असजिलो मानेर पैसा समातिन् उनले । देवकलाको घरबाट बिदा भएर फेरि हामी सीमानाको एकधर्के बाटो हुँदै पश्चिम लाग्यौंँ । देवकलाको घरमा भेटिएका बुढा मान्छेले निकै वरसम्म आएर हामीलाई भौआ जाने बाटो देखाइदिए ।

 

डेड घण्टा जति जङ्गलको बाटो हिडेपछि बालुवैबालुवाले भरिएको एउटा खोला देखियो । खोलाको पानी सुक्न लागेको छ । करिब आधा किलोमिटर जति वारिपारि फैलिएको खोलाको बगर हेर्दा वर्षातमा यस खोलाले धारण गर्ने रौद्र रुपको आँकलन गर्न कठिनाई भएन । बलौटे बगर पार गरेपछि हरिया गहुँबारी देखिए । यही रहेछ भौआ नाका । वरपर नेपाल र भारत छुट्टाउने कुनै निशानी देखिएन । गाईबस्तुहरु निस्फिक्री चरिरहेका छन् । पर गहुँबारीको बीचमा लहरेदार रातो बकमबेली फूल झपक्कै फूलेको एउटा घरको आँगनमा केही मान्छे बसेका देखिए । हामी उतै लाग्यौं । ‘तपाइँहरु अहिले आइपुग्नु भो? तपाइँका साथीहरु माथि स्कुल जानु भएको छ’ खुट्टा अपाङ्ग भएको एउटा हँसिलो केटाले केही नसोध्दै सुनायो । ‘लौ भाई हामीलाई त्यहाँ जाने बाटो सिकाई दिनु प¥यो’ मैले अनुरोध गरेँ । ‘लौ हिड्नु होस्’ भन्दै ऊ अगाडि लाग्यो मानौं ऊ हामीलाई सहयोग गर्नको लागि नै पर्खिरहेको थियो ।

 

यो भौआको दक्षिणी पुछार रहेछ । कुलोको पानी पारावार भएर हिलाम्मे भएको बाटो हुँदै हामी भौआको शिवशक्ति माध्यमिक विद्यालयतिर लाग्यौं तर कविगोष्ठी समापन भैसकेको रहेछ । साथीहरु हामी नआएको देखेर के गर्ने? के गर्ने? भन्दै अलमल गर्दै पर्खिरहेका रहेछन् । हामीहरु लुरुलुरु आएको देखेर सबै जना हामीलाई आँखा च्यातीच्याती हेर्न लागे । छविलाल मिटवा र नीमबहादुर दाजुलाई अब कसैलाई पनि छोडेर अघिअघि लमक्लमक हिड्न पाउनु हुन्न भनेर बाचाकबुल गरायौं तर त्यो बाचा नेताहरुको चुनाबी आश्वासनजस्तै भौआबाट पश्चिम लाग्दानलाग्दै भङ्ग भैहाल्यो ।
साँगुरो घुमाउरो खोल्साको वारीपारी फैलिएको भौआ हामीले घुम्दै आएका नाकाहरु मध्ये रसिलो, केही सम्पन्न र अलिकति विकसित पनि छ जस्तो लाग्यो । माध्यमिक विद्यालय, हेल्थपोष्ट र कृषि केन्द्र रहेछन् यहाँ । सिंचाईको सुबिधाले खेतीपाती पनि राम्रै हुँदो रहेछ । भारतमा दुध र खसी बोका बिक्री गरेर गाउँलेहरु गुजारा चलाउँदा रहेछन् । एकसय जति घर भएको यो गाउँमा केही घर पक्कि पनि देखिए । केही घरका छतमा सोलार छन् । मोबाइल पनि लाग्दो रहेछ, माथि अलि अग्लो ठाउँमा गएपछि । यहाँबाट बाँकेको कुसुमसम्म पुग्ने चौध किलोमिटर बाटोको ट्रयाक खुलेपछि मोटर साइकल र टे«क्टर पनि फाट्टफुट्ट चल्न थालेका रहेछन् अचेल । हाम्रो टोलीका साथी दीपक शर्मा ‘समीर’ तीन दिनदेखि निकै फुर्तिफार्तीका साथ अघिअघि हिडिरहनु भएको थियो । तर भौआ पुगेपछि खुट्टा दुखेर हिड्न सक्दिन भन्न लाग्नु भो । भएको के रहेछ भने तुल्सीपुर घर भएका उहाँका एक जना छिमेकी साथी भौआमा शिक्षक हुनुहुँदो रहेछ । उहाँ मोटर साइकलमा कुसुम हुँदै आजै घर जान लाग्नु भएको रहेछ । दीपकजी हामीसित छुट्टिएर आफ्नो साथीसित हिड्ने हुनु भो । ‘मोटर साइकलमा जान पाउने भएपछि दीपकजीको खुट्टा पनि भौआ पुगेर नै दुख्न थाल्यो, खुट्टो बडो समझदार रहेछ’ छविलाल मिटवाले हँसाउनु भो ।

 

समय दिउँसोको दुई बजिसकेको छ । गाउँलेहरुले आज यतै बस्नोस् तपाइँहरुसित भलाकुसारी गरेर मन भरिएको छैन पनि भने तर दिउँसै बास बस्न त्यति उपयुक्त लागेन हामीलाई । दीपकजी छुट्टिएपछि हामी दश जना रह्यौं अब । भौआ दाङ्को अन्तिम नाका हो । यहाँभन्दा पश्चिमपट्टिका नाकाहरु बाँके जिल्लामा पर्छन् । हामीलाई मिर्गिया नाका पुग्न डेड घण्टा जति लाग्यो । मिर्गियामा तीसबत्तिस ओटा घर रहेछन् । अरहर बारीभित्र लजाएर लुकेजस्तो लाग्यो मिर्गिया नाका ।

 

यहाँबाट पश्चिम तर्फको बाटो अलि उकालो चढ्नु प¥यो । एउटा थुम्कोको माथिमाथि हामी हिडिरहेका छौं । दक्षिणपट्टिको अर्को थुम्कोमा सीमास्तम्भ ठडिएको देखियो । उत्तरपट्टिको गहिरो फाँटतिर हेर्दा बनावा गाउँ जमरा र अक्षता सजाएर राखेको थालजस्तो सजिएको देखियो । धेरै बेरसम्म हेरिरह्यौं त्यो मोहक दृश्य । बनावाको फाँट र पाखामा बारहपन्ध्र ओटा घर छरिएका छन् । एक जना मान्छे तल फाँटमा भैसी चराइरहेको देखियो । माथिबाट आशिषले चिच्च्याएर सोधे— ‘यो कहाँ जाने बाटो हो? अगाडि कुन गाउँ पर्छ?’ । ‘सिधै जानु होस् ओरालो झरेपछि भौंरी नाका पुगिन्छ’ ऊ तलैबाट चिच्यायो । माथिबाट मात्रै बनावासित साउती मारेर हामी पश्चिमतर्फ लागिरह्यौं । बनावा नपुग्दासम्म बाटोमा केही भेटिएन मन बहलाउने कुरा तर यहाँ पुगेपछि मन एकतमासले रमाएको छ ।

 

बनावाबाट पश्चिम लाग्दा दृश्यहरु परिवर्तन हुन लागे । बाटो ओरालो झ¥यो फेरि । अँध्यारो खोल्साको किनारैकिनार निकै बेर हिडिरह्यौं । बल्ल गोठहरु भएको एउटा फाँट भेटियो । अलि अगाडि पाँच—छ ओटा झुप्रा पनि देखिए । एक जना युवक बारीको छेउमा रुखका हाँगा ठड्याएर बार लगाइरहेका छन् । उनले अगाडि जाने बाटो देखाइदिए । फेरि अर्को अँध्यारो नागबेली खोल्साको छेवैछेउ हिड्दै गयौं । एउटा अर्को फाँट आइपुग्यो । यहाँबाट अगाडि जाने बाटो पहिल्याउन मुस्किल भयो । चारओटा रित्ता गोठ भेट्यौं तर गाई गोरु केही छैनन् । अलि पर तीन ओटा झुप्रा पनि देखिए । बाटो छेउको एउटा झुप्राको बाहिरपट्टि दुई जना बुढाबुढी र तीन ओटा ससाना बालक आगो तापिरहेका छन् । हामी बास पाइन्छ कि? भनेर कुरा गर्न थाल्यौं ।

 

यही रहेछ भौंरी नाका, सर्पजस्ता बाङ्गाटिङ्गा खोला र खोल्साहरुले जेलिएको । ती बुढाले एउटा अँध्यारो खोल्सामा एक किलोमिटर जति हिंडाएर ठाडै उकालो देखाएर भने ‘यही बाटो जानु होस्’ । हामी मुखामुख गरेर एक अर्कालाई हेर्न थाल्यौं । त्यहाँ बाटोको कुनै निशान थिएन । करिब पाँच बजिसकेको थियो । अँध्यारो खोल्सालाई घना अँध्यारोले छोपिसकेको छ । हामी खरका बुट्टयान समातेर उकालो चढ्न थाल्यौं । उकालो ठाडै थियो तर जहाँनिर खुट्टा राख्यो त्यहींनिर भाँसिएर बुर्बुर बालुवा झथ्र्यो । हामी चिप्लिएर तल पुग्थ्यौं, फेरि खरको बुट्टयान समातेर माथि उक्लियो । फेरि तल, फेरि माथि, निकै बेर यही सिलसिला चलिरह्यो । सिसिफसको कथा सम्झाइदियो उकालोले । सबैभन्दा पछाडि महेन्द्र छन् उनको अगाडि म छु ।

 

‘चाउचाउ खाएर शहरतिर हुर्किएका यी केटाहरु हिड्नै सक्दैनन्, नाकायात्रा खै कसरी पुरा गर्लान्?’ नीमबहादुर दाजुले महेन्द्रलाई जिस्क्याउनु भो ।

 

‘अङ्कल मैले हार खाएको छैन अझैं’ महेन्द्रले अठोट गरे । न ओरालो झरेर फर्किन मिल्ने, न उकालो चढ्न सकिने । मैले एउटा गजलका शेर सम्झिएँ ।

 

इस तरफ भी मुस्किलें है, उस तरफ भी मुस्किलें
जिन्दगी तू ही बता अब किस तरह तुझ से मिलें

 

हुन त यो उकालो एक किलोमिटर भन्दा बढी छैन तर ठाडो बलौटे भएकोले उकालो चढ्न हामीलाई एकघण्टा जति लाग्यो । तर्तर पसीना चुहिरहेको शरिर बोकेर चुचुरोमा पुग्यौं । पहाडको चुचुरोबाट चारैतिर हेर्दा हरिया जङ्गलले ढाकिएका पहाडी थुम्काहरु मात्रै देखिए । मानवबस्तीको कुनै संकेत छैन । घाम डुब्न लागिसकेका छन् । हामी फेरि पहाडको माथिमाथि पश्चिमतर्फै हिड्न लाग्यौं । सानो बाटोको नमूना भन्न मिल्ने मात्रै धर्को छ । कुनै धर्काहरु दायाँबायाँतर्फ जान्छन् फेरि अल्मलिन्छौं हामी । बल्लबल्ल एउटा घुमाउरो खोल्साको छेउमा आइपुग्यौं । कालो बर्को ओढेर सुत्ने तरखर गर्न लागेका छन् पहाडी थुम्काहरु । हामी भने अन्धकारलाई चिर्दै अन्जान ठाउँमा बास खोज्दै भौतारिइरहेका छौं । साँझको बेला अँध्यारो बढ्दै गएपछि बाटो पहिल्याउन पनि सकस पर्न लाग्यो । मैले टर्च बोकेको थिएँ । त्यसैको सहारामा एकोहोरो हिडिरह्यौं । चुपचाप हिडिरहेका मिनबहादुर राना आकाशतिर मुख उठाएर हाँक दिन्छन् तर उनको आवाज आकाशमा ठोक्किएर फिर्ता आउँछ र हराउँछ ।

 

एक ठाउँमा दक्षिणतर्फ ढल्किएको पहाडको पाखोमा सीमास्तम्भ देखियो । त्यसलाई देब्रे पारेर हामी हिडिरहेको बाटो दाहिनेपट्टि ओरालो झर्न लाग्यो । पर गहिरोमा बत्ति बलेका टिमटिम दृश्य देखिए । सजिलै कोही देखिदैन अगाडि पुगेको र पछाडि छुटेको साथी । प्रकृतिको रोमाञ्चक कालीगडीलाई अँध्यारोले सर्लक्क छोपिसकेको छ ।
‘अब त गाउँ आएजस्तो छ’ अघिदेखि चुपचाप हिंडिरहेका बीपी अस्तुले आँकलन गरे । हिड्दै त्यहाँ पुग्दा त ती गोठ रहेछन् । हाम्रो दश जनाको टोली ती गोठमा अटाउन सक्ने अवस्था देखिएन । एक जना गोठालाले सल्यानी लबजमा ‘अब हिंत्ती हो गाउँ, अल्तै छ हिड्नु’ भनेर फेरि ओरालो बाटो देखाइदिए । हामी अल्छी मानेर फेरि हिड्यौं । खाल्डाखुल्डी, ढुङ्गा, मुढा, ठुटा केही भनेनन् खुट्टाले । कतै ठोक्किए पनि, कतै ठेस लागे पनि गुनासो गरेनन् । खोल्साको बाटो हिडेर गाउँ पुग्न आधा घण्टा जति लाग्यो । गाउँको पुछारको घरमा आगो जलेको देखियो । हामी पेटीमा थ्याच्च बस्यौं । थाकेका आँखा आफै बन्द भए । जीउ चल्मलाउन मन लागेन । बोल्न मन लागेन । उठ्न मन लागेन । घरभित्र गुनगुन गरेर कुरा गरेको सुनेपछि आँगनबाट आशिषले ‘घरमा को हुनुहन्छ हो?’ भनेर चिच्याए । गुनगुन गरेर कुरा गरिरहेका मान्छेहरु चुप लागे । निकैबेर सम्म बोलाउँदा पनि कोही नबोलेपछि ‘हामी त बास बस्न आयौं है’ भनेर सबै जना ग्वागर््वार्ति भित्र पस्यौं । एक जोडी बुढाबुढी र दुई जना बालिकाहरु भात पकाइरहेका थिए । नबोलाएका पाहुनाको हुल देखेर उनीहरु आत्तिए । चोर, डाँका वा भारतीय एसएसबी के सोचे कुन्नि हतप्रभ नजरले हामीलाई हेर्न लागे । थाकेर लखतरान भएका हाम्रा शरिर चुलोको वरिपरि ढले । नीमबहादुर दाजुले सबै बेलीबिस्तार लगाएपछि घरपट्टि बुढाको मुखबाट निस्कियो ‘आ बस्नु होस् बाबु जे पाकेको छ त्यही बाँडेर खाउँला’ । हामी दश जना दुईतिर बाँडियौं । ती बुढा मान्छेले छिमेकी घरमा पनि बस्ने व्यवस्था मिलाइदिए ।

 

यी बुढाको नाम चन्दबहादुर थापा रहेछ । बुढीको नाम सावित्री भण्डारी । बुढा बहत्तर वर्षका, बुढी अठसट्टि वर्षकी । उनका छोराबुहारी पोखरामा काम गर्दा रहेछन् । यहाँ घरमा दुईटा नातीनी र एकजना नाती छन् । बुढा हामीसित निकै हौसिएर कुरा गर्न थाले । तीस वर्ष अगाडि रोल्पाबाट यहाँ आएर पाएका कष्ट सुनाउन लागे । ‘अचेल त खानेपानी पनि आयो, सोलार पनि छ, शौचालय बनायौं, उहिले त जङ्गली जनावरजस्तै भएर जिन्दगी काटियो बाबु’ ।
सबैभन्दा रमाइलो त यी बुढाबुढीको प्रेमकथा रहेछ । दुबै जना नातीनातिनी जन्मीसकेका बृद्ध । थापा क्षत्री थर भएका चन्द्रबहादुरकी श्रीमति बितेकी, भण्डारी बाहुनी साबित्रीका पति बितेका । चार वर्ष अघि भुँवर भवानीको मेलामा भेट भएपछि दुबै जनाको माया बसेछ । चन्द्रले बिहे गरेर साबित्रीलाई दिन भरी हिडाएर यहाँ ल्याएका रहेछन् । निकै होसिएर बुढा आफ्नो प्रेमको कथा सुनाउन लागे, बुढी लजाइरहिन् ।

 

यो गाउँको पुरानो नाम मुर्कट्टा रहेछ । जिउ नदेखिने केवल टाउको मात्रै देखिएर तर्साउने भूतलाई मुर्कट्टा भन्छन् रे । त्यही भएर त्यो नाम मन नपरेर अचेल यसको नाम महेशपुर राखेका रहेछन् ।

 

उमेर पुगेका दुइटी नातिनी रमिता र संगीता अघि हामीलाई देखेर निकै डराएका थिए । बिस्तारै खुल्दै गए । उनको घरमा मासु र रक्सीलाई प्रवेश निषेध रहेछ । ‘देउता लाग्छन् हामी कहिल्यै भित्र ल्यान्नम्’ रमिताले कारण खुलाइन् । बल्लबल्ल बास पाएको घरमा हामीले पनि मासु र मदिरा खोज्ने कुरा पनि भएन । उनीहरुले भात पकाए । केराउको तरकारी पकाए । टमाटर र लसुनको चटनी बनाए । थपिथपि खायौं ।

 

डम्मर र बीपि एफएममा बोल्ने मान्छे हुन् भन्ने थाहा पाएपछि उनीहरु आश्चर्यमा परे । डम्मरले हिमाल एफएमबाट चलाउने साँगीतिक कार्यक्रमका उनीहरु नियमित श्रोता रहेछन् । खाना खाएपछि एकछिन रचना सुन्ने, सुनाउने सिलसिला पनि चल्यो । बुढाले पनि एउटा गीत सुनाए । डम्मर र श्रीधरले एफएममा बोलेको अभिनय गरे ।
बीपी अस्तु गजल सुनाउन लागेः

 

‘हे¥यो भने संसार देखिन्छ झ्यालबाट
सबथोक बुझ्न सकिन्छ झ्यालबाट
परदशीलाई आमाले खबर पठाइन्
हररात आँसु पोखिन्छ झ्यालबाट
हेर्छिन् मुस्कुराउछिन् म पनि त्यसै गर्छु
अचेल हाम्रो नजर मिल्छ झ्यालबाट’

 

थाकेर शरिरले निद्रा खोजिरहे पनि बुढाका गफ र रमिता, संगीताका उत्सुक प्रश्नले निदाउन दिएको छ्रैन । हासपरिहास चलिरहेकै थियो कतिखेर मेरा आँखा लागे ख्यालै भएन । म त भुसुक्कै निदाएछु ।

 

भेलिपल्ट महेशपुरको बिहानी परिवेश चिसो चिसो लाग्यो । एकाबिहानै निद्रा खुले पनि ओछ्यान छोड्न मन लागेन । शरिरका अङ्ग,अङ्ग थाकेका छन् । तिघ्रा र पिडौंलामा दुखाईले आक्रमण गरेको छ । आङ तानेर उठ्यौं । रमिता र संगीताले चिया पकाए । मकै भुटे । ‘रोटी बनाइदिन्छौं, अगैया नपुग्दासम्म बाटोमा केही पनि खान पाइन्न’ रमिताले स्नेह पोखिन् । ‘भैगो नानी हामी त जहाँ जे पर्छ त्यही गरौंला, जहाँ जे पाइन्छ त्यही खाउँला भनेर हिडेका मान्छे हौं, पाए खाऔंला, नपाए भोकै हिडौंला, दुक्ख नगर’ नीमबहादुर दाजुको प्रतिउत्तरमा हिजोको आरामदायक बास पाएको गुन पोखियो ।

 

हिजोको कुस्त थकाईले आलस्य फैलिएको छ शरिरभरी । त्यसैमा यो घरले दिएको आत्मिय आतिथ्यताले खुट्टा चलमलाउन मानिरहेका छैनन् ।

 

‘एकदिन यहीं बसौं न अङ्कल’ डम्मरको भाव आवाजमा पोखियो ।
‘लौ डम्मरलाई त महेशपुरले मोहनी पो लगाएछ’ डम्मरको शान्तरसमा नीमबहादुर दाजुले हास्यरस थपिदिनु भो ।
आज नाकायात्राको अन्तिम दिन हो । यो यात्रा भरी सबैभन्दा भावुक बिदाई पाएको आजकै बिहान हो । चन्द्रबहादुर थापाको घरबाट आफ्नै घरको मान्छे परदेश गएको जस्तै गरि हामीलाई बिदाई गरे । सात बजिहाल्यो त्यहाँबाट हिंड्दा । निकै वरसम्म पु¥याउन आएका बुढाले आँखाबाट आँसु पोखुँला पोखुँला जस्तै गरी हात समाउँदै भने — फेरिफेरि आइजानु होला है बाबु ।

 

हिजो अस्तिदेखि हिडिरहेकै जस्तो बाटो, उस्तै बुट्टान, खोल्सा थुम्का काटेर डेडघण्टामा गुरधनगौडी पुग्यौं । घर छाएका टिनका पाता टल्केको उज्यालो आँखैमा आएर ठोक्कियो । मन उजेलियो । बिहानको ग्राम्य शोभा बडो मादक लाग्योे गुरधनगौडीमा । दुइटा साना पहाडको बीचको फराक ठाउँमा स्कुलको भवन देखियो । छतभरी सोलारका एन्टेना जडान छन् । वरपर, परपर तीन दर्जन जति घर छरिएका छन् । नयाँ परिवेशसित चिनापर्ची गर्न लाग्यो मन । नेपालको बास्तबिक तस्विरमा शहरमा होइन यस्तै कुनाकाप्चा अनकन्टार बस्तीमा भेटिन्छ । यी झुप्राहरुमैं छ नेपाली समाजको बास्तविक स्पन्दन । अलिखित कथाव्यथाहरुले भरिएका छन् यी गाउँहरु । मरुभूमिझैं शुष्क छन् पाखाहरु । तैपनि मान्छेले आफ्ना परिश्रमले सिंचेर यी पाखाहरुलाई बारी बनाएका छन् । आकाशकै भरमा काकाकुलझैं हरदम तिर्खारहने यी पाखाहरुले सिंचाईको सुविधा पाएको भए कति लहलहाउँदा हुन् अन्नबाली ।

 

स्कुलनिरको खोल्सो पार गरेपछि अलि उकालो चढ्नु प¥यो । उकालो वरपरका घर सुनसान छन् । कहाँ गएका होलान् यहाँका मान्छेहरु? मनमा प्रश्न उठे । बिहानको बेला खेतीपाती र मेलापात गर्न गएका होलान् ! मनले मनलाई उत्तर दियो । उकालोको मोडनिर पक्की धारो देख्यौं । एकछिन थकाई मा¥यौं, पानी पियौं, बोतल भ¥यौं । धाराको छेउमा काँडेदार लहरे बेकमबेली फूल ढकमक्क फूलिरहेको थियो । उदास र शुष्क वातावरणमा फुलिरहेको रातो फूल मरुभूमिको अँध्यारोमा मुस्कुराइरहेको दियोजस्तो प्रतीत भयो । नटिप्नु भन्दाभन्दै पनि डम्मरले टिपिहाले ।
धाराबाट उकालो लागेपछि गाउँ सकियो । ससाना बुट्टानले भरिएका पाखाहरुको बीचैबीच बाटो पश्चिम लाग्यो । खोल्सो काट्यो, डाँडो उक्लियो, फेरि ओर्लियो फेरि उक्लियो, यस्तै फन्को मारेर घुमिरहेको छ बाटो । बाटोमा खैरभट्टि र चुनभट्टि नामका गाउँ पनि पार ग¥यौं । कतै खाना पकाएर खाउँजस्तो घर देखिएन । मासपानी पुग्दा साढे दश बज्यो घडीमा । मिलेर उभिएका हरिया रुखहरुले चारैतिरबाट पहरा दिइरहेका छन् मासपानीलाई । बढीमा दुई दर्जन घर होलान् । सानो पहाडको ढलानमा छरिएको गाउँ सुनसान छ । बाटोे छेउको पक्की धारामा एकजनी महिला बच्चालाई नुहाउँदै थिइन् । ‘नानी कतै भाँडा पाइएलान् खाना पकाएर खान?’ नीमबहादुरदाजुले प्रश्न गरिहाल्नु भो । महिलाको आश्चर्य र कुतुहलताले भरिएको दृष्टि हामीमाथि पोखियो । ‘यति मान्छेलाई पकाउने भाँडा त कसका घरमा होलान् र?’ उनको असमर्थताले हामीलाई निराश बनायो । नीमबहादुर दाजुले लामो कुरा गरेपछि गाउँबाट भाँडा खोजेर दिन राजी भइन् उनी ।

 

हामीले बोकेका चामल सक्किन लागिसकेका थिए, केवल बीपीको झोलामा पाँच किलो जति चामल बचेको थियो । साथीहरु खाना बनाउन लागे । भुत्ले साग बनाउने जिम्मा श्रीधर भण्डारीलाई दियौं । म भने मासपानी परपर देखिने चुरे पहाडका नागबेली लहरहरु हेरेर मन बहलाउन लागे ।

 

नेपालको प्राकृतिक सौन्दर्यको बखान गर्दा मानिसहरु केवल सेता हिम चुचुराहरुको मात्रै चर्चा गर्छन् । तर चुरे पहाडका थुम्का र लहरहरु पनि भरपुर सौन्दर्यले ओतप्रोत छन् भन्ने कुरा नजिक आएर मात्रै थाहा हुँदो रहेछ । दाङ्को दक्षिणपूर्व कुनाबाट शुरु भएर बाँकेको बिनौनामा पुगी राप्तीसित ठोक्किएर टुङ्गिने चुरे पहाडको हाँगो जति सुन्दर छ त्यो पहाडका थुम्का र लहरको बीचबीचमा आफ्नो कौमार्य जोगाएर बाँचीरहेका ससाना बस्तीहरु पनि छुट्टै खाले सौन्दर्यले भरिपूर्ण छन् । आफ्नो देशसितको सम्पर्कबिहिनताको स्थिति र पानीको समस्यालाई एकछिन बिर्सिने हो भने यी गाउँहरु प्राकृतिक छन्, नैसर्गिक छन् । भौतिकतादेखि टाढा आफ्नै सामाजिक परिधिमा मग्न छ यहाँको जनजीवन । मान्छेहरु मुस्ताङ र मनाङलाई हिमालपारिको नेपाल भनेर उतैको ज्यादा चर्चा गर्छन् । विदेशी पर्यटक र स्वदेशी घुमन्तेहरुको लर्को पनि उतै लाग्छ । हुन त यो चुरे पारिको नेपाल पनि कम्ती रमाइलो छैन । यतातिर भिन्न भूगोल, भिन्न वनोट, भिन्न परिस्थिति, भिन्न परिवेश र भिन्न जनजीवनका भिन्न अनुभूतिहरु बटुल्न पाइन्छ । प्रकृतिको ऐकान्तिक वातावरणमा रम्दै पदयात्रा गर्न चाहनेहरुको लागि यो सीमान्त क्षेत्रले पृथक अनुभव दिन सक्छ । यी लहरहरुको बीचबीचमा खुम्चिएका खोंच र फाँटहरुमा कैयौं ससाना मानव बस्तीहरु छरिएका छन् । एउटा बस्तीबाट अर्को बस्तीसम्म पुग्न पनि घन्टौं हिड्नु पर्छ कुना कन्दरा छिचोलेर । चुरेका यिनै लहर, थुम्का र पाखाले पोखेको सौन्दर्य मुनी मानिसका परिश्रम, दुख, कष्ट र पीडाका अनेकौं कथा लुकेका छन् । जीवनको यथार्थ दृश्य त टाढाबाट हेर्दाजस्तो सुन्दर कहाँ हुन्छ र ?

 

कपिलबस्तुको बनकसबासादेखि चुरेको काखैकाख चुरे पारिका सबै बयालिस वटा नाका छिचोल्दै बाँकेको झुरुवा नाकासम्म पुग्ने व्यवस्थित पदमार्ग बनाएर घुमन्तेहरुलाई यता तान्न सकेको भए यहाँको जनजीवनलाई राष्ट्रिय मुलधारसित जोड्न सरकारले धेरै केही गर्नै पर्ने थिएन ।

 

कुन्टेपानी, बाँसखोली र झुरहवा नाका दक्षिणपश्चिम तिर छुटे, हामी मासपानीबाट उत्तरपश्चिमतिर लाग्यौं । चुरे पहाडको डिलैडिल हिडेर आधा घण्टा जति ठाडै ओरालो झ¥यौं । अनि शुरु भो घना जङ्गलको एकसरो हिंडाई । मासपानीबाट हिडेको चार घण्टामा हामी कुम्भर पुग्यौं । दक्षिणतिर फर्केर हेरेको, चुरेको श्रृङ्खला कुनै हिमाली श्रृङ्खलाजस्तै उत्तुङ्ग ठडिएको छ । आफैलाई पत्यार लागेन त्यति अग्लो पहाड काटेर हामी सकुशल कुम्भर आइपुगेका छौं । कुम्भरबाट अगैया जाँदा बाटोमा भुँवरभवानी माताको मन्दिरमा दर्शन गर्दा एकछिन अलमल भो । अगैया पुग्दा त झमक्कै रात परिसक्यो । चुरे पारिका सबै नाकाहरुमा पाइला टेक्ने हाम्रो उद्धेश्य भने अधुरै रह्यो । ‘बयालिस मध्ये तेत्तिस ओटा नाकामा पुग्नु भनेको हाम्रो यात्राको डिस्टिङ्सन मार्क हो’ आशिषले अंकगणितिय परिणाम निकाले । सुनेर मन सन्तुष्ट भयो ।

 

बिहान गुरधनगौडीको धारानिर डम्मरले टिपेको बेकमबेली फूलको थुङ्गा अझंैं पनि उनको झोलाको पछिल्तिर उसैगरी हल्लिरहेकै छ । यात्रा भरी व्येहोरेका झण्झट, कष्ट, अनुभव र सम्झनाहरु फूलसितै ताजा भएर जुर्मुराए । मनभित्र कुतुहलता र सम्झनाको हुरी फेरि चल्न थाल्यो । डम्मरलाई पुलुक्क हेरेँ । उनको अनुहारमा सम्झनाका सहस्र सूर्य मुस्कुराइ रहेझैं लागे । गजलका तीन्टा शेर सुनाएँः

 

हिड्ने बाटो पुग्ने ठाउँ सम्झिरन पाए पुग्यो
जुन्किरीझैं अँधेरीमा चम्किरन पाए पुग्यो
सँगालेर पीडाहरु अँगालेर खुसीहरु
सङ्घर्षको गोरेटोमा लम्किरन पाए पुग्यो ।
मनको भाखा दिलको लय शब्दबाट पोखिएर
सुस्केरा र सुसेलीमा घन्किरन पाए पुग्यो