जोखिम सहन सक्ने बालीका जात तथा प्रविधिको विकासमा जोड दिएका छौं

– डा. वाई आर पाण्डे
कार्यकारी निर्देशक
नेपाल कृषि अनुसन्धान परिषद्

 जलवायु परिवर्तनले सवैभन्दा धेरै असर कृषि क्षेत्रमा देखा परेको दखिन्छ । कृषि र जलवायुको अन्तरसम्बन्ध के हो ?

कृषि क्षेत्रको उत्पादन जिवित वनस्पति या जन्तुहरुको उमार÷जन्म, वृद्धि र प्रजनन् जस्ता क्रियाहरुको परिणाम हो । जीवमा अन्तरनिहित आनुवांशिक वनौट र वातावरणको अन्र्तक्रियाले कुनै पनि जीवको जीवन प्रक्रियाको क्षमता निर्धारण गर्दछ । माटो, हावा, पानी, तापक्रम, घाम÷अन्धकार जस्ता कुराहरु वातावरणका प्रमुख अंगहरु हुन जसको मात्राले कुनै पनि स्थानको पर्यावरणीय परिचय निर्माण गर्दछन् । कुनै एक पर्यावरणमा राम्रो उत्पादन दिने जीव या वनस्पतिले अर्को पर्यावरणीय अवस्थामा पनि राम्रै गर्दछ भन्न सकिदैन । जलवायु परिवर्तनका कारण एक किसिमको भनेर चिनिएको पर्यावरणीय अवस्थामा नै फेरवदल हुने र विगतमा राम्रो उत्पादन दिइरहेका बालीनाली तथा पशुपंक्षिले बदलिएको अवस्थामा राम्रो उत्पादन दिन नसक्ने हुँदा कृषि क्षेत्रमा जलवायु परिवर्तनको ज्यादा चर्चा हुने गरेको हो ।

 जलवायु परिवर्तनका कारण नेपालको कृषि क्षेत्रमा कस्ता खालका प्रतिकुलता देखा परिरहेका छन् ?
नेपालको समग्र कृषि प्रणाली मन्सुनी वर्षामा आधारित छ । मन्सुन सुरु हुने समय अनिश्चित र कुल वर्षाको समयगत वितरण असमान बन्दै गएको तथ्यलाई नेपालको सन्दर्भमा जलवायु परिवर्तनको प्रमाणका रुपमा चित्रण गर्ने गरिएको छ । यसका अलावा अतिवृष्टि, अनावृष्टि, तापक्रममा वृद्धि, हिमरेखाको माथि स्थानान्तरण, जलस्रोतहरुको विलय, छोटा हिउँदहरु आदि पनि जलवायु परिवर्तनका विश्वव्यापि मापन हुन् जुन नेपालमा पनि अनुभव गरिएका छन् । जलवायु परिवर्तनले एक सिजन विशेषमा खेती गरिने बाली र समग्र कृषि प्रणालीलाई नकारात्मक असर पारेको छ । खासगरी सुख्खापन, बाढी, छोटो हिउँद, ज्यादा तापक्रम, नयाँ रोग तथा कीराको प्रकोप आदि नेपालको कृषि क्षेत्रमा परेका जलवायु परिवर्तनका नकारात्मक असरहरु हुन् । नेपालको कृषि प्रणालीमा बालीनाली र पशुपालनको गहन अन्र्तनिर्भरता रहेको छ । बालीनालीमा पर्ने नकारात्मक असरहरुको अप्रत्यक्ष असर पशुपालनमा पनि पर्ने हुन्छ ।
 मध्य तथा सुदूर पश्चिममा विद्यमान खडेरीको समस्या देखा पर्नुका पछाडी कृषि क्षेत्रमा देखा परेको जलवायु परिवर्तनको प्रतिकुल प्रभाव हो ?

समग्र हिन्दु–कुश–हिमालय क्षेत्रलाई नै जलवायु परिवर्तनको उच्च जोखिमयुक्त क्षेत्रको रुपमा लिने गरिएको हुनाले पुरै नेपालभरि नै जलवायु परिवर्तनका नकारात्मक असरहरु देखा परिरहेका छन् । यस अर्थमा मध्य तथा सुदूर पश्चिममा देखा परेको खाद्य संकट विशिष्ट रुपमा जलवायु परिवर्तनको नकारात्मक असर मात्र नभई त्यस क्षेत्रको कृषि क्षेत्रमा विद्यमान अन्य समस्याहरुका परिणाम हुन् । उन्नत जात तथा प्रविधिको उपलब्धतामा कमी, कृषकहरुमा लगानिको अभाव, अत्यन्तै कम मलखादको प्रयोग, सिंचाईको अभाव जस्ता कारणहरुले त्यस क्षेत्रको समग्र उत्पादकत्वनै कमि भएका कारण खडेरीको समस्या भोग्नुपरेको छ भने उक्त खडेरीका कारण त्यस क्षेत्रमा विद्यमान खाद्य संकट पनि देखा परिरहेको विडम्वना छ ।
 नार्कले जलवायु परिवर्तनका प्रभावका सवालमा के–कस्ता खोज अनुसन्धान गरिरहेको छ ?

ज्यादा सुख्खापन, डुवान, चिसोपन र ज्यादा तापक्रम नै नेपालका लागि मूख्य जलवायु परिवर्तनजन्य जोखिमहरु भएकाले नार्कले पनि अन्र्तराष्ट्रिय निकायहरुसंगकोे सहकार्यमा विभिन्न वालीनालीहरुमा यिनै जोखिमहरु सहन सक्ने जात तथा प्रविधिहरुको विकासमा जोड दिई रहेको छ । जलवायु परिवर्तनकै कारण देखा परेका नयाँ रोग तथा कीराहरुको पकोप व्यवस्थापनका लागि पनि नार्कले उपयुक्त प्रविधिहरुको विकासका लागि अनुसन्धान कार्यहरु सञ्चालन गरिरहेको छ । हालसम्म धानको डुवान सहन सक्ने दुईवटा तथा सुख्खा सहन सक्ने छ वटा जातहरु सिफारिस भईसकेका छन । गहुँमा सिन्दुरे रोग प्रतिरोधि विजय जात पनि कृषकमाझ लोकप्रिय भईसकेको छ । त्यस्तै मकैमा ज्यादा तापक्रम तथा डुवान सहन सक्ने जात तथा गहुँको ज्यादा तापक्रम सहन सक्ने जातहरु विकासको क्रममा रहेका छन् । त्यसका अलावा धान, गहुँ, मकै र राजमाको लागि सुन्य खनजोत प्रविधिको प्याकेज पनि विकसित भईसकेको छ ।

 जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेका प्रतिकुल प्रभाव न्यूनिकरण गर्न कृषक वर्ग र विभिन्न सरोकारवाला निकायले के–के कुरामा ध्यान दिनु पर्ला ?

तुलनात्मक हिसावले ज्यादा औद्योगिकिकरणमा गएका मुलुकहरु नै जलवायु परिवर्तनका लागि कारक हरितगृह ग्यास उत्सर्जन गर्ने मूख्य रुपमा जिम्मेवार मानिन्छन् र यसको न्यूनिकरणका लागि पनि तीनै मुलुकहरु ज्यादा जिम्मेवार छन् । जलवायु परिवर्तन धेरै हदसम्म प्राकृतिक प्रक्रिया पनि भएकाले परिवर्तनलाई नै रोक्न असम्भव छ । तथापि जलवायु परिवर्तनका लागि जिम्मेवार मानवजन्य कारणहरुको न्यूनिकरण गर्नका लागि सवै सरोकारवालाहरुले ध्यान दिनु पर्दछ । त्यसका साथै कृषि अनुसन्धानकर्मिहरुले परिवर्तित परिस्थितिमा पनि ज्यादा उत्पादन दिने जात तथा प्रविधिहरुको विकास र कृषि प्रसार तथा विकासमा संलग्न निकायहरुले स्ट्रेस सहन सक्ने जात तथा प्रविधिहरुको विस्तारमा जोड दिनुपर्दछ । हरितगृह ग्याँसको उत्सर्जनलाई न्यूनिकरण गर्नका लागि कृषकहरुले कम इन्धन खपत हुने, लागत कम लाग्ने र कम खनजोत गर्ने प्रविधिहरुलाई अपनाउनु पर्दछ ।