अवैध सरकारलाई समर्थन छैन: विप्लव

काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार अवैधानिक भएको बताउँदै यसलाई समर्थन गर्न नसकिने बताएका छन्।

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिँदै महासचिव विप्लवले राजनीतिक दलहरूबिना मुलुकको समृद्धि सम्भव नभएको उल्लेख गर्दै नेपाललाई कुनै पनि विदेशी शक्तिको अधीनमा जान नदिने बताए ।

उनले देशको वर्तमान जटिल परिस्थितिबाट निकास निकाल्न सर्वपक्षीय सरकार गठन गर्नुपर्नेमा जोड दिए । ‘देश गम्भीर सङ्कटमा छ। दलहरू छन्, देश छ, नेताहरू पनि छन्, तर राज्यको उपस्थिति कता छ रु राज्य छ कि छैन भन्ने प्रश्न उठेको छ,विप्लवले भने, ‘यस्तो कठिन अवस्थामा एमालेको महाधिवेशन हुँदै छ। एमालेमाथि थुप्रै प्रश्नहरू छन्, र यो महाधिवेशनले ती प्रश्नको जवाफ दिने अपेक्षा गरिएको छ।

उनले विश्वले नै एमालेको यो महाधिवेशनलाई नियालिरहेको बताउँदै सङ्कटको समाधान दिन सक्छ वा सक्दैन भन्ने हेरेर बसेको उल्लेख गरे। साथै, राजनीतिक दलहरूले देशका लागि ठूलो त्याग र सङ्घर्ष गरेको भए पनि जनताका अपेक्षा अझै अधुरा रहेको उनको भनाइ थियो।

वर्तमान तरल राजनीतिक अवस्थाको फाइदा उठाउँदै साम्राज्यवादी शक्तिहरूले विश्वभरि नै आफ्ना स्वार्थका लागि विकासोन्मुख देशहरूका प्राकृतिक स्रोतहरूको दोहन गर्न कठपुतली सरकारहरू लाद्ने खेल खेलिरहेका छन्,विप्लवले भने,आज एमालेमाथि भयङ्कर आक्रमण भइरहेको छ । यो आक्रमणको एउटा मुख्य कारण एमालेले राष्ट्रिय स्वाधीनताको पक्षमा निरन्तर अडान लिँदै आएको हो।