पार्टी सदस्यबाटै वार्षिक पौने अर्ब शुल्क उठाउने नेकपाको तयारी ।

२३ जेठ, काठमाडौं । यदि तत्कालीन माओवादीले दाबी गरेको सदस्य संख्या एकीकृत पार्टीमा स्वीकृत भएमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संगठित सदस्य करीव ७ लाख हुनेछन् । यदि यही संख्या सदर भएमा नेकपाको वार्षिक आम्दानी करोडमा होइन, अर्बमा हुनेछ ।

नेकपाले पार्टी सदस्य शुल्क बढाएर लेबी तथा सदस्य शुल्कबाटै पार्टी सञ्चालन गर्ने पद्दति बसाउन लागेको छ । त्यसका लागि अब नेकपाको प्रत्येक सदस्यले सदस्यता शुल्कवापत मासिक एक सय रुपैयाँ अनिवार्य बुझाउनुपर्नेछ । यो भनेको हालको सदस्यता शुल्कमा ५ गुणा वृद्धि हो ।

पूर्वमाओवादीको सदस्य संख्या अस्वाभाविक

जिल्ला कमिटीहरुको एकीकरण प्रक्रियासँगै प्रत्येक सदस्यले मासिक १ सय रुपैयाँका दरले हरेक वर्ष कम्तिमा १२ सय रुपैयाँ बुझाउनेछन् । यदि नेकपामा ७ लाख सदस्यको नवीकरण भएको खण्डमा सदस्यता शुल्कबाटमात्रै नेकपाले वार्षिक करीब ८५ करोड रुपैयाँ आम्दानी गर्नेछ ।

पार्टी केन्द्रीय कमिटी एकीकरण भए पनि नेकपाका तल्ला कमिटीहरुको एकीकरण प्रक्रिया शुरु भइसकेको छैन । दुवै पार्टीका सदस्य संख्या पनि यकिन भइसकेको छैन । तत्कालीन एमालेको केन्द्रीय कार्यालयमा रहेको कम्प्युटर रेकर्ड अनुसार करीव ३ लाख संगठित सदस्य छन् ।

तत्कालीन माओवादी केन्द्रसँग भने पार्टी सदस्यको कुनै प्रमाणिक विवरण छैन । ०६९ साल माघमा हेटौंडामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनमा करीव दुई लाख ५० हजार सदस्य रहेको विवरण पेश भएको थियो । यद्यपि ती सदस्यको पनि केन्द्रीय कार्यालयमा रेकर्ड भने थिएन ।

मोहन वैद्यले पार्टी फुटाएर हिँडेको र बाबुराम भट्टराईसँगै रहेको अवस्थामा बिराटनगर महाधिवेशनमा पनि सोही संख्या कायम भएको थियो । यसबीचमा बाबुरामले पनि पार्टी छाडेर हिँडे । तर, माओवादीमा त्यसयता पार्टी सदस्यको विवरण अद्यावधिक गरिएको छैन ।

विभिन्न समूहहरुसँग एकीकरण भएको आधारमा करीव ४ लाख पार्टी सदस्यको विवरण पार्टी एकताका क्रममा पेश गरिएको केन्द्रीय कार्यालय सचिव प्रल्हाद बुढाथोकीले बताए । ती सबै संगठित सदस्य हुन् वा साधारण सदस्य पनि जोडिएको हो भन्ने यकिन छैन । पार्टी एकताका क्रममा सदस्यता नविकरणसँगै यकिन तथ्यांक आउने उनले बताए ।

गत प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतलाई आधार मान्दा पनि तत्कालीन एमालेको करीव ३२ लाख र तत्कालीन माओवादीको १३ लाख मत रहेको निर्वाचन आयोगले जनाएको छ । ३२ लाख मत प्राप्त पार्टीको सदस्य संख्या ३ लाख भन्दा कम र १३ लाख मत पाउने पार्टीको सदस्य संख्या४ लाख भन्दा बढी हुने कुरा आफैंमा अमिल्दो छ ।

पार्टीको विधान मस्यौदा गर्ने बेला पनि माओवादी पक्षले सदस्यको एकिन विवरण दिन नसकेपछि संख्या उल्लेख भएको थिएन । अहिले निमायवली मस्यौदाका क्रममा पनि सोही समस्या आएको छ । सम्भवतः तत्कालीन माओवादीका २ लाख सदस्य नवीकरण हुने अनुमानसहित नेकपाको सदस्य संख्या ५ लाख हुन सक्ने अनुमान नेताहरुले गरेका छन् ।

पाँच लाख संगठित सदस्य भए पनि मासिक एक सयका दरले पार्टी सदस्यबाट करीव ६० करोड रुपैयाँ सदस्यता शुल्कमात्रै उठ्ने अनुमान छ । यो बाहेक हरेक कमिटीले सदस्यको आर्थिक अवस्था हेरेर अतिरिक्त लेबी तोक्ने गर्छन् ।

लेबी हैसियत हेरेर लाखसम्म

केन्द्रीय कमिटीले प्रदेश कमिटीलाई वार्षिक रुपमा रकम तोकेर लेबी बुझाउन निर्देशन दिन्छ । त्यस्तै प्रदेश कमिटीले जिल्ला कमिटीलाई लेबीको भार तोक्छ । जिल्ला कमिटीले सदस्यता नवीकरण गर्ने पुरानै प्रणाली नेकपाले यथावत राख्ने भएको छ ।

प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री, सांसद, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र राजनीतिक नियुक्तिमा गएकाहरुले तलबको निश्चित प्रतिशत पार्टीलाई लेबी बुझाउनुपर्ने नियम राखिएको छ । राजदूत भएर गएकाले डलरमै लेबी बुझाउनुपर्ने तत्कालीन एमालेको नियम नेकपामा पनि निरन्तर हुने भएको छ ।

प्रत्येक सदस्यको आय स्रोत हेरेर सम्बन्धित कमिटीले अतिरिक्त लेबी तोक्दा पार्टीको आम्दानी लेबी र सदस्यता शुल्कबाट मात्रै वार्षिक २ अर्बभन्दा बढी हुने अनुमान गरिएको एक नेताले बताए । ‘सदस्यता शुल्क अनिवार्य र एउटै हुन्छ तर लेबी भनेको सदस्यको हैसियत अनुसार एक सयदेखि एक लाखसम्म पनि हुनसक्छ’ नेकपा एक स्थायी कमिटी सदस्यले भने ।

शुल्क पाँच गुणा बढी, केन्द्रलाई ५० प्रतिशत

पार्टी एकीकरणपछि सदस्यता शुल्कमा पाँच गुणा बृद्धि हुने भएको छ । यसअघि तत्कालिन नेकपा एमालेमा सदस्यता शुल्क मासिक २० रुपैयाँ थियो । प्रत्येक सदस्यले सदस्यता नवीकरण गर्दा मासिक २० को दरले २४० रुपैयाँ बुझाउनुपर्ने नियम थियो । सो रकम सम्बन्धित कमिटीले लिएर केन्द्रमा ५० प्रतिशत पठाउने प्रचलन थियो ।

तत्कालीन माअ‍ोवादीमा सदस्यता शुल्क मासिक १५ रुपैयाँ थियो । पछिल्लो समय माओवादीमा सदस्यता नवीकरण हुन छाडेको छ । हेटौंडा महाधिवेशनपछि सदस्यता नवीकरण र अद्यावधिक गर्ने प्रणालीनै नरहेको स्रोतले जनाएको छ । चार हजार सदस्यीय केन्द्रीय कमिटी बनेपछि पार्टीको संगठन प्रणाली भद्रगोल भएको हो ।

अब नेकपाका प्रत्येक सदस्यले पार्टी सदस्यता नवीकरण गर्दा मासिक एक सय रुपैयाँका दरले १२ सय रुपैयाँ जिल्ला कमिटीमा बुझाउनेछन् । जिल्ला कमिटीले नविकरण शुल्कमध्ये २५ प्रतिशत रकम आफूसँग राखेर बाँकी ७५प्रतिशत प्रदेश कमिटीमा पठाउने नियमावलीमा प्रस्ताव गरिएको छ ।

प्रदेश कमिटीले २५ प्रतिशत राखेर ५० प्रतिशत रकम केन्द्रीय कार्यालयको खातामा पठाउने व्यवस्था गर्न लागिएको छ । लेबीको हकमा माथिल्लो कमिटीले आफू मातहत कमिटीलाई दायित्व तोक्नेछ । लेबी र सदस्यता शुल्कबाटै पार्टी चलाउने र चन्दा माग्न नपर्ने अवस्था सिर्जना गर्न खोजिएको नेताहरुले बताए ।

साबिक एमाले र माओवादीका सदस्यले नेकपाको सदस्यता नविकरण गर्नकालागि सम्बन्धित जिल्ला कमिटीमा पुगेर फारम भर्नुपर्ने व्यवस्था नियमावलीमा गरिएको मस्यौदा समितिका सदस्य बेदुराम भुसालले बताए । जिल्ला कमिटीहरु एकीकरण भएसँगै सदस्यता नविकरण शुरु हुने उनले जानकारी दिए ।