नेपालको पहिलो जीत, नेदरल्याण्ड १ रनले पराजित

काठमाडौं साउन १८। नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा नेदरल्याण्डलाई १ रनले पराजित गरेको छ । नेपालका लागि सन्दीप लामिछानेले तीन तथा ललित भण्डारीले दुई विकेट लिएपछि २१७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड २१५ रनमा अल आउट भयो ।

 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सोमपाल कामीको विष्फोटक ब्याटिङ र कप्तान पारस खड्काको अर्थशतक मद्यतमा २१६ रन बनाएको थियो ।

नेपाली टोलीले ४८.५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रनको योगफल तयार पारेको हो ।

 

नेदरल्यान्ड्सविरुद्धकै बुधबार भएको एक दिवसिय डेब्यू खेलमा राम्रो ब्याटिङ गर्न नसकेको नेपालका लागि दोस्रो खेलमा भने सामूहिक प्रदर्शन गरेको थियो । पहिलो खेलमा अर्धशतक बनाएका उपकप्तान ज्ञानेन्द्र मल्ल र आज मौका पाएका सुवास खकुरेलले पहिलो विकेटका लागि २९ रनको साझेदारी गरेका थिए ।

 

ज्ञानेन्द्रले २४ बलमा २ चौकाका साथ १३ रन जोडे । सुवासले ३३ बलमा ३ चौकासहित १९ रन जोडे । अनिल साह ४ रनमा आउट भए ।

 

पछिल्लो क्रमका ब्याट्सम्यान सोमपालले अर्धशतक पुरा गरेपछि नेपालको स्कोर २ सय रन नाघेको थियो । ४६ बल खेलेका सोमपालले ५ चौका र ३ छक्कासहित ६१ रन जोडेका थिए ।

 

दीपेन्द्रसिंह ऐरी १९, आरिफ शेखले १६ , सन्दीप लामिछानेले ८, रोहित पौडेलले ६, बसन्त रेग्मीले १ रन र ललित भण्डारी अविजित ४ जोडे ।