कामु प्रधानसेनापति थापाले कमाण्ड सम्हाले

काठमाडौं, साउन २५ । २५५ बर्षको इतिहास बोकेको नेपाली सेनाले बिहीबारबाट प्रधान सेनापतिमा पूर्णचन्द्र थापालाई पाएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्री अनिर्वाय अवकासमा जानु एक महिना अघि नै बिदामा बस्ने सैनिक परम्परा अनुसार बिहीबारबाट बिदामा बस्नु भएपछि कामु प्रधान सेनापतिको जिम्मेवारी थापाले पाउनु भएको हो ।

 

प्रधानसेनापति क्षत्रीले बिहीबार नै एक कार्यक्रमको आयोजना गरेर प्रधानसेनापतिको जिम्मेवारी थापालाई हस्तानतरण गर्नु भएको छ । यस अघि नै बसेको मन्त्रिपरिषदको बैठकले भदौ २४ अर्थात बिहीबारबाट कामु प्रधानसेनापतिको जिम्मेवारी थापालाई दिने निर्णय गरेको थियो ।

 

नेपाली सेनाभित्र अब्बल सेनाका अधिकृतको रुपमा चिनिनु भएका थापा संयुक्त राष्ट्र संघको अनुरोधमा सिरियाको गोलानहाइटमा फोर्स कमाण्डरको रुपमा समेत कार्यरत रहनु भएको थियो । २०३६ सालबाट सहायक सेनानीबाट नेपाल सेनामा प्रवेश गर्नु भएका थापाले कमाण्ड एण्ड स्टाफ कलेज नेपालबाटै गर्नुभएको थियो भने भारतबाट नेशनल डिफेन्स कोर्षको तालिम पुरा गर्नु भएको थियो ।

 

त्रिभुवन विश्वविद्यालयबाट सामाजिक विज्ञानमा स्नातक थापाले भारतको मद्रास विश्वविद्यालयबाट डिफेन्स एण्ड स्ट्राटेजिक स्टडीमा स्नातकोत्तर गर्नुभएको छ ।

 

अमेरिका लगायत बिभिन्न मुलुकबाट उच्चसैनिक तामिल प्राप्त गर्नु भएका थापाले सैनिक सचिव विभाग, सैनिक कल्याणकारी कोष, कार्यरथी विभाग, प्रवन्ध तथा सम्भार रथीको कार्यलय, शान्ति सेना सञ्चालन निर्देशनालय, बाहिनी, पृतना, बलाध्यक्षको कार्यलय, बलाधिकृतको कार्यलयलगायतका नेपाली सेनाभित्रका सबैजसो महत्वपूर्ण कार्यालयको कमाण्ड सम्हाली सक्नु भएको छ ।

लमजुङको गाउंशहरमा २०१७ सालमा भदौ १७ मा मध्यमबर्गिय परिवारमा जन्मनु भएका थापाका पुर्खाहरुपनि नेपाली सेनामा आवद्ध रहदै आउनु भएको थियो । कामु प्रधान सेनापति थापा बर्तमान प्रधान सेनापति क्षत्रीका नातेदार हुनुहुन्छ । -नेपाल समाचारपत्रबाट