ठूलो रकम भ्रष्टाचार

 

काठमाडौं, साउन १६ । गत शनिबार ३६ लाख रुपैयाँ घूस लिएको रकमसहित भवन तथा सहरी विकास कार्यालय रूपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुर पक्राउ परे । रकम लिएर वीरगन्ज जाँदै गर्दा ठाकुरकी पत्नीलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लियोे ।

 

सोही दिन एक लाख रुपैयाँ घूस लिँदै गर्दा तम्घास–सिमलटारी–प्युठान सडक आयोजना, गुल्मीका सबइन्जिनियर प्रकाश झा पक्राउ परे ।

– प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सुरेन्द्र पराजुलीलाई अख्तियार टोलीले घूस लिएको दुई लाख ८० हजार रुपैयाँसहित पक्राउ गर्यो ।

 

 

यी प्रतिनिधिमूलक घटना हुन् । आर्थिक वर्षको अन्त्यमा अन्धाधुन्द खर्च भएको रकम कमिसन लिएर भ्रष्टाचार गरी निकासा दिने गरेका यी घटनाले पुष्टि गर्छन् । असार अन्तिम साता दैनिक अर्बौं रुपैयाँ भुक्तानी हुनु र कर्मचारी लाखौं घूससहित पक्रिनुलाई संयोगमात्र मान्न नसकिने पूर्वप्रशासक बताउँछन्।

 

 

आर्थिक वर्षको अन्त्यमा लाजलाग्दो गरी सरकारी रकम दुरुपयोग हुने गरेको पूर्वअर्थसचिव रामेश्वर खनालले बताए । उनका अनुसार कमिसन खान विभिन्न बहानामा अन्तिमसम्म अल्झाएर एकैपटक ठूलो रकम निकासा गरेर भ्रष्टाचार हुने गरेको छ । ‘अनियमितता गर्नकै लागि पनि कर्मचारीहरूले वैशाख–जेठमा सम्पन्न भएका कामको भुक्तानी नदिई झुलाएर राख्छन् । अन्तिम समयमा थैली चढाएपछि एकै पटक ठूलो रकम भुक्तानी दिने प्रवृत्ति छ’, खनालले भने । निर्माण क्षेत्रमा ठेक्काको १० देखि २० प्रतिशतसम्म कमिसन अनिवार्यजस्तै रहेको उनले बताए ।

 

 

आर्थिक वर्ष ०७४÷७५ को अन्तिम दिन असार ३१ गते एकै दिन ३३ अर्ब रुपैयाँ भुक्तानी भएको थियो । असार अन्तिम साता दैनिक अर्बौं रुपैयाँ निकासा भयो । सरकारी निकायले असार (एकै महिना) मा एक खर्ब ७१ अर्ब रुपैयाँ खर्च गरे ।

 

 

सम्झौताअनुसार नभएका काम पनि कर्मचारीले घूस खाएर अन्तिममा भुक्तानी दिँदै आएका छन् । अन्तिम समयमा भएका काम गुणस्तरहीन भए पनि मिलेमतोमा भुक्तानी हुने गरेको खनालले बताए । ‘केही इमानदार कर्मचारी पनि छन्,’ उनले भने । उनका अनुसार राजनीतिक नेतृत्वलाई थैली चढाएर पदमा पुग्ने प्रवृत्ति पनि भ्रष्टाचारको कारण हो । ‘मन्त्रीलाई मोटो रकम बुझाएर प्रमुख भएर जान्छन्,’ उनले भने, ‘त्यो उठाउन पनि भ्रष्टाचार हुन्छ ।’ -नागरिक दैनिकबाट