कसरी पुग्ने रारा ताल

नेपालगन्जदेखि जुम्लासम्म अनि जुम्लादेखि मुगुसम्म व्यवधानरहित सडक यात्रा सम्भव भएपछि अब मुगुको प्रमुख पर्यटकीय गन्तव्य दुर्गम्य रहेन । काठमाडौंबाट बढीमा ३० घण्टामै जुम्ला सदरमुकामसम्म पुग्न सकिन्छ भने जुम्लाबाट ६–७ घण्टाको यात्रापछि सहजै रारा पुग्न सकिन्छ ।

धेरै मानिस के सोच्छन् भने मुगुमा रारा ताल मात्र छ, सेरोफेरोमा अन्य कुनै पर्यटकीय गन्तव्य छैनन्, तर राराको नीलो पानीभन्दा पृथक् मन लोभ्याउने अनगिन्ती पर्यटकीय स्थल मुगुमा छन् । रारा गाविसको कोटे राजदरबार, रुगा गाविसको रु. १ को नोटमा अंकित चंखेली हिमाल, दुधे दहसहित ५ ताल भए पनि त्यहाँ कुनै पर्यटक पुग्न सकेका छैनन । केवल रारा मात्र नभएर मुगुमा साना–ठूला गरि १ सय भन्दा बढी ताल, कुण्ड आदि छन् ।

राराबाट दुई दिनको पैदल यात्रापछि पुग्न सकिने माथिल्लो मुगु, कोइजी मरक्का हिमाल, डोल्फु गाविसस्थित प्राचीन छायाँनाथको मन्दिर, त्यहाँको तामा खानी, तिहार गुम्बा, तिहार दोभान आदि चर्चामा नआएका पर्यटकीय गन्तव्य हुन् ।
रारा राष्ट्रिय निकुञ्ज रहेको उक्त क्षेत्रमा रेडपान्डा, दुर्लभ सेतो कस्तुरी, नाउर, घोरल, गिद्ध, बाज, चीलजस्ता पशुपन्छी अवलोकन गर्न सकिन्छ । यो क्षेत्र यार्सागुम्बा, पाँचऔले, अत्तिस, कटुकी, भोल्तेजस्ता जडिबुटीको भण्डार पनि हो । चाँदीजस्तै टल्कने कान्जिरोवा हिमालको काखमा रहेको मुगुको माथिल्लो क्षेत्रका पुलु, किम्री, डोल्फु, माग्री गाविसमा मात्र १ हजार २ सय भन्दा बढी प्राचीन बौद्ध चैत्य तथा गुम्बाहरू छरिएर रहेका छन् ।

पुलु गाविसको पुवा गाउँ भन्दा माथि ढुङ्गाद्वारा निर्मित बुद्ध मूर्तिहरू, बुद्धको हप्केलाको छाप, लगायत उक्त क्षेत्रका डेढ सयभन्दा बढी गुफा पनि दर्शनीय मानिन्छन् । जिमा गाविसको कुलाहाँस्थित तातोपानीको कुण्ड र गुफा अझै पनि ओझेलमै छन् ।  उक्त गुफालाई हजारौं चमेरा र परेवाले बासस्थान बनाएका छन् ।

मुगुको ग्रामीण क्षेत्र यात्रा गर्दा पर्यटकहरूले साना–ठूला गरी १ सय ५० भन्दा बढी झरना अवलोकन गर्न सक्छन् । ती झरनामध्ये रुगा गाविसको तिर्पु गाउँमा १० हजार फिट अग्लो झरनाले पर्यटकहरूलाई मोहित तुल्याउँछ । मुगु क्षेत्रको पर्यटक प्रवद्र्धनका लागि विगत केही वर्षदेखि रारा महोत्सव, अल्ट्रा म्याराथन, जलवायु सम्मेलनजस्ता गतिविधि हुँदै आएका छन् ।