मुक्ति प्राप्तीमा हिँडेकी म, आफैँ उन्मुक्त नभएपछी

उन्मुक्त जिवन जिउने संकल्पमा, अर्को जिवनको जोखिम कार्य गर्न विवश छु ।

स्मृति पाठक

वर्गिय रुपमा होस् या लैङ्गिक रुपमा समानता, अन्याय, बिभेद सबैखाले अत्याचारको अन्त्य गरि शुसभ्य समान समाजको स्थापना गर्न मुक्ति र मृत्युको कसम खाएर अवोध नाबालिका रणसंग्राममा सामेल भएँ । सामन्ती राज्यब्यबस्थाले थुपार्दै आएको लैङ्गिक असमानता नै मेरो पहिलो प्रभाव थियो । महिला भएकै आधारमा पशुपंक्षिझैं बेचिने, आफ्नो जन्मघर छाडेर पराईको घरमा जानै पर्ने, बाको नामको अंशमा कुनै हक नलाग्ने, छोराहरुले अबसरको खानीलाई प्रयोग गर्ने, छोरीहरु मेलापात र चुलोचौकोमा सिमीत हुने त्यसमा पनि विविध आरोपमा पुरुषहरुको हिंसामा प्रताडित भैराख्नु पर्ने । यस्ता असमान कुस्कारलाई नामेट गरेर सभ्य समाजको परिकल्पना एब नारीको जिन्दगीलाई दिर्घकालिन समाधान दिन आफ्नो ज्यानको पनि प्रबाह नगरी बर्गिय मुक्तिको मार्गमा सामेल भए । त्यस्तै जम्माजम्मी एघार बाह्र बर्षकी थिएँ सायद जनयुद्धको बाटोमा लामबद्ध हुँदा । नारी भएकै कारण आफ्नै घरबाट धेरै पटक अपमानित र असमान्ता झेल्नु पर्यो । यसले मलाई मुक्ति मार्गमा प्रेरित हुन नकारात्मक बिषयको भुमिका खेल्यो । त्यसैले प्राथमिक तह पुरा गरेर निमाबि तहमा उक्लिदै गरेकी नाबालिका जनयुद्धको सहयात्री हुन विवश भएँ ।

 

२०५९ चैत्र १५ गतेका दिनबाट औपचारिक रुपमा क्रान्तिको यात्रामा हिडेपछी मेरो भुमिका उमेरले निर्धारण गर्यो होला सर्बप्रथम सॉस्कृतिक फाँटमा मेरो जिम्मेवारी सुनिश्चित भयो । सल्यान, सुर्खेत र बाँकेका केही ठाउँहरु मिलाएर क्रान्तिको कालमा चुरे जिल्ला बनाईएको थियो त्यही जिल्लाको बिद्रोह जनसास्कृतिक परिवार (चुरे) मा पहिलो पटक संगठित तथा पूर्णकालीन भुमिकामा उभिएँ । समाजका घटना परिघटना, पुरानो राज्य बिरुद्ध बुलन्द आवाज, जातिय, क्षेत्रिय, लैङ्गिक सबै बिषयको संगालो गरेर गित संगितमार्फत समाज परिवर्तनको बाटोमा उत्प्रेरित गर्न आफ्नो क्षमताले भ्याएसम्म लागें । जनसाँस्कृतिक कर्मीको भूमिका निर्बाह गरें । राज्यले दमनको यन्त्रलाई शसक्त बनाउँदै गर्दा यता पार्टीले पनि सैन्य संगठनलाई ब्यापक बनाई रहेको थियो । ब्रिगेडलार्इ डिभिजनमा फैलाउदै सातौ डिभिजनसम्म पुर्याएको थियो त्यहि चरणमा म पनि सैन्य संगठनमा सरुवा भएँ । जनमुक्ति सेनाको छैटौं डिभिजन अन्तर्गत पिली स्मति बिगेटमा रहेर काम गरें । पछी यस बिर्गेटबाट डिभिजन कार्यालयमा पुनः सरुवा भएँ । यस बिचमा बिभिन्न ठाउँमा भिडन्त, एम्बुस, मिनीरेड र घेराबन्दी लगायतका प्रत्यक्ष युद्धको कठ्ठोर परिस्थितिलाई पनि झेलियो । क्यान्टोनमेन्टको जिबनलाई पनि अनुभूति गर्ने झिनो अबसर प्राप्त गरें ।

 

जनयुद्धमा मुक्तिको सपना सजाएर हाम फालेकी एक सिपाहि अयोग्यको तक्मा भिराउँदा सार्है मन कुडियो सायद जिबनमै यति धेरै पिडा र हिनता भएको पहिलो परिघटना थियो ।

 

जनयुद्धताका भएका बिभिन्न घटना महिलाको नेतृत्व बिकास, समान सहभागिता, सहकारी सिस्टम, जनकम्युन अन्तर्जातिय बिबाह, श्रमदानमा बिभिन्न बिकास, समुहगत कार्य आदिहरु मेरै खाले देखेका थिएँ । यस्तो लाग्यो हामीले परिकल्पना गरेको समाजबादी ब्यबस्थाको नमुनाको हो । अब जातिय आधारमा छुवाछुतको सिकार, लैङ्गिक बिभेदको निशाना, क्षेत्रीय उत्पीडनको प्रभाबमा पर्नुपर्ने छैन । देश नयाँ कोर्सबाट अघि बड्दैछ । यिनै सपनाहरु बुन्दाबुन्दै एकदिन आफै अयोग्य सिपाहिको उपमा भिराएर माथि उल्लेखित आशाहरु निराशामा परिणत गरियो । जनयुद्धमा मुक्तिको सपना सजाएर हाम फालेकी एक सिपाहि अयोग्यको तक्मा भिराउँदा सार्है मन कुडियो सायद जिबनमै यति धेरै पिडा र हिनता भएको पहिलो परिघटना थियो । जनमुक्ति सेनाको बिघटन गर्ने साम्राज्यवादी योजनावध्द गुरु योजना अन्तर्गत म लगायत सयौं साथिहरु अयोग्यको कोटामा पर्यौं । त्यसपछी अयोग्यलाई बिभिन्न सिपमूलक कार्यको अफरको शब्दजाल फालियो तर कार्यान्वयन केही भएन । एकातर्फ हामीलाई क्यान्टोनमेन्टबाट खाली गराउने रणनीति अर्कोतर्फ कागजी क्रान्तिकारी भनाउँदाहरुको बुर्जुवा शिक्षा प्रतिको भ्रमजाल जसले अबको जिबनको फैसला अन्यौलको घेरामा बन्दि बन्दै गईरहेको थियो । उता घर फर्केर पुरानै स्कूलको आगनीमा टेक्यौ भने आफुसॅगका क्लासफ्रेन्डहरु कहाँ कहाँ पुगे आफु उहि हिजो छोडेकै कडीमा जोडिनु पर्ने त्यहि पनि घरले साथ दिएन भने सम्भब छैन ।

 

औपचारिक रुपमा क्यान्टोन्मेन्टको बसाई सिध्धिएको थियो र कतिपय आफ्नै सिनीयर जुनियर भन्नेले अलग्याउन खोजेको अनुभूति सजिलै हून्थ्यो । यस्तै चुनौतिकाबिच त्यहि दशरथपुरमै केही आदरणीय ब्यक्तित्वहरुको सहयोगमा बसियो । त्यहि शिलशिलामा रोकिएको पढाईलाई जोडेर एस.एल.सी. पास गर्न सफल भए । एस.एल.सी. पासपछी घर फर्केर बाँकी पढाई अघि बढाने सोचमा थिए तर घर त भर नै नपर्ने भएको रहेछ । बरु उल्टै युद्धयात्रीलाई बिबिध नकारात्मक रुपले परिभाषित गर्दै मेरो उन्मुक्तिलाई जेल हालेर मेरा सपनाहरु, अभिलासाहरु र अभिष्टहरुलाई तुवाएर आफ्नो निहित स्वार्थ पुरा गर्ने प्रपञ्च रहेछ । समाजमा अवहेलनामा परेकी दिदी बहिनीको साझा समस्या सँधैका लागि अन्त्य गर्ने सपनामा हेलिएकी नारी आफै नजर बन्दमा परेपछी । त्यो जेलब्रेक गर्न निकै कष्ट सहनु पर्यो । आफ्नो भविष्य र करियरलाई मिल्काएर सिमित गृहणी हुनुपर्ने प्रस्तावलाई सामना गर्नु पर्यो । घरदेखि छरछिमेकसम्म र समाजसम्म पनि छोरी मान्छे बन्धनमा बाँधिनु भन्ने खालेको मनोबिज्ञानले घेरिरहेको थियो ।

 

मैले स्वतन्त्रपूर्वक गर्ने हरेक सृजनात्मक कामलाई नकारात्मकमा ढालेर मेरो चाहना र अभिष्टलाई घेराबन्दी बनाउने प्रयत्न हुँदै थियो । जनयुद्धमा नलाग्नु पूर्व खेपेको ब्यथा जनयुद्धको एउटा चरण सकाएर आएपछी पनि त्यही पिडा आफैले खेप्नु पर्यो । एउटा समाज परिवर्तनको महाअभियानमा लागेकी नारीले त यति धेरै ईज्जत र प्रतिष्ठाको झुटो आरोपको सिकार हुनुपर्छ भने आफ्नो कर्मका लागि शहर बजारमा नारकिय जिवन बिताई रहेकी नारीले कति भोक्नु पर्दो हो । पाखा–पर्वत, चुलो चौको र घरगृहणी गरेकी नारीले कति अपमान सहनु पर्दो हो । यिनै अनुभूतिले संर्घषमा नहार्न सिकेको जिवनलाई अर्को संघर्षशिल भुमरिमा हालेर बाँकी जीबन उन्तत, उन्मुक्ति र उदात्त जिवन जिएरै छोड्ने प्रतिवद्धता र संकल्पमा अर्को जिवनको निकै जोखिम र कठिन कार्य गर्न विवश भएँ ।