शान्ति सेना थप्‍न नेपाल तयार

अमेरिका साउन १।प्रधानसेनापति पूर्णचन्द्र थापाले विश्व शान्तिका लागि नेपाली सेनाले क्षमता बढाउँदै लैजाने जानकारी गराएका छन्। संयुक्त राष्ट्रसंघीय मुख्यालय न्यूयोर्कमा आयोजित वरिष्ठ सैनिक अधिकारीको बैठकमा उनले नेपाली सेनाको संख्या अनुरूप उच्च पद पाउनुपर्नेमा पनि जोड दिए।

 

दुई–दुई वर्षमा आयोजना हुने विश्वभरका वरिष्ठ सैनिक अधिकारीको महत्त्वपूर्ण मानिने यो बैठकमा उनले नेपाली स्वयं शान्तिप्रेमी रहेकाले पनि शान्तिको पहलकदमी गरिरहने उल्लेख गरे।

 

उच्चपदस्थ सैनिक अधिकारी सहभागी बैठकमा शान्ति स्थापनार्थ सेनाले खेलेको भूमिका, द्वन्द्वग्रस्त मुलुकमा सेनाको सहभागिता, सेनालाई चाहिने आवश्यक तालिम, आवश्यक सामाग्रीलगायतका विविध विषयमा छलफलमा नेपालको प्रशंग निकै आएको थियो।

 

एक सय आठ भन्दा बढी मुलुकका वरिष्ठ सैनिक अधिकारी सहभागी ‘चिफ अफ डिफेन्स कन्फरेन्स’ मा प्रधानसेनापति थापाले नेपाली सेनाले शान्ति स्थापनार्थ खेलेको भूमिका बारे विश्व समुदायलाई जानकारी गराएका थिए।

 

राष्ट्रसंघीय मुख्यालयको बैठकमा उनले सरकारको नीति अनुरुप संयुक्त राष्ट्र संघअन्र्तगतका मिसनमा शान्ति सैनिकको सहभागिता बढाउने स्पष्ट पारे। ‘अहिले पाँच प्रतिशत पठाइरहेकोमा कोटा पाए थप पाँच प्रतिशत सेना पठाउन सक्छौं’, प्रधानसेनापति थापाले भने, ‘सरकारले नै सेनाको संख्याको १० प्रतिशत शान्ति सेनामा पठाउन सक्ने निर्णय लिएको छ।’

 

उनले विभिन्न साइडलाइन बैठक र दुईपक्षीय भेटघाट समेत गरेका छन्। महिला, शान्ति र सुरक्षा विषयक कार्यक्रममा सहभागी उनले नेपालबाट विश्व शान्तिमा महिला सेनाको सहभागिता रहेको विषय पनि जानकारी गराएका थिए।

 

राष्ट्रसंघले पछिल्लो समय महिलाको कोटा माग गरिरहेको अवस्थामा उनले त्यस्तो जानकारी दिएका हुन्। नेपाली सेनामा जागिर प्रवेश गरेको साढे १४ वर्षसम्म पनि शान्ति सेना जान नपाएकाको हकमा समेत रोलक्रम मिलाएर कोट प्रणाली प्रधानसेनापति थापाले हटाएका थिए।

 

प्राविधिकबाहेक अन्य क्षेत्रमा पालो नपु¥याई दोहोरिने कार्य हुँदैन। सेनाका सिपाहीबाट जम्दार भैसक्दा समेत शान्ति सेना जान नपाएकाहरू छन्। यो समूह ठूलै रहेको हुनाले सेनाले यसलाई लगातार सम्बोधन गरी समय सीमा घटाउने भएको छ। प्रधानसेनापति थापा संयुक्त राष्ट्रसंघअन्तर्गतका उच्चपदस्थ सैनिक अधिकारीसँग पनि भेटघाट गरिरहेका राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रवक्ता लोकबहादुर क्षेत्रीले अन्नपूर्णलाई बताए।

थापा वासिङटनमा

उनले त्यहाँ अमेरिकी सेनाका उपाध्याक्ष, हिन्द तथा प्रशान्त क्षेत्र हेर्ने कमाण्डरलगायतसँग भेटवार्ता गरेका छन्। उनले काठमाडौंमा निकै छलफलमा रहेको इन्डो प्यासिफिक रणनीतिका विषयमा पनि छलफल गर्नेछन्। अमेरिकीले आफ्नो एप्रोचको रूपमा लिइरहेको अवस्थामा नेपाल उक्त रणनीतिमा नै सामेल भएको भनिदै आएको छ।

 

प्रधानसेनापति अमेरिकासँग पनि केही अलमल भए त्यो विषय पनि सपष्ट पार्न डीसी पुगेका हुन्।अन्नपूर्णपोष्टमा खबर छ।