कञ्चनपुर सदरमुकाम तनावग्रस्त,प्रहरी र प्रदर्शनकारी बीच झडप

 कञ्चनपुर, भदौ ६ । कञ्चनपुर सदरमुकाम भीमदत्तनगर आज पनि तनावग्रस्त रहेको छ । भीमदत्तनगरपालीका २ खोल्टीका १३ वर्षीय निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दा सडकमा ओर्लिएका छन् । स्थानीय बासिन्दाले भीमदत्त बजार क्षेत्रमा प्रहरी विरुद्ध चर्को नारावाजी गर्दै प्रदर्शन गरि रहेका छन ।

 

प्रहरीले सोमबार मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई हत्यारा भएको भन्दै सार्वजनिक गरेपछि स्थानिय बासिन्दाले मुख्य दोषिको खोजी गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

 

जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच केही समय अगाडी झडप समेत भएको छ । प्रहरीले प्रदर्शनकारीलाई हटाउनका लागि दुई सेल अश्रुग्यास प्रहार गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर सेटीले दुई जना प्रर्दशनकारीलाई नियन्त्रणमा लिइएको जानकारी दिए । अहिले पनि बजार क्षेत्रमा प्रर्दशन जारी रहेको छ ।

 

भीमदत्तबजार समेत आज पनि बन्द रहेको छ । बजार क्षेत्रका सबै पसल दुई दिन बन्द रहेका छन । पन्तको हत्या गरी शव उखु बारीमा फेला परे देखिनै निरन्तर रुपमा हत्यारा पत्ता लगाई कार्वाही गर्न माग गर्दै प्रदर्शन हुँदै आएको छ ।