विभिन्न विभागका कर्मचारी बजेट सिध्याउन विदेश भ्रमण

संकेतिक तस्बिर

काठमाडौं, असार २२ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र अन्तर्गतका विभागका कर्मचारी विभाग नै खाली गराएर विदेश  लागेका छन्। असार मसान्त आउनै लाग्दा बजेट सिध्याउनका लागि कर्मचारी विदेश भ्रमणको कार्यक्रम बनाएर जाने गरेको पाइएको छ।

१२ जना कोरिया उडे

भूमिसुधार तथा व्यवस्था विभागबाट मंगोलिया गएका महानिर्देशक मुक्तिप्रसाद आचार्य र निर्देशक रामदत्त भट्ट फर्कन नपाउँदै फेरि बुधबार विभागका ९ जनासहित नापी विभागबाट २ जना र मन्त्रालयबाट १ जना गरी १२ जना कोरिया उडेका छन्। भ्रमणमा मन्त्रालयबाट उपसचिव दीपक खड्का, विभागबाट शाखा अधिकृतहरू चन्द्रलाल डंगोल, रत्नमान उदास, विष्णुबहादुर घर्ती, हीरागोपाल महर्जन, हरिकृष्ण यदु, रमेश कोइराला र नायब सुब्बाहरू नारायणप्रसाद भट्टराई र कृष्ण दाहाल कोरिया गएका हुन्। नापी विभागबाट उपसचिव सुशील डंगोल पनि भ्रमण टोलीमा रहेको मन्त्रालय स्रोतले जनाएको छ।

मन्त्रालयका अधिकारी तालिममा

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सूचना अधिकारी गोपाल गिरीले मन्त्रालयका अधिकारी जग्गा प्रशाासनसम्बन्धी तालिममा गएको जानकारी दिनुभएको छ।

अत्तोपत्तो छैन

यता विभागबाट के प्रयोजनका लागि गएको हो मन्त्रालयमा रेकर्ड नहुने मन्त्रालयका मुकुन्द गुरागार्इंले बताउनुभएको छ। उहाँले विभागमा भ्रमणका लागि सबैको हानथाप र दाबी हुने भएकाले विभागका अधिकारीले सुटुक्क सचिवको हस्ताक्षर गराउन फाइल ल्याउने र उतै लैजाने गरेको बताउनुभयो। नेपाल समाचारपत्रसँगको कुराकानीमा विभागबाट उहाँले भ्रमण गएकाहरूको नाम मन्त्रालयमा नरहेको बताउनुभएको छ। ‘यहाँ कोही छैन। सबै बाहिर जानुभएको छ’, उहाँले नेपाल समाचारपत्रसँगको कुराकानीमा भन्नुभयो– ‘अन्य कर्मचारीको दाबी हुन्छ भनेर विभागबाट आएका फाइल सचिवलाई सही गराएर उतै लानुहुन्छ।’

भ्रमणको कार्यक्रम कोरिया, घुम्ने चाहिँ सिंगापुर
यता कोरिया भ्रमणमा निस्केका कर्मचारीहरू सिंगापुर पुगेको मन्त्रालय स्रोतले बताएको छ। मन्त्रालयका एक कर्मचारीले सिंगापुर हुँदै कोरिया जाने कार्यक्रम रहेको नेपाल समाचारपत्रलाई बताएका छन। ‘सिंगापुर हुँदै कोरिया जाने कार्यक्रम छ’, उनले भने– ‘खै कोको के काममा जान लाग्नुभएको हो मलाई थाहा छैन।’ -नेपाल समाचारपत्रबाट