सदन र सडक बाट आक्रामक बन्दै काँग्रेस

काठमाडौं २१असार । आफ्नै पार्टीको आन्तरिक विवादमा फसेको नेपाली कांग्रेस सरकार विरुद्ध बढी आक्रामक हुन थालेको छ । सदनमा सरकार विरुद्ध रोषमात्र प्रकट गर्ने कांग्रेस बुधवार भने सडकमा ओर्लिएको छ ।

सरकारद्वारा निषेधित क्षेत्र घोषणा गरिएको माइतीघर मण्डलामा निषेधित क्षेत्र तोड्ने क्रममा बुधवार प्रहरीले लाठी चार्ज गरेर प्रदर्शनमा ओर्लिएकाहरुलाई गिरफ्तार पनि गरेको छ । विश्लेषकहरुले कांग्रेस सदन र सडकमा एकै पटक आक्रमक हुन थालेपछि नेपालमा विपक्षी पार्टी पनि रहेछ भन्ने आभाष हुन थालेको बताएका छन् ।

सरकार विरोधी नाराबाजीका साथ प्रदर्शनका क्रममा आक्रोशित कांग्रेस कार्यकर्ता निषेधित क्षेत्रभित्र पसेको भनेर प्रहरीले लाठी चार्ज गरेको थियो । नेपाली कांग्रेसको भातृ संस्था नेविसंघको आयोजनामा भएको शान्तिपूर्ण प्रदर्शनमा गरिएको यो हस्तक्षेपलाई ‘भेला भई आफ्ना विचार राख्ने जनताको अधिकारलाई सरकारले निषेध’ गरेको भनी विरोध गरिएको थियो ।

विरोधको यो कार्यक्रम निषेधाज्ञा अवज्ञा गर्ने कांग्रेसको निर्णय लगत्तै नेविसंघबाट सुरु गरिएको थियो । प्रदर्शनका क्रममा ‘निषेधाज्ञा खारेज गर’, ‘गोविन्द केसी र गंगामाया अधिकारी’को माग पूरा गर लगायतको नारा पनि प्रदर्शनकारीहरुले लगाएका थिए ।