आन्दोलनरत चिकित्सकलाई वार्तामा आउन आग्रह

काठमाडौँ, भदौ १७ । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले फौजदारी संहिताका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै हडतालमा उत्रिएका चिकित्सकलाई विरोधका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरेका छन् ।

 

आइतबार आयोजित साक्षात्कारमा उनले आफ्नो असहमतिका कुरा वार्ताको टेबुलमा बसेर समाधान गर्न सकिने बताउँदै उपचारका लागि आएका बिरामीलाई अलपत्र नपार्न तथा नियमित सेवा प्रदान गर्न अनुरोध गरे ।

 

स्वास्थ्यकर्मीको मागमा सहजीकरण गर्न मन्त्रालय तयार रहेको बताउँदै राज्यमन्त्री यादवले जनस्वास्थ्य सेवा सम्बन्धमा बनेको विधेयक संसद्मा दर्ता भइसकेको र त्यसले स्वास्थ्यकर्मीको माग सम्बोधन हुने बताए ।

 

सांसद कृष्णभक्त पोखरेलले कसैको ज्यान लिने वा अङ्गभङ्ग गर्ने नियतले काम गर्ने चिकित्सकलाई मात्र लक्षित गरी यो कानून आएको स्पष्ट गरे । रासस