कानुन मन्त्रीले दिए पदबाट राजीनामा

काठमाडौं साउन ८। कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा तामाङ निकै भावुक भएका थिए । जनतालाई शिरमा राखेर काम गरेको तर, आफ्ना कमजोरीलाई नै मुख्य मुद्दा बनाएर प्रचार गरिएको भन्दै उनले दुःख व्यक्त गरे ।

पत्नी उषाकला राईसँगै उपस्थित भएका भने, ‘नेपाली नारीहरुप्रति सम्मान गर्छु, कोही पनि नारीमाथि हिंसा हुनुहुन्न भन्ने मान्छु ।’ महिलाहरुको हक अधिकारका लागि काम गरेको आफूलाई त्यही विषयले लखेटेको उनले सुनाए । ‘जे विषयमा निरन्तर लागिरहेको हु्न्छ, त्यही विषयले लखेट्ने दिन पनि आउँदो रहेछ’ उनले भने ‘अरु कसैलाई यस्तो नपरोस् ।

 

नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य भएको दाबी गरेका थिए ।

 

मन्त्री तामाङले मौलिक हक कार्यान्वयनका लागि आवश्यक १५ वटा तयार भइसकेको उनले जानकारी गराए । ‘मौलिक हक कार्यान्वयनका लागि आवश्यक १५ वटा कानून अगाडि बढेको छ । यो क्याविनेटको बाटो हुँदै संसदबाट पारित हुन्छ’ उनले भने ‘यी कानुनहरु असोज २ गते मध्यरातसम्म पारित हुन्छ ।

माफी मागे तर, जोगिएन पद

विवादास्पद अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागेका थिए । तर, आफूले नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्याहरुलाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउ गरे ।

तर, आलोचना नरोकिएपछि यो मुद्दाले सरकार र पार्टीलाई बदनाम गर्ने भन्दै सत्तारुढ दल नेकपाले कानूनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएको थियो ।