आमाछोराको शव फेला कोठामा झुण्डिएको अवस्थामा

 

कैलाली, साउन १५ । कैलालीको बर्दगोरीया गाउँपालिकामा एक महिला र उनको छोराको शव कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको छ।सो गाउँपालिकाको वडा नम्बर २ कुम्भियाकी २१ वर्षीया सीतादेवी डगौरा थारु र उनका साढे चार वर्षका छोरा संकेतको शव आफ्नै घरभित्र झुण्डिएको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार सोमबार अपराह्न तीन बजेतिर घटना भएको हो ।  उपरीक्षक घिमिरेले सीतादेवीका श्रीमान लालबहादुर डगौरा थारुले दुवैको शव झुण्डिएको अवस्थामा फेला परेपछि खबर गरेको जानकारी दिए।

घटना भएकाबेला आफू गोठमा राँगालाई घास दिन गएको लालबहादुरले प्रहरीसमक्ष बताएका छन् । लालबहादुरले आफू कोठामा जाँदा ढोका बन्द अवस्थामा रहेको र बोलाउँदा कोही नबोलेपछि ढोका खोल्दा झुन्डिएको अवस्थामा पत्नी र छोरा फेला परेको बयान प्रहरी समक्ष दिएका छन् ।

सीतादेवी र छोरा संकेतको शव पोष्टमार्टमका लागि टिकापुर अस्पतालमा राखिएको छ भने लालबहादुरलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुको २०७० सालमा बिहे भएको थियो । इमेजखबर