समृद्ध नेपाल र सुखी नेपालको संकल्पअन्तर्गतमा रहि योजना ल्याउन निर्देशन

काठमाडौँ, साउन ५। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाल’ को संकल्पअन्तर्गत रही मुलुकमा कुन विषयमा कति जनशक्ति आवश्यक पर्छ भन्नेबारेमा स्पष्ट योजना ल्याउन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

सो विश्वविद्यालयको ५९ वार्षिक दिवस र सिनेट बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले मुलुकको विकास र समृद्धिका लागि आवश्यक पर्ने जनशक्तिको पूर्वानुमान गरी लक्षित क्षेत्र र वर्गलाई ध्यान दिएर कलेजको सम्बन्धन दिन र अध्ययन अनुसन्धान गर्न पनि निर्देशन दिनुभएको छ ।

विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक जनशक्तिको आवश्यकताको पहिचानसम्बन्धी विवरण (प्रोफाइल) तयार गरिरहेको बताउँदै त्रिविले पनि त्यसअनुसार आफूलाई समय सापेक्ष, गुणस्तरीय, प्राविधिक, व्यवहारिक र अनुसन्धानमुखी शिक्षातर्फ आफूलाई केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

देशको समृद्धि र जनताको सुखका लागि परिपूरण हुने शिक्षाको खाँचो छ,” उहाँले भन्नुभयो, “त्यसका लागि छलफल गरी निष्कर्ष र योजना तय गरेर कार्यान्वयनमा जानुपर्छ ।

प्रधानमन्त्री ओलीले किराना पसल खोले झैँ को ग्राहक आउँछ, भनेर कुर्ने प्रकारले क्याम्पस खोलेर हुँदैन भन्दै आवश्यकताका आधारमा लक्षित क्षेत्रमा निर्भिकताका साथ स्थापना गरी जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

निर्वाहमुखी कृषिको अवस्थाबाटमाथि उठ्नुपर्छ, उहाँले भन्नुभयो, “नेपाललाई केही वर्षमै तीव्र आर्थिक विकास हुने मुलुकमा रुपान्तरण गर्नुपर्नेछ ।

सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयले प्राविधिक धारलाई बढावा दिनुपर्नेमा जोड दिँदै विश्वविद्यालयका समस्या र समाधानका बारेमा औंपचारिक बैठकमा नभइ पदाधिकारीसँग बसेर अलग्गै गम्भीर छलफल गर्नुपर्ने बताउनुभयो ।

समय र परिस्थिति अनुकूल विश्वविद्यालयमा सञ्चालित उच्च शिक्षालाई विश्व परिवेश अनुकूल गराउन तथा गुणात्मकरुपले उत्पादित प्रतिस्पर्धी विद्यार्थीले विश्व बजारमा स्थान प्राप्त गर्न सकुन् भन्ने शुभकामना पनि उहाँले व्यक्त गर्नुभयो ।

उपकुलपति डा तीर्थराज खनियाँले राष्ट्रको उच्चशिक्षामा ८० प्रतिशतभन्दा बढी जिम्मेवारी त्रिविले बहन गरिरहेको उल्लेख गर्नुभयो ।

रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गर्नुभएको ५६ औं ग्रेस लिष्टको विवरण बैठकले स्वीकृत गरेको छ । विभिन्न संकाय र तहमा गरी यो वर्ष कूल ७३ हजार ९०१ विद्यार्थी आउँदो दीक्षान्त समारोहका लागि योग्य भएका छन् ।