पवित्र तीर्थस्थल स्वर्गद्धारी एक चिनारी

– लोकराज पोख्रेल
प्यूठान, खैरा–७

राप्ती अञ्चलको प्यूठान जिल्लामा पर्ने स्वर्गद्धारी एउटा पवित्र तीर्थस्थल हो । यो प्यूठान जिल्लाको पश्चिम तर्फ दाङ जिल्लासँग जोडिएको छ । माण्डवी नदीको पश्चिमपट्टि करिब ६ हजार ९ सय ६० फिट उचाईमा रहेको भौगोलिक एवं प्राकृतिक हिसाबले अत्यन्त सुन्दर पहाडमा अवस्थित स्वर्गद्धारी आश्रमको ऐतिहासीक, धार्मिक सांस्कृतिक महत्वले मात्र हैन सुन्दर पर्यटकिय स्थलको रुपमा समेत प्रसिद्ध छ ।
ऐतिहासिक हिसाबले हेर्दा यसलाई प्राचिन धार्मिक स्थल एंव तपोभूमि मानिन्छ । द्वापर युगमा पाण्डवहरु स्वर्गजाँदा यसै ठाउँमा एक रात बसेको थिए भन्ने पौराणिक जनश्रृति पाइन्छ । स्वर्गद्वारीबाट झण्डै ५ कि.मी. उत्तरतर्फ चत्तुर्भुज भन्ने ठाउँमा ब्रह्माको उपनयन भएको र त्यसको पूर्ण संस्कारका लागि त्यहाँबाट ५ कि.मी दक्षिण तर्फ गई यज्ञ सम्पन्न गरी स्वर्ग गएकाले त्यही बेला देखि ‘स्वर्गद्धारी’ कहलिन थाल्यो भन्ने जनश्रृति पाइन्छ । कालान्तर पछि कलियुगमा धर्म संस्कृतिको रक्षा गरी पुण्य एंव मोक्ष प्रदान गर्न अर्थात लोक कल्याणका लागि साक्षात नारायणको रुपमा तहाँ महाप्रभुले अवतार लिई जन्म लिनु भएको भन्ने भनाई पाइन्छ । बाल तपस्वीको रुपमा ख्याती प्राप्त महाप्रभुको जन्म पहिलेको सल्यान हालको रोल्पा जिल्लाको सखी गा.वि.स.मा वि.सं.१९१६ श्रावण शुक्ल एकादशी जेष्ठ नक्षत्र गुरुवारका दिन पिता अनिरुद्ध खत्री माता श्वेता कुमारीको कोखबाट भएको थियो । उहाँको आमाले मांस खाएकोले बच्चामा आमाको दूध नखाई गाईको दूध मात्र खानु भएको र १२÷१३ वर्षको उमेर देखि २५ वर्षको उमेरसम्म तपस्या गरी बसेकाले बाल तपस्वीको रुपमा चर्चित हुनुभयो । त्यसपछि उहाँ सखी लेकमै तपस्या गरी बसेका स्वामी सच्चिदानंद गिरीसँग सन्यास दीक्षा लिनुभयो । गुरुबाट उहाँको नाम हंसानन्द गिरी राखियो । उहाँको न्वारनमा पुरोहितले राखेको नाम नारायण थियो । बाल तपस्वी प्रभुको महिमा र यज्ञ बारे प्रचार भएपछि रुकुमबाट शेष नामका गौतम बाह्रमण दर्शन गर्न आउँदा प्रभुको व्यक्तित्व र प्रभावबाट मुग्ध भै प्रभुबाटै सन्यास दीक्षा लिई बोधानन्द गिरीका नामले चिनिनु भयो । यज्ञ, गौशाला, धर्मशाला आदिको व्यापक विस्तार गर्ने सोचले बोधानन्द गिरी शिष्यलाई साथमा लिई वि.सं. १९५१ मा स्वर्गद्धारीमा आई वि.सं. १९५२ बैशाख चण्डिपूर्णिमा देखि अखण्ड महायज्ञको आरम्भ र बेदादि शास्त्रको पठनपाठन, पुराण प्रवचनको संचालन, गौशाला र धर्मशालाहरुको निर्माण गराउनु भयो ।
महाप्रभुका जिजुबाजेको नाम बासुदेव गौतम हो । बासुदेवका क्षत्रिनी पत्नीबाट जन्मेका अनिरुद्ध गौतम पुत्र नारायण हंसानन्द गिरीको नामबाट महाप्रभुको नामले प्रसिद्ध हुनु भयो । उहाँ लोककल्याणका लागि गरेका चमत्कारी कार्य त्रिकाल दर्शीको रुपमा पूर्वजन्र्मको र भविष्यको जानकारी समेत दिन सक्ने अलौकिक क्षमताले यस क्षेत्रमा मात्र हैन टाढा टाढा सम्म उहाँको नाम चल्यो । गाउँ घर देखि टाढा टाढाबाट प्रभुको दर्शन गर्न आउन थाले । त्यहाँ पुग्ने मान्छेले नबताउदै यस्तो कामको लागि आएको र यसो गर्दा ठीक हुन्छ भनि अर्ति उपदेश दिने र त्यो सत्य ठहर्ने गरेको कुरा पुराना बुढापाकाहरुको भनाई पाइन्छ । अखण्ड यज्ञ स्थापना गरी स्वर्गद्धारी आश्रमका संस्थापक बाल तपस्वी महाप्रभुका पट शिष्यका रुपमा स्वामी बोधानन्द गिरी र शंकरानन्द गिरी (रखाल महाराज) दुई महापुरुष हुनुहुन्थ्यो । शकंरानन्द गिरीको जन्म म्याग्दीको राखु भन्ने ठाउँमा पिता सेतु सुवेदी र माता बसुन्धरा सुवेदीको कोखबाट वि.सं.१९६१ मार्ग शुक्ल चौथीका दिन भएको थियो । राखु भन्ने ठाउँबाट आएकाले रखाल महाराज भनिएको भन्ने भनाई पाइन्छ ।
महाप्रभु वि.सं.१९९७ मार्ग शुक्ल चौथीका दिन परब्रह्मा परमात्मामा लिन हुनु भयो । उहाँको पार्थिक शरिर कुटीमै समाधिस्थ गरियो । यसरी बाल तपस्वी महाप्रभुबाट संचालित महायज्ञ अखण्ड रुपमा आज पनि चलि रहेको छ । स्वर्गद्धारी पुगेर प्रभुको समाधिस्थलको दर्शन, यज्ञदर्शन गर्दा पुण्य मिल्छ र मोक्ष प्राप्ती हुन्छ भन्ने जनविश्वास छ । यहाँ बैशाख पुर्णिमामा ठूलो मेला लाग्छ । नेपाल र भारतबाट भक्तजनहरुको निकै ठुलो भिड लाग्दछ । धार्मिक हिसाबले प्रशिद्धि पाएको स्वर्गद्धारीमा होम, रुद्री ब्रतबन्ध र विवाह गराउन जाने हुँदा सनातन धर्म संस्कृतिको सम्बर्धनमा टेवा पुगेको छ ।
क्षेत्रफलको हिसाबले करिब २६ हजार रोपनी आगटेको यहाँको चारकोशे जंगललाई मृगकुञ्ज भनिन्छ । चिसो हावापानी, चारैतिर देख्न सकिने अग्लो डाँडा पूर्वतर्फ माण्डवी र धर्मावति (झिमरुक) नदी, पश्चिम तर्फ दाङको समथर भाग उत्तरतर्फ धौलागिरी हिमश्रृङ्ला र दक्षिणतर्फ देउखुरी उपत्यका देखिने साथै लालिगुँरास, अनेक किसिमका जंगली जनावर र चराचुरुङ्गीहरुको आवाज सुनिने, वेदपाठको ध्वनीले साँझ विहान कर्ण गुञ्जयमान हुने यस पवित्रस्थल अत्यन्त रमणीय र मनमोहक छ । यो तीर्थस्थलमा आन्तरिक पर्यटक मात्र हैन बाह्य पर्यटक भित्र्याउने प्रशस्त संभावना बोकेको क्षेत्र हो । यहाँ जान भालुवाङ देखि भिंगृ भन्ने स्थानसम्म पक्की सडक र त्यसपछि कच्ची सडक छ । त्यस्तै दाङको घोराही–होलेरी हुँदै गएको कच्ची सडकबाट गाडीमा जान सकिन्छ ।
स्वर्गद्धारी आश्रमको प्रशस्त आफनै गुठी जग्गाहरु छन् । प्यूठानको स्वर्गद्धारी, भिंगृ, कोचिवाङ, गोठीबाङ्गमा गरी करिब २५०० रोपनी र दाङ देउखुरीमा करिब १ हजार विघा खेती योग्य आफनै गुठी जग्गा रहेको छ । जग्गा जमिनको हिसाबले प्रशस्त आम्दानी हुने देखियता पनि केहिवर्ष यता मोहिहरुले उचित आयस्ता नबुझाउने गरेकोले यहाँ यज्ञ संचालनमा र भौतिक सुविधाको अझ व्यवस्थित विकास गर्न कठिनाई हुँदै आएको भन्ने भनाई छ । स्वर्गद्धारी आश्रमको संचालन संबन्धि रेखदेख र संरक्षणको लागि सरकारी क्षेत्रबाट प्यूठान र दाङका प्र.जि.अ, सांसद तथा लब्ध प्रतिष्ठित व्यक्तिहरु सम्मिलित समिति छ । यसको विकास प्रवद्र्धन गर्न सके यस क्षेत्रकै पर्यटन व्यवसायलाई बल पुग्ने भएकाले प्यूठान र देउखुरीमा पनि जनस्तरबाट केहि काम गर्नु पर्छ भन्ने भावना जागेको छ । यस्को व्यापक प्रचार–प्रसारका लागि दाङ देउखुरीको बनगाउँ आश्रममा, भालुवाङमा यात्रुरहरुको लागि संपर्क स्थलको रुपमा विकास गरी आवास, यातायातको व्यवस्था, चिनारी झल्कने नक्शा समेत हैण्डबुक तयार गरी सुविधा पुर्याउने जस्ता काम गर्न सके आन्तरीक र वाह्य पर्यटकहरुलाई सुविधा पुग्ने देखिन्छ । वनगाउँ आश्रम र भिंगृमा सुविधाजनक विश्राम स्थल, ध्यान कक्ष, विद्युतिय प्रदर्शन कक्ष संचालन गर्न सके पर्यटक बढ्ने र यस क्षेत्रको समग्र विकासमा योगदान पुग्ने देखिन्छ । अतः स्वर्गद्धारी यस क्षेत्रको आकर्षक पवित्र धार्मिक एंव पर्यटकिय स्थल हो । त्यस्तै प्यूठानको गौमुखी, ऐरावति रोल्पाको जलजला, सुनछहरी दाङको बाह्रकुने दह, रिहारजस्ता क्षेत्रको विकास गर्न सके समग्र यस क्षेत्रको विकासमा सहयोग पुग्ने देखिन्छ । स्वर्गद्धारी लगायत धार्मिक तथा पर्यटन संभाव्य क्षेत्रहरुको अध्ययन अनुसन्धान गरी ती स्थानहरुलाई सडक संजालबाट जोडन सके मात्र पनि आन्तरिक तथा बाहय पर्यटकहरुको आकर्षण बढ्ने र सामाजिक जीवनस्तर उठाउन ठूलो टेवा पुग्ने भएकोले त्यस तर्फ सरकारी तथा गैर सरकारी सबै क्षेत्रको ध्यान जानु आवश्यक देखिन्छ ।

(स्वर्गद्वारी सम्बन्धी ऐतिहासिक जानकारी स्रोत–विभूती वर्ष २, अंक.२ मार्गशुक्ल २०७०)
तबायफ के तक्दीरमे सोहर नहि होते — – – अन्जान स्नेहा
मान्छेलाई कहिले सपनाले त कहिले समयले लखेटि रहन्छ तर लखेटि रहन्छ निरन्तर । लखेट्नु उसको धर्म हो, भाग्नु वा दौडिनु हाम्रो कर्तव्य । जिन्दगिमा दौडिनुको मजा पनि बेग्लै छ । जो मान्छे दौडिन जान्दैन उसले जिन्दगि भोग्न पनि जान्दैन । दौडिनु नै जिन्दगिको भोगाइ हो । अन्धकार देखि उज्यालो खोजिमा दौडिनु, दुःख देखि सुखको खोजीमा दौडिनु आदि–आदि । केही साल अघिको कुरा हो म केहि महिना अघि देखि काठमाण्डौ तिरै दौडिएको थिएँ एउटा सपनाको खोजीमा । मित्र गोल्डेन उद्भाष पनि केहि दिनका लागि काम विशेषले काठमाण्डौ आउदैछन् भन्ने खबर पाएँ । अचानक विहान छ बजेतिर फोन को घण्टि बज्यो मैले हलो भन्न नपाउँदै उता बाट आवाज आयो गुरु जय संगत म गोल्डेन काठमाण्डौ आईपुगेको छु, हजुरकोमा आउँदैछु । मैले भने हार्दिक स्वागत छ मेरो डेरामा । यत्ति भनेर उनले फोन राखिदिए । म एक छिन रनभुल्लमा परें यो जय संगत भनेको के हो ? एक चोटि सोचें जय+सँगत=जयसंगत अर्थात राम्रोहरुको साथ बडा गजव लाग्यो, फेरि सोचें सायद नमस्ते भने होलान् आधुनिक भाषामा । म नौ बजेतिर चावहिल पुगें उनको स्वागतको लागि तर उनि म भन्दा पहिला नै त्यहाँ पुगिसकेका रहेछन् । हार्दिक तथा न्यानो अभिवादन र मिठो अंकमाल गरिसकेपछि आईयो मेरो वौद्धस्थित भाडाको कोठामा । समय जाडोकै थियो माघको । पुराना दिनहरुको फल्यास ब्याकमा एक छिन मजाले प्रवेश ग¥यौं मलाई उनिसँगको बसाई साह्रै मिठो लाग्छ उनिसँग बस्दा समय बितेको पत्तै पाउँदिन म । उनिसँग कुरा गर्ने कला छ जो कोहिलाई मोहित गर्न सक्ने कला, यसैले पनि होला म पनि एकदमै मोहित हुन्छु उनिसँग । मैले भने चिया पिउँ तर कालो कि सेतो ? उनि पनि चियाका सौखिन हुन् । गोल्डेनले भने मैले त चिया पिउँदिन नि अचेल थाहा पाउनु भाछैन सर ? ग्रिन टि मात्र पिउने गरेको छु यार, बरु मैले ग्रिनटि लिएरै आको छु त्यहि पिउँ कसो होला ? मैले भने ए मलाई त थाहा छैन नि के भो र छोड्नु भो चिया पिउन ? उनले भने सर केहि भाको छैन आयातित बस्तुको प्रयोग मा कमि गर्न थालेको नि त्यहि भएर बहिस्कार गरेको, अनि स्वास्थ्य पनि बिगार्छ चियाले त्यसैले ? मैले भने नेपालमा पनि बन्छ नि थाहा छ कि नाइ तपाईलाई ? उनले भने होईन हामीले खाने चिनी भारतबाट नै आउँछ यार । मैले भने के भो त जहाँबाट पो आओस् भारत, पाकिस्तान वा अमेरिका त्यसले के फरक पार्छ हामीलाई ? चिया खान पाए त भैगो नि कि कसो ? हामीले बिदेशी बस्तुको उपभोग गर्न बहिस्कार गरेको भोलिपल्ट नै मर्नेछौँ भन्ने कुराको हेक्का छ कि नाई महोदयलाई । उनले भने होइन हामीजस्तो सचेत युवाले राष्ट्रवाद भुल्नु हँुदैन । त्यो त सहि हो तर राष्ट्रवाद, राष्ट्रवाद भनेर गीत मात्र गाउन थालेपछि नुन कहाँबाट ल्याउने त हामीले ? अनि पेट्रोल कहाँबाट ल्याउने ? उनि अलि बढि राष्ट्रवादी हँुदै भने हेर्नुस् नुन त हाम्रो वशको कुरा होईन तर पेट्रोलको विकल्प त हर्बो कम्पनिले संजिवनि वनस्पति रोपेर उत्पादन सुरु गर्ने तयारी गरिरहेको छ । कुरा बल्ल पो बुझें साथी त हर्बो मार्केटिङ्का व्यापारी भैसकेछन् अलि–अलि देशभक्त पनि कम्युनिष्ट त भाषामात्र रहेछ । उसो त कम्युनिष्ट विचार हो न कि बहिस्कार । चियाको कुरा त्यहिँ सेलायो । मैले कुरा मोडेँ काठमाण्डौं यात्राको राज के हो नि ? उनले हाँस्दै भने अरु के हुनु उहि हर्बो नेटर्वकिङ विजनेसको सिलसिला त हो नि । खाना तयार थियो, खाईयो । केही समय नेपाली गजल साहित्य र धर्ममाथि छलफल गरियो कुरा गर्दागर्दै अचानक गोल्डेनले भने तपोवन जाउँ मेडिटेशन गर्न । मैले भने हुन्छ जो ईच्छा । तर आज त मिल्दैन होला अग्रिम टिकट बुकिङ गर्नु पर्छ भन्ने सुनेको थिएँ, मलाई पनि ज्ञान छैन बुझ्नु पर्छ । उनले भने त्यसो भए आजै जाउँ हेरेर पनि आउँ र कुरा बुझेर पनि आउँ के भन्नु हुन्छ ? मैले त्यसमा कुरा काट्ने ठाउँ नै थिएन । हामी लागि हानियौं तपोवनतिर । एक घण्टा को गाडि यात्रा पछि हामी तपोवन पुग्यौं । मेरो पनि तपोवन को यात्रा पहिलो थियो । पचास रुपैयाँ तिरेर भित्र छिरियो । साँच्चै तपोवन त स्वर्ग जस्तै रहेछ । माफ पाउँ स्वर्ग भनेकोमा । स्वर्ग सुन्दर हुन्छ कि हुदैन त्यो त मलाई पनि थाहा छैन गए पो थाहा हुनु । बरु अति सुन्दर चाहिँ भन्न मिल्छ । त्यस्तो सुन्दर क्षेत्र मैले देखेको पनि थिएन । रजनिसको समाधिस्थल, ति रगिंन फूल, दायाँपट्टि ध्यान केन्द्र, बिचबाट शान्त रुपमा बगेको सुन्दर नदि, वरिपरि हरिया रुखहरु जो मान्छेजस्तै चलिरहेका थिए । हरेक रुखहरुमा रजनिसका सुन्दर तस्विर र उनका दार्शनिक कोटेसन, स–साना पहाडका थुम्काहरु, बायाँ किनारातिर पाहुना गृह यी सबैले तपोबनको सुन्दरताको आफै वर्णन गरिरहेका थिए । तपोबनको त्यो सुन्दरताले नचाहाँदा नचाहाँदै हामी त्यो भव्य सुन्दरतामा नै समाहित भएछांै । कुनै कसर बाँकी छोडेनौ हामीले त्यो सुन्दरताको बलात्कार गर्न आखाँबाट, ईच्छा र मन स्खलित नहुन्जेलसम्म । रिसप्सनजस्तो, न पुस्तकालयजस्तो एउटा कोठा थियो, त्यहि भित्र दुई चार जना युवति र दुई तिन जना पुरुषहरु थिए । हामी त्यहि कोठा भित्र प्रवेश ग¥यांै ति पुरुषहरु मध्येका एक रहेछन् स्वामी आनन्द अरुण । सबैसँग परिचय गरियो साथै तपोबन र ध्यानको टायम टेबुलका बारेमा आनन्द अरुणसँग केहिबेर कुराकानी पनि ग¥यौं । ध्यान गर्नका लागि त्यहाँको व्यवस्थापकिय खर्च हाम्रो लाकतले नभ्याउने देखियो । सोचे भन्दा खर्चालु रहेछ । साँझको चार बज्न पो लागिसके छ त । केहि थान ओशो रजनिसका किताब किनेर कोच्यौं झोलामा र लाग्यौं निवासतिर । सोचें किन यत्रो महंगो हो यो ध्यान विधि ? कतै यो व्यापार त होईन रजनिसका नाममा ? फेरि एक मनले सोचें यो ध्यान गर्न कलासको जरुरि किन प¥यो र । नाच्दा–नाच्दै, गाँउदा–गाँउदै, हिँड्दा–हिड्दै, लेखक भए लेख्दा–लेख्दै ध्यान घटित हुन्छ भनेर ओशो रजनिस आफैले भनेका छन् तर दुःखको कुरा ओशोकै नाम राखेर खोलिए यी काठमाण्डौंका महंगा बोर्डिङ स्कुलजस्ता ध्यानका स्कुलहरु । हुन त मेरो कुनै स्तुप नबनाउनु भनेका बुद्धको आज संसारमा सबैभन्दा बढि स्तुप बने । छ बज्न केहि मिनेट मात्र बाँकि थियो हामी चावहिल नजिकै पुगेका थियौं गोल्डेनले भने यार सर रत्नपार्क जाउँ । म त अक्क न बक्क भएँ । मैले भने यस बेला ? यो कुनै समय हो र रत्नपार्क जाने ? फेरि रत्नपार्क किन जाने बेकारमा ? कोहि चिनेको मान्छेले देखेपछि के भन्ला सोच्नुभा’छ ? उनि मेरा यत्रा एक ठेलि प्रश्नको जवाफ स्वरुप मात्र फिस्स हाँसे र भने जाँउ न जाँउ के हुन्छ र ? मलाई त्यहाँ जान मन लाछ । साथी यो रात पर्ने बेला रत्नपार्क जाउँ भन्छन् त्यो पनि एक धार्मिक क्षेत्र तपोबन गएर फर्केपछि यो के चाला हो कस्तो फकिर गिरि हो वा कस्तो नियत हो ? पक्का यायावर पो जस्तो । बिहान त खुब देशभक्त कुरा गरेथें, फेरि साँझ नपर्दै यस्तो कुरा गर्छन् मनमनै सोचें र ट्वाल्ल परें । मैले बहाना बनाएर भने कहाँ यार त्यहा पुगेर फर्कन सकिदैन रात परिहाल्छ गाडि पाईदैन फेरि । उनले बडा जोसका साथ भने केभो त हिँडेर आँउला के हुन्छ ? अब भो फर्साद अब त बहाना बनाउने ठाँउ पनि रहेन अनि स्विकृतिमा टाउको हल्लाएँ । चावहिलबाटै लाग्यौं रत्नपार्कको ताण्डव नृत्य हेर्न । देखेको–भोगेको त मैले पनि थिएन तर सुनेको भने खुब थिएँ रत्नपार्कको मोहक जात्राको बारेमा । रातिको सात बजिसकेको थियो । आफ्नो विरानो मान्छे चिनिदैन थियो । हामी रत्नपार्कको गेटभित्र छिर्न लाग्दा गोल्डेनले बल्ल भने सर तपाइले अलि बढि बुझ्नु भो मेरो आसय गलत होइन बेश्याको बारेमा एउटा लेख लेख्दैछु त्यहि भएर यहाँ जाउँ भनेको हो अन्यथा नलिनु । म फिस्स हाँसे । रत्नपार्कको त्यो फुटपाते खुलाचौरमा फुटपाते बजारको चहल–पहल निकै बढिरहेको देखिन्थ्यो । गाडिको घ्यार–घ्यार, घुर–घुरको आवाज साँझको समय सबैलाई घर फर्कने हतारो देखिन्थ्यो हामी भने प्रवेश गर्यौं रासलिला नगरिमा । कोहि कपडा बेचिरहेका थिए, कोहि टर्च, पर्स त कोहि भुटन बेचिरहेका थिए । हामीले आपसमा कुरा ग¥यौं कता बेचेका छन् त जवानी ? हामीले कुनै भेउ पाइरहेका थिएनौं । गोल्डेनले भने सर अलि उता तिर जाउँ न । हामी अलिभित्र तिर गयौं । रुखहरुले गर्दा अलि झुम्म परेको थियो त्यँहा पनि मान्छे विभिन्न थरिका सामान बेचिरहेका थिए । त्यो भन्दा पनि बढि रुखको अडेस लागेर केटाकेटि हात समातेर कुरा गरिरहेका थिए । हामी पनि एउटा रुखमा अडेस लागेर तिनिहरुलाई हेर्न लाग्यौं । मुखमा कालो कालो माक्स लगाएकि केटि हाम्रो छेउमा आई र सोधी, जाने हो ? ‘काँ जाने’ गोल्डेनले भने । ‘तपाई जहाँ भन्नुहुन्छ’ केटि हामीतिर अलि नजिक सर्दै भनि । अब के भन्ने गोल्डेन अक्क न बक्क भए । अलि आत्तिएजस्तो, अलि हडबडाएजस्तो गरे पहिलो अनुभव संगाल्दै थिए जो । धेरै होईन डराउनु पर्दैन केटिले नै मौन भगंता तोडी । केटिलाई लाग्यो होला यी सँधैका ग्राहक हुन् भन्ने तर हामीलाई यो समेत थाहा थिएन कि हामीले के कुरा गर्नुपर्छ भन्ने । गोल्डेनले भने कति हो नि ? ‘मात्र दुई हजार एक रातको, दुई जना नै हो भने पाँच हजार लाग्छ’ लाज माने जसरी आङ बटार्दै केटिले भनि । मनमनै सोचें यिनलाई पनि लाज लाग्दोरहेछ, मनभित्रै हाँसे । त्यो त महंगो भो मैले प्याच्च भनिहालें । उ केहि नबोलि फनक्क फर्कि र भनि साला हाम्रो कुनै इज्जत छैन ? गोल्डेनले खित्का छोडे म ट्वाँ परें । हामी पनि अलि अगाडि तिर गयौं, कोहि मोलतोल गरिरहेका थिए कोहि अंगालो मारेर हिडिरहेका थिए, कोहि झगडा गर्दै थिए । फेरि दुइटि केटि हाम्रो नजिक आए र उभिराखे । अलि भाउ खोजे जस्तो गरे केहि बोलेनन् । हामी पनि बोलेनौ । हेर्दा केटि भर्खरका देखिन्थे त्यस्तै सत्र, अठार जत्तिका । गोल्डेनले अलि हतारिदै भने कति हो ? सायद उनको सोधाइ गलत भयो कि सुरुमै मोल गर्दा । लजाउदै एउटि बोली कति दिने हो र ? गोल्डेनले भने नदिए हुदैन ? अर्किले व्यंग्यात्मक तरिकाले भनि त्यसका लागी त घरमा बिहे गरेर बस्नु नि किन यहाँ आउने ? गोल्डेन जोसिदै भने म तिमिलाई बिहे गर्छु, गर्ने हो ? अब आई उट पहाडके निचे । ति केटिहरु अक्क न बक्क भए । त्यसैमा मैले थपें, किन नबोलेको कि उहाँ लाएक हुनुहुँदैन र ? एउटीले जिस्काएको बुझि छ क्यारे च्याठ्ठिदै भनि यो हाम्रो रहर होईन बाध्यता हो तपाई यसको मजाक गर्न पाउनु हँुदैन बुझ्नु भो । तपाईको मन छैन भने हाम्रो कर छैन । तर अर्कालाई होच्याएर नबोल्नुस् । म त चुप भएँ, गोल्डेनले अलि नरम भएर भने कुरा त्यसो होईन, हामीले जिस्काएको पनि होईन साँच्चै सोधेको हो । अर्कि बल्ल अलि सिरियस भएर भनि भो सपना नदेखाउनुस् हामीजस्ता तबायफको तक्दिरमा सोहर हुँदैन हामीलाई यो कुरा राम्ररि थाहा छ बुझनु भो ? ओ हो म त झल्यास्स भएँ । यो कस्तो बाध्यता हो ? यो कलिलो उमेर जुन उमेरमा मान्छे सयौं रगींन सपनाहरुको लस्कर बोकेर सहर छिर्छन् फेरि यो कस्तो सपना हो । एक मुठी दुध बेचेर छोरा छोरीको भविष्य उज्वल पार्न पटुकाले पेट बाँधेर आधा पेट खाएर सहर पठाएका बा आमाको सपना पुरा गर्ने बाध्यता हो कि आफ्नै लक्जरि सपना र रहर । हामी स्तब्ध भयौं उसको यो वाक्यले । बडा गम्भीर जवाफ दिई । हामी नाजवाफ भयौं । गोल्डेनले के सोचे कुन्नि म त उसको अनुहारमा देवदासकी माधुरी दिक्षित पाईरहेको थिएँ । उताबाट एउटा केटा आएर हामीनिर केहिछिन् उभियो र खासखुस गरेर हात तानेर अर्किलाई कुनातिर लग्यो । बोलीरहेकी केटी पनि केहि नभनेर तिनिहरु भएतिरै गई । हामी हेरेको हे¥यै, दुई जना एकआपसमा हेर्दै फिस्स हाँस्यौं । आठ बज्न लागिसकेको थियो हामी पनि त्यहाँबाट निस्कीयौं । कोठातिर एउटा नौलो अनुभवको साक्षात्कार गरेर । गाडि पाउने कुरा थिएन लगायौ आफनै दुई नम्वरको गेर । आँखामा माधुरि दिक्षितको झझल्को बोकेर ।
अजयमेरुसँग मनको प्रभातफेरी
भौतिक मल्ल
निधारमा चिटचिट पसिना र मनमा थोरै खिन्नता र ठुलो नैतिक संकटसँगै असहज स्थिती पैदा भएको छ । मनको अंकगणितले अप्ठेरो हिसाब हानिरहेछ । लाग्छ, असफलताको जोड घटाऊ गरिरहेछ सायद प्रायः यस्तै हुन्छ । मेरो जिवनचक्रमा थुप्रै कठिनाईहरु छिचोलेर मात्रै संभव छ जुनकिरीको यात्रा । करिब एक हप्ता अगाडि फोनमा कुरा र थप सल्लाह भए अनुसार डडेल्धुरा जाने कुराको मुर्तिकृत प्लान बनेर लिने गाडीको ब्यबस्थापनतिर जुटेको थिए । आफुसँग नभएपछि अरुको साधनको भर पर्नु आकाशको फल भनेजस्तै हो । एकदुई जना मन मिल्ने साथीहरुसँगको अनुरोधपछि पात हल्लिसकेको थियो । अब त्यहि थोत्रो लिनुको बिकल्प थिएन । एकपटक काहोलपुरका देवेन्द्र आचार्य भाईसँग फोन गरें, उठाए, आलटाल गरे, फोन काटे । फेरि उठाएनन् । अन्तमा जानु भन्दा अगाडि दाई किशोरसँग अनूरोध दोहो¥याएको थिएँ तर संभव भएन । अन्तमा सार्वजनिक गाडिको प्रयोग बाहेक सबै भ्रम भए । यात्रामा झमेला त्यति अस्वाभाबिक हैन । तैपनि फरक खालको अनुभुति चैँ हुन्छ । हुनत यात्रा भन्ने बितिकै अनबरत अनुभुति भन्ने बुझ्छु । जीवनका कैयौँ बसन्त यात्रामै बिताएको छु । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव तथा हाम्रो संगठन, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय अध्यक्ष प्रभात चलाउने जो मेरो गुरु तथा अविभावक पनि हुनुहुन्छ । यात्रासँगै एउटा अबसर मिलेको छ । यात्रा अबसरमा परिणत भएको महसुस गरेको छु । थोत्रो यामाहालाई एकजना साथीको जिम्मा लगाउँदै दुईभाई को यात्रा कोहलपुरबाट सुरु भयो । बिचमा कतै नरोकिएर सिधै अत्तरिया कैलाली पो पुगिएछ । पत्तै भएन भुसुक्क निदाईएछ । निन्द्राले गर्दा बिचमा पर्ने राष्ट्रिय निकुञ्जका र कर्णाली पुलको दृश्य आँखामा कैद गर्नै पाईएन । हामी अत्तरिया पुग्दा चार बजिसकेको थियो । डडेल्धुराको लागि त्यति बाक्लो गाडिहरु पनि नपाइँदोरहेछ । दाईले बाईकको प्रबन्ध मिलाउनु भयो, पत्रकार महासंघ सुदुर पश्चिम संयोजक प्रकाश शाहलाई भनेर । एक घण्टाको कुराईले सार्थकता पायो । डडेल्धुरा भन्ने बित्तिकै भिमदत्तको सम्झना आउँछ । हरेकको जिब्रोमा भिमदत्त देखिन्छन् । अगाडी र सुरु भयो भिमदत्तको छाती माथि डडेल्धुराको यात्रा करिब घडिको सुई अंक पाँचको रेखामा दौडिसकेको थियो । कति लाग्छ होला ? मनमा खुल्दुली गाँठो परेको थियो । चार–पाँच घण्टा जति लाग्ला गाडिमा । मैले अगाडि नै सोधिसकेको थिए । मनलाई पाँच घण्टाको लागि बाँधिसकेको थिएँ । आखिर मन न हो बाँधेर बाँधिने कुरा थिएन । सुरु भयो भिमदत पन्तसंगै गोदावरीको लोभलाग्दो जंगल, भासुको डरलाग्दो भिरमा फोटो खिच्दै पार गर्दाको अनुभुति, सहजपुरमा सौगात दाईलाई सम्झँदाको क्षण भनि साध्य छैन । बिस्तारै रातले अंकमाल गर्दै थियो, चौतर्फी प्राकृतिक सौन्दर्यतिर दौडिएका हाम्रा आँखाहरु सुस्त–सुस्त गाडिको लाईटको दृश्यमा सिमित हँुदै थिए । छालाले पनि स्पर्श फेरिसकेको थियो चिसो अनुभूति हुदैथियो । लाग्छ, रात पनि बाक्लिदै गयो । रातसँगै चिसानुभुति हुदै गयो । थुप्रै डाँडा, खोला, गल्छेडा, घुम्ती–मोडहरु पार गर्दै स्याउली बजार पार गरियो । लाग्यो प्रकृतिको अजेय किल्ला डडेल्धुरा पुग्दा साढे दश बजिसकेको हुँदो हो, स्वागतको लागि हातमा फुलमाला र पुष्पगुच्छा लिएर गणेशज,ी मदनजी लगायत साथिहरु कुरिरहनू भएकोरहेछ । अलि ठट्यौली पाराका मित्र गणेशजीलाई चिन्न खासै समस्या परेन । सुदूरपश्चिमकै मात्र हैन नेपालकै एक इतिहाँसको किल्ला हो अमरगढी किल्ला । डडेल्धुराको पहिचान र भिमदतको जन्मभूमि अर्को पहिचान छ । राजा नाग मल्लको अजयमेरु, जो सँग हृदयदेखि नै साक्षात्कार गर्ने अवसर मिल्दैछ । मन चंगा भएको छ । पर्यटकिय हिसाबले एउटा आर्कषणको बिन्दुसँग सुक्ताखेरी गर्नु छ । नविन होटलको बास सार्थक नै भयो । बिहान अमरगढी किल्ला र उग्रतारा अवलोकन गरेर कार्यक्रमस्थल अजयमेरु जाने भन्ने कुराको सेटिङ्ग मिलाउनु भएको रहेछ । राती अबेरसम्ममा प्रभात दाई र मित्र गणेशजी गफीदै हुनुहुन्थ्यो । डडेल्धुराका आन्तरिक र बाह्य कुरा सेयर गर्दै हुनुहुन्थ्यो सायद म त भुसुक्क निदायछु । एकैचोटी बिहान क्षितिजको पर्दा खुुलेपछी पो ब्युझिएँ । बिहानको चिया नास्ता पछि सुरु अमरगढीबाट गर्ने भन्नेकुरा भयो र हामी केही साथीहरुसहित उक्लीयौँ, अमरगढी किल्ला जिल्ला प्रहरी कार्यालयको अगाडी एउटा सानो नेपाली सेनाको टुकुडीसहित बडाकाजी अमरसिं थापाको सालीक जहाँ कुदीएको थियो । म बाघको डमरु हुँ मलाई सिनु खाने कुकुर नसम्झ । अमरसिं थापा र उनको अमरगढी किल्लाको बिषयमा मैले जति लेखे पनि अधुरै हुन्छ । इतिहाँसमा पढेका अमरसिंलाई उनको कर्मभूमिमा पुगेर स्पर्श गर्न पाँउदा मन कति प्रफुल्लित थियो भनि साध्य नै छैन । गेटबाट सुरु भएको हाम्रो फोटो शेषन उनका मजबुत र ऐतिहासिक बंकर, सुरुङ्हरुमा समेत जारी रह्यो । उचित व्यवस्थापनको कमीले संग्रहित हुनेकुराको समस्या नै देखिएजस्तो अनुभूति गरियो । फौजी हिसाबले मजबुत उक्त किल्लालाई संरक्षणमा अझै जोड दिनुपर्ने कुराको आत्मबोध गर्दै लागियो जंगलको बाटो, भिमदत्त पन्तको गाँउलाई नजर अन्दाज गर्दै सुरु भयो कच्ची रोडको यात्रा । साथीहरु स्थानिय भएको कारणले बाटो नभुलीएला भन्ने कुरामा क्रमभंगता हुँदै बिचमा बाटोे भुलेर थोरै उल्झन पैदा भयो तर मलाई भने आनन्द लागिरहेको थियो । फरक ठाँउ, फरक अनुभूति र फरक यात्रा गणेशजी अलि संकटमा भन्दै हुनुहुन्थ्यो, सरहरुलाई भ्रमण हुन्छ । करिब डेढ घण्टाको हिडाईपछि आयो अजयमेरु गाँउ जहाँ हाम्रा स्थानिय संगठनका साथीहरुले प्रभात दाईको लागि हातमा फुलमाला लिएर स्वागतको तयारी गरीरहनु भएको रहेछ । मलाई प्रकृतिले रंग फेरीरहेको जस्तै अनुभूति भईरहेको थियो । फोटोसंगै देश खिचिरहेको छु, देशसँग सुदूरपश्चिम र डडेल्धुरा खिचिरहेको छु । अहँ अजयमेरु सित नेपाल खिचिरहेको छु । प्रभात दाई पसिना पसिना भएर पनि शितल अनुभूति गरिरहेको पाईरहेको थिएँ । अजयमेरुसँग उहाँका आँखाहरु अति ब्यस्त देखिन्थे । सायद मन त्यो भन्दा बढि ब्यस्त थियो । लाग्छ दुनियाँ बोकेर नचिनिएको नेपालको छातीमा अनुभूतिको सप्तरंगले होली खेल्नु छ । केही समय पछी । पर–परसम्म देखिएका डाँडाकाँडाहरुसित मितेरी जोड्नुछ जिन्दगीको अभिलेखसँग सजाउनुछ मुटुभरी देशको माया । जम्बो पत्रकार टोली सुरक्षा निकाय र स्थानीय बासिन्दासहित पुगेको डडेल्धुरेली कर्मचारीहरुको टोली अजयमेरुको उकालो सोझिसकेको थियो । लगभग आधा घण्टाको उकालो पछि उक्लीयो राजा नाग मल्लको ऐतिहासिक भूमि अजयमेरु दरबार झट्ट हेर्दा पखाला चलेको बिरामी जस्तै दाँत झरेको बृद्ध र कुपोषण लागेको तन्नेरीजस्तै कतै अशान्त, कतै वेचैनजस्तो, देशलाई गिज्याईरहेको, ठूल्ठूला क्यामरा र भुडिवाल मान्यजनहरुसित जिस्कीरहेको जस्तो, उराठ–उराठ दृश्य, निरस–निरस दृश्य वरिपरि नदिले घेरेको पहाडको ढिस्को जहाँ मृत्युपरन्त जिवीत ऐतिहासिक ढुंगाको थुप्रोे माथि १५,२० जना सुरक्षा फौंजले कार्यक्रमस्थल बनाईरहेका देखिन्थे । अरु बाँकी क्यामरामा झुम्मिरहेका देखिन्थे । यो अन्धाहरुको देश हो यहाँ आँखा भएकाहरुलाई दृश्यले गिज्याउँछ । जुनले सराप्छ, ताराले धिकार्छ । त्यही अर्को नाटकसँग मन्चन गरिरहेको थियो, अजयमेरुले । आप्mनै बिना नचिन्ने कस्तुरीहरुलाई सम्झाई–बुझाई गर्दै हुनुहुन्थ्यो कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघका सचिव प्रभात चलाउने, कान थापेर सुनिरहेका देखिन्थे प्रमुख जिल्ला अधिकारी र कर्मचारी र स्थानिय मुकदर्शकहरु । टुपी चट्काउने घाममा पनि दृश्य नं ३ सुरक्षित देखिन्थ्यो । नेपाल पत्रकार महासंघले गरेको उक्त कार्यक्रमपछि क्रान्तिकारी पत्रकार संगठन डडेल्धुराले लामो समय संचार क्षेत्रमा योगदान प¥याउदै आएका संगठनका केन्द्रीय सदस्य गणेश रोका र हाम्रा संगठनका अध्यक्ष प्रभात चलाउनेलाई दोसल्ला ओढाएर सम्मान कार्यक्रम राखेको थियो । हाम्रो संगठनको कार्यक्रममा अलिकति बधाई मन्तब्यसहित हल्ला गर्ने अबसर मलाई पनि प्रदान गरेको थियो । भित्रभित्रै अनुभूतिले काकाकुल बनेको त्यो स्थितीमा थोरै भएपनि पौडिने र बग्ने मौका दिएकोमा हाम्रो संगठनले क्रान्तिकारी पत्रकार संगठन डडेल्धुरालाई सलाम र साधुवाद टक्रायो र त्यो भन्दा बढी साधुबाद मेरो जीवन पुस्तकका अर्का गुरु दाजु प्रभात चलाउनेलाई टक्राएँ, जस्ले यो अबसर जुराई दिनु भयो । भिमदत्त पन्तको क्रान्तिकारी भूमि, अमरसिं थापाको अजय किल्ला, राजा नाग मल्लको आप्mनै शासन शैलीले चर्चीत र अव्यस्थित किल्लासँग जोडिएको देशको ऐतिहाँसिक सम्भावना दस्तावेजीकरण गर्ने हो भने नेपालभरबाट मात्रै हैन संसारभर बाटै पर्यटकहरुको ओईरो थामी नसक्नु हुनेछ र त्यहाँ पुग्नेछन् । प्रसस्त ऐतिहाँसिक सम्भावना भएर पनि नचिनिएको डडेल्धुरालाई दुनियाँले नजिकबाट चिन्नेछन् । तिन चार ओटा कार्यक्रमहरुको सेडुल बिस्तारै सकिदै थियो । दुश्य नं ४ भोजमा गएर टुंगीदै थियो । त्यतिबेलाका निरंकुश राजा नाग मल्लको बैठक स्थल मानिने खोलाको किनारमा ठुला ठुला ढुंगाको ऐतिहाँसिक प्रतिक्षालय नेर आयोजना गरिएको थियो । अनुभूति र गर्मीको एकोहोरो चुटाई पछि भोजन गरीयो र बाई बाई अजयमेरु भन्दै टोली सोझियो उकालो मनको प्रभातफेरीलाई त्यहि स्थगित गर्दै फेरि भेट्ने वाचासहित अजयमेरु अमरगढी र भिमदत्तबाट तस्बीरमा अनुभूतिका काँडा उर्मादै झरियो कैलाली कञ्चनपुरको तातो रापमा दुई पांग्रेमा सरर ।।।।।।

वीरपथमा लङ्मार्र्च
—खगेन्द्र गिरि ‘कापिला’
सर्खेतबाट ११३ किलोमिटरको दुरीमा पर्ने शाहीखोलामा पुगेपछि हामी पक्कीसडक छाडेर पश्चिमपट्टि लागेका मात्रै के थियौं हाम्रो यात्रा घ्याच्च रोकियो । हाम्रो अगाडी लमतन्न सुतेको छ कर्णाली नदी । अछाम र दैलेख जिल्ला मात्र होइन भेरी र सेती अञ्चलको समेत सिमानाको काम गरिरहेको कर्णाली नदी यहाँनिर तल तराईको जस्तो विशाल र फराकिलो नदेखिएपनि दह परेको नीलोनीलो पानीलाई हेर्दा भने निकै गहिरो छ जस्तो देखियो । सुर्खेत—जुम्ला सडक कर्णाली नदीको किनारैकिनार साँगुरो पहाडको काखैकाख उत्तरतिर लाग्यो । हामीलाई भने सानो काठको डुङ्गा तरेर पारिपट्टि पुग्नु छ र लाग्नु छ अछामतर्फ ।
अलि पर कर्णाली नदीमाथि आधा बन्दै गरेको भन्दा पनि हुने, आधा भत्केको भन्दा पनि हुने जस्तो पुलाकृति देखियो । बास्तबमा त्यो कर्णाली नदीमुन्तिर गहिराईमा विशाल पत्थर भेटिएर पुलको खम्बा बनाउन जग खन्न नसकिएकोले बन्दाबन्दै काम रोकिएको पुलको आधा भाग रहेछ । पुल बन्ला र कर्णाली वारपार गर्न सजिलो होला भन्ने आशाले दक्षिणपूर्वी अछाम र दैलेखको पश्चिमी भेगका वासिन्दालाई वर्षौदेखि रोमाञ्चित पारिरहे पनि काठे डुङ्गाबाट नदी पार गर्ने नियति युगौंयुगदेखि ब्यहोरिरहेका छन् मान्छे । यस भेगका बासिन्दाले व्यहोरिरहेको त्यो नियति भोग्न आज हामी आईपुगेका छौं ।
यौटै सल्लाको रुख काटेर, ताछेर सुलुत्त पारेर बनाइएको साँगुरो डुङ्गाबाट थापा र शाह थर भएका दुई जनाले ससाना बहनाले खियाँदै–खियाउँदै नदी पार गराउँदा साँच्चिकै रोमाञ्चित पनि भइँदोरहेछ र डर पनि लाग्दोरहेछ । डुङ्गा चलाउने थापा थरका युवक त सुर्खेतमा कृयाशिल पत्रकार—साहित्यकर्मी गणेश कञ्चन थापाका दाई रहेछन् । परिचय भएपछि उनले भाडा लिन मानेनन् तर उनको जोखिमपूर्ण पेशालाई हेरेर पारिश्रमिक नदिई जान मनले मानेन । ‘भाउ झिक्क पैसा लियाऊ भनिखण्ड काँइँ रिसाउन्याँ हो के ?’ (पैसा ज्यादा लग्यौ भनेर कतै भाइ रिसाउने त हैन ?) भन्दै अफ्ठ्यारो–अफ्ठ्यारो मानेर उनले पैसा लिए । पैसामुखी चरम पुँजीबादले संसारै सर्लक्क छोप्न लागेको आजको युगमा पनि पैसाभन्दा सहयोगलाई महत्व दिने यस्ता मान्छे पनि भेटिदा रहेछन् अझैं । एकैछिनको परिचयले पनि अपनत्व प्रकट गर्ने ती डुङ्गावाला दाइ हामीलाई मोहन कोइरालाको कवितासङ्ग्रह ‘नदी किनाराका माझीहरु’ का सरल माझी जस्तै आत्मिय र प्रेमिल लागे ।
कर्णाली त तरियो, अब हामीलाई ४९ किलोमिटर बाटो छिचोलेर मङ्गलसैन पुग्ने चुनौति छ । पश्चिमोत्तर दिशालाई गन्तव्य बनाएर हामी शाहीखोलाबाट सोझैं उकालो लाग्यौँ । भर्खरभर्खर डोजर लगाएको, वर्षात्को पानीले खहरेमा परिणत भएको आक्कलझुक्कल ट्रेक्टर हिड्ने, चुच्चे ढुङ्गा तथा रातो माटोले चिप्लो बनाएको सडकले हाम्रो यात्रालाई गिज्याएजस्तो ग¥यो तर हाम्रो उत्साह भने ‘लङ्मार्च’ गर्न हिडेका छापामारको भन्दा केही कम थिएन । खाल्डाखुल्डी भएको त्यो उबडखाबड बाटोलाई मध्यपहाडी लोकमार्ग भनिदोरहेछ । ‘छोरो पाउनु कहिलेकहिले कन्धनी बाट्ने अहिले’ भनेजस्तै बाटो तयार हुनु कहिलेकहिले नाम राख्न भने हतार भईसकेजस्तो लाग्यो । कुच्ची भन्ने ठाउँमा पुगेपछि ठाडो उकालो सकियो र बाटो पहाडका साना ठूला थुम्काको वरिपरि फन्को मार्र्दै अघि बढ्यो । घण्टौंको कुँदाई पछि हामी विनायक भन्ने ठाउँमा आई पुग्यौँ । ‘भैसोले’ भनिने अछामको दक्षिणपूर्वी भेगको ऐतिहासिक ठाउँ विनायकको उराठलाग्दो थुम्को अल्छी मानेर मुस्कुराउन खोजिरहेको छ । विनायकको शिरैमा स्थापत्य शैलीमा बनाइएका पाँच वटा देवल उभिएका छन् । मस्टोपुजक खस जातीको भूमि अछाममा वैदिक हिन्दु धर्मविधान अनुसार सम्भवतः पाञ्चजन्य देवताको प्रतीकको रुपमा पञ्चदेवलको स्थापना गरिएको हुनुपर्छ । सातसय वर्ष अगाडि विक्रम संवत् १३३७ सालमा जुम्लाका अक्षयमल्ल नाम गरेका एकजना ठकुरी राजकुमारले जुम्ली साम्राज्यको बर्चस्व र कीर्ति देखाउन यसको स्थापना गरेका हुन् रे तर आज त्यही पञ्चदेवल यस भेगको स्थानिय चिनारी गराउने एक्लो पुरातात्विक धरोहर बन्न पुगेको छ । इतिहासका यी दृष्टान्तसित निरपेक्ष रहेर देवलका आँगन र पटाङ्गिनीमा ताश खेलिरहेका छन् केही अधबैंसे र युवा ।
नेपाल एकिकरण अभियानमा लागेका गोर्खाली सैनिक करिब दुईसय पच्चिस वर्ष अघि यही बाटो भएर पश्चिम लागेका थिए । मध्यपहाडी लोकमार्ग पनि वीरपथलाई छिचोलेर अगाडि बढ्छ । दैलेख जितेर पश्चिम लोगेका गोर्खाली सैनिकलाई कर्णाली तर्न र विनायक जित्न निकै मेहनत गर्नु परेको थियो । विनायकपट्टिबाट आएको अछामी सेना र पूर्वबाट आएको गोर्खाली सेनाका बीचमा शाहीखोलामैं पहिलो युद्ध भएको थियो । अछाम तर्फका करिब डेड सय सैनिक यहाँ मारिएका थिए । युद्ध विजेता गोरखाली सैनिकले ओहोरदोहोर गर्ने गरेकोले यो पुरानो बाटोको नाम वीरपथ रहन गएको हो भन्छन् जानकारहरु । हाल वीरपथ नामको यौटा गा.वि.स. पनि छ अछाममा । वीरपथको गैरीटाँडमा सानो बजार छ । कमलबजारबाट आउने बाटो गैरीटाँडमैं मध्यपहाडी लोकमार्गसित मिसिन्छ ।
कुच्चीको उकालोले हिमाल आरोहणको झझल्को दिलाए पनि यो ठाउँ भौगोलिक रुपले त्यति विकट छैन । शाहीखोलादेखि वीरपथसम्म धानखेतीले पहेँलपुर भएका पाखा र तलतलका रसिला फाँट, गह्रा निकै उर्वर छन् । भीरपहरा र चट्टाने पाखाहरु खासै नभएको यो भेग अन्न भण्डारकै रुपमा परिचित छ । उहिलेउहिले बाजुरा र जुम्लातिर अनिकाल पर्दा ‘बेसाहा किन्न भैसोले जाने’ उखान नै चलेको थियो । असोजको महिनामा यहाँ आएर पहँेलपुर धानबारीलाई हेर्दा त्यो उखान चल्नुको अर्थ थाहा पाइयो ।
गैरीटाँडको लामो कुँइनेटो र वीरपथका अनेकौं घुम्तिमा फन्को मारेपछी हात्तीबाँजबाट बाटो उकालोउकालो चढ्न थाल्यो । बस्ती पनि पातलिदै गयो । जतिजति उकालो लाग्यो उतिउति सिरसिर बतास चल्ने असोजको याम, यतातिर अलि छिटै अँध्यारो हुँदोरहेछ । उहिले गोर्खाली सेनाले राष्ट्रिय एकिकरण अभियानको झण्डा उँचाल्दै ‘लङ्मार्च’ गरेको यो बाटोमा कहिले बेठबेगारी गर्नेहरुको लर्को लाग्यो होला । कहिले बम्बैमा चौकिदारी गर्न जाने ‘बम्बैवाला’ हरु त कहिले कालापहाडमा ‘बोज’ (भारी) बोक्न जाने कामदारहरुले यही बाटोमा पैताला घिसारे होलान् । मैथामाडुँ तथा डौंठ्यागडाका मेला हेर्न जाने ‘छोरेट्टा छोरेट्टी’ हरु र मुडा तथा राजापुरका हाटमा नुन लिन जाने ‘हटारु’हरुका अनगिन्ती कथा पनि यही बाटोमा छरिएका छन् । २००७ सालपछि राजनैतिक पार्टीका जुलुश र पञ्चायतकालका पञ्च¥यालीले जिन्दाबाद र मुर्दाबादका नारा लगाएर यही बाटो कति ओहोरदोहोर गरे होलान् कति ? माओवादी छापामारहरुले यही बाटोमा ‘लङ्मार्च’ गर्दै मङ्गलसैनलाई क्षतविक्षत पारेको घटना त झन् एक दशक भन्दा पनि पुरानो भएको छैन । यस्ता अनेकौं कथा र व्यथा अनि अनुभव र इतिहास बोकेको वीरपथको यो धुले सडक कदाचित् सुरेश किरणको कविताको शिर्षकझैं मनमनै भन्दो हो ‘म एउटा बाटो, बटुवाले छोडिगएको’ । आज हामी त्यही बाटोमा गजलका भाव पछ्याँउदै कुँदिरहेका छौं ।
बोटबिरुवाले ढकमक्क ढोकेको यौटा हरियो पाखोको फन्को मारेपछि हामी ठूलासैन भन्ने भन्ज्याङ्निर आइपुग्यौँ । यहाँबाट उत्तरतिर फर्केको पाखोमैं फैलिएको रहेछ मङ्गलसैन । भन्ज्याङ् काटेर जतिजति तलतलतिर झर्दै गयो उतिउति बस्ती बाक्लिदै जान थाल्यो । ढुङ्गा र सिमेण्टका घर बाक्ला देखिन थाले । अघिसम्म महसुस भैरहेको प्राकृतिक कोमलता हराउन थाल्यो र शहरी प्रदुषणले नाकमा अतिक्रमण गर्न थाल्यो । मङ्गलसैनको अछाम गेष्टहाउसमा पुगेपछि आँगनको कुनामा थुपारिएका रक्सीका खाली बोलत र प्लाष्टिकका थोत्रा सामानको डङ्गुरलाई हेर्दा भने साँच्चिकै थकाई लागेर आयो । मङ्गलसैनको पहिलो झल्को अति प्रितीकर थियो, प्रथम साक्षात्कारले भने मन कुँडियो । मैले मनमनै प्रश्न गरेँ के आधुनिकता र विकास भनेको यिनै रक्सीका खाली बोलत र प्लाष्टिकका थोत्रा सामान नै हुन् त ? ।
अचेल मङ्गलसेन लेखिने तर जनजिब्रोमा मङ्गलसैन नै बनेर बसेको यस बजारको यौटा कुनामा रहेको जिविसको साँगुरो सभाहलमा आज अनौठो रौनक चढेको छ । टनाटन भरिएको हलमा साहित्य सुनाउने भन्दा सुन्नेको भीड देखियो । अछाममै जन्मिएका अग्रणी गजलस्रष्टा ललिजन रावल मञ्चमा विराजमान छन् । झनक अधिकारी ‘बारुद’ प्रभावशाली शैलीमा गजल सुनाउँदै छन्ः
‘परिक्षण गरेर मात्रै रहस्य थाह भो
हिउँ जमेको रहेछ आँखामा रोदनको
ढुङ्गाजस्तै दरिलो बनाउनु मुटु अब
नत्र भुकम्प आउन सक्छ धड्कनको’
हिमाल उदासी, टेकराज भण्डारी, मनोज विवश, कमल संघर्षजस्ता स्थानिय स्रष्टा गजलीय मुस्कान पोख्दै व्यवस्थापनमा खटेका छन् । विभिन्न जिल्लाबाट आएका सय बढी स्रष्टाले दुई दिनसम्म आआफ्ना बान्कीका सिर्जना पस्किए । ‘बिरालो बाँधेर श्राद्धे गर्ने’ परम्पराको निर्वाह गरेझैं सम्मान, विमोचन, मन्तव्य, अन्तरकृया र कोसेली हस्तान्तरणका चरण पनि पुरा गरिए । भरत रोदन साउदले प्रस्तुत गरेको कार्यपत्रमा केही छलफल, मन्थन तथा विचारोत्तेजक बिमर्श पनि भयो र नेपाली गजलमा देखिएका भ्रम तथा भ्रान्ति हटाउने प्रयत्न पनि गरियो ।
नेपाली गजलमाथि यो बौद्धिक हुन सकेन, ‘टिनएजर्स’ को रहर मेटाउने लहडी विधा मात्रै बन्यो, काव्यको अनुशासनलाई गजलले छुनै सकेको छैन, गजलकारहरु चुट्किलाकार वा दोहोरीगीत गायकको स्तरभन्दा माथि उठ्नै सकेका छैनन् भन्ने आरोप लाग्दै आएका छन् । यी आरोप पूर्णसत्य नभए पनि निराधार भने छैनन् । ‘अछाम गजल महोत्सव’ मा पनि यसको छायाँ नदेखिएको हैन । बास्तबमा साहित्यलाई त्यसको बौद्धिकता र गहनताले नै स्तरिय बनाउने हो । प्रायःजसो आमगजलकार निम्नकोटीको चिन्तन र भद्दा विषयमैं रुमल्लिरहेका भए पनि गजलको भीडबाट उच्चकोटीको चिन्तन र विशिष्ट कला बोकेका स्रष्टाहरु अचेल सुस्तसुस्त आफ्नो परिचय बनाउन लागेका देखिन्छन् । यो क्रममा जति गति आउँछ गजल त्यति नै बलियो र स्तरिय हुँदै जाने हो । ‘अछाम गजल महोत्सव’ को उद्देश्य पनि गजलको बौद्धिक उन्नयनमा यौटा कोसेढुङ्गा थप्नु नै थियो । ‘भीडबाटै भीमको छनोट हुन्छ’ भन्ने भनाईलाई सम्झिएर हेर्दा युवाहरुको त्यस जमघट, उत्साह र खटाईको बिचमा सिर्जनाका केही बौद्धिक छनकको आशा राख्नु स्वाभाविकै हो । तर महोत्सवको अधिकांश समय र उर्जा होहल्लामैं खर्च भएको देखियो । पर्याप्त मनोरञ्जन र रमाइलो त भयो तर महोत्सवको सार्थक उद्देश्य भने कताकता अधुरै रहेको महसुस भयो । कवि नादीर शर्माले सुनाइरहने ठ्याक्कै यो अछामी भाषिकाको तुक्का जस्तै ः
‘एकलोटा पानीका लागि आमा गइँ झकाल्या
कानौँदा जुथारी पाथर जैगडम्बो हन्डो’
(एकलोटा पानीका लागि आमा झकाल्या भन्ने गाउँसम्म पुगिन् तर ऊ भने काँधमा पानी भर्ने भाँडा झुण्ड्याएर जयगढको उकालोमा हिंडीरहेछ)