किन रोकियो प्रचण्डको भारत भ्रमण ,यस्ताे छ कारण

काठमाडौँ भदाै १४।नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को एक महिना अघि  तय भएको भारत भ्रमण अन्तिम समयमा आएर रोकिएको छ । काठमाडौँमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन अन्य राष्ट्र प्रमुख नेपाल आएको हुँदा प्रचण्डले अन्तिम समयमा आएर भ्रमण स्थगित गरेका हुन् ।

 

विदेशी पाहुनाहरुसँग भेटघाटको कार्यक्रम तय भएकोे र कार्यक्रम सफल बनाउनका लागि प्रचण्डले अन्तिम समयमा आएर भारत भ्रमण स्थिगित गरेका हुन् । भारतको हिन्दुस्तान टाइम्स पत्रिकाको वार्षिक उत्सव कार्यक्रमका लागि प्रचण्डलाई विशेष अतिथिको निमन्त्रणा आएको थियो । प्रचण्ड भोलि (शुक्रबार) भारत जाने कार्यक्रम थियो ।

 

यद्यपी उनको राजनीतिक भ्रमण कार्यक्रम भने कायमै रहेको छ । प्रचण्ड भदौ २२ देखि २७ सम्म भारतको राजनीतिक भ्रमणमा जाने कार्यक्रम छ । त्यसलगत्तै उनी साता व्यापी भ्रमणका लागि असोज १ गते चीन भ्रमणमा जानेछन् । पछिल्लो समय दोस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्डले भारत र चीनको भ्रमण गरेका थिए ।

 

भदौमा हुने भारत भ्रमणका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले द्विपक्षीय हित तथा नेपाल–भारत–चीनबीच त्रिदेशीय साझेदारीका विषयमा छलफल गर्नेछन् । प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्च नेतृत्वसँग भेट गर्नेछन् । प्रचण्डले गत जेठमा नै विकासका एजेण्डामा कुराकानी गर्न आफुलाई निम्तो आएको बताएका थिए ।