पहिलो पटक बैतडीमा पशु कृतिम गर्भाधान प्रयोगशाला स्थापना

  

बैतडी, भदौ १२ । गाई र भैसीको नश्ल सुधारका लागि बैतडीमा पहिलो पटक कृतिम गर्भाधान प्रयोगशालाको स्थापना गरिएको छ।व्यावसायिक पशुपालनमा लागेका किसानहरुलाई उन्नत जातका गाईभैंसी उत्पादनमा सहयोग पुर्याउने उद्देश्य सहित प्रयोगशाला सञ्चालनमा ल्याइएको सामाजिक चेतना तथा विकास संघ साडाका कार्यक्रम संयोजक नागेन्द्र भट्टले जानकारी दिए । प्रयोगशालाबाट गाईभैसीमा कृत्रिम गर्भाधान गराइनेछ ।

 

स्थानीय नश्लका पशुबाट कम दुध उत्पादन हुने भएकाले नश्ल सुधारका लागि डिलाशैनी गाउँपालिका ६ गोकुलेश्वरस्थित गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा पहिलो पटक कृत्रिम गर्भाधान प्रयोगशाला सञ्चालनमा आएको छ ।

 

डिलाशैनी गाउँपालिका, गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज र सामाजिक चेतना तथा विकास संघ साडाले सञ्चालन गरेको आर्थिक विकास मार्फत विपद् जोखिम न्यूनीकरण परियोजनाको सहयोगमा प्रयोगशाला स्थापना भएको हो । ११ लाख बढीको लागतमा प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

 

जिल्लामा पहिलो पटक गाईभैसीमा कृत्रिम गर्भाधान गराउने उद्देश्य सहित प्रयोगशाला स्थापना भएको हो । प्रयोगशालामा नाइट्रोजन,उन्नत जातको सिमेन राखिने बताइएको छ । प्रयोगशाला स्थापना भएपछि डिलाशैनी र दोगडाकेदार गाउँपालिकामा घुम्ती सेवा समेत प्रदान गरिने भएको छ । यसका लागि दुईजना प्राविधिकको व्यवस्था गरिएको छ । जिल्लाका अन्य स्थानीय तहहरुले समन्वय गरेमा अन्य ठाउँमा समेत सेवा सञ्चालन गर्न सकिने जनाइएको छ ।

 

उन्नत जातका पशुहरुको उच्च मुल्य पर्ने, आहारा, गोठ सुधारको कमि तथा परम्परागत पशुपालन पद्धतिका कारण आफ्नो व्यवसायबाट फाईदा लिन नसकेका पशुपालक कृषकहरुले प्रयोगशालामा लगेर पशुहरुको गर्भाधान गराएर फाइदा लिन सक्नेछन् । १ गाई अथवा भैसीमा कृतिम गर्भाधान गरिएको सरकारी दर २५रुपैंया भएपनि प्राविधिक खर्च थप गरि प्रति पशु रु ३ सय लिने समझदारी भएको छ ।

 

प्रयोगशालामा डिलासैनी गाउँपालिकाका र आसपासका पशुपालक कृषकहरुले आफ्ना गाई तथा भैसीमा कृतिम गर्भाधान गराउन सक्ने गोकुलेश्वर कृषि तथा पशु बिज्ञान कलेजका प्रमुख प्रमानन्द जोशीले बताए ।

 

प्रयोगशाला गोकुलेश्वर कृषि तथा पशु बिज्ञान कलेजमा राखिएकाले बिद्यार्थीहरुलाई प्रयोगात्मकका लागी सजिलो भएको छ । प्रयोगशालालाई दिगो रुपमा सञ्चालन गर्न डिलासैनी गाउँपालिकाको निरन्तर सहयोग हुने गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले बताए ।

 

प्रयोगशाला सञ्चालनपश्चात प्रत्येक वडामा सुचना सम्प्रेषण गर्ने, पशु स्वास्थ्य शिविर संचालनका साथै जनचेतनाका लागि घरदैलो अभियान र प्राविधिक जनशक्ति परिचालन गरी कार्यक्रमको प्रभावकारीताको अनुगमन गरिने जनाइएको छ ।

 

 

यसअघि डिलाशैनीको डडियामा एउटा सामुदायिक संस्थाले बाख्रामा कृत्रिम गर्भाधानका लागि प्रयोगशाला सञ्चालनमा ल्याइसकेको छ । गाई र भैसीको नश्ल सुधारका लागि बैतडीमा पहिलो पटक कृतिम गर्भाधान प्रयोगशालाको स्थापना भएपछी किसानहरु हर्षित भएका स्थानिय बासिन्दा सुरेश श्रेष्ठले बताए ।

 

 

परियोजनाले जिल्लाको डिलाशैनि र दोगडाकेदार गाउँपालिकाका १० वटा समुदायमा दुग्धजन्य उत्पादन बृद्धि तथा पशुपालन ब्यवसाय प्रबर्धनका लागि बिगत ५ बर्ष यता किसानहरुलाई तालिम समेत दिँदै आएको छ ।