आज देशभर प्रर्दशन हुदै निर्मलाको निम्ति न्याय’ माग्दै

काठमाडौं–कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विरोधमा आज देशैभरी प्रर्दशन हुंदैछ । पन्तको हत्या भएको दुई महिनाभन्दा बढी भएपनि अझै प्रहरीले अपराधी पक्राउ गर्न सकेको छैन् ।

 

पन्तलाई न्याय दिन भन्दै देशभर दिन दिनै प्रर्दशन भइरहेको छ । पछिल्लो पटक प्रहरी महानिरीक्षक खनाल र गृहमन्त्री रामबहादुर थापाका अभिव्यक्तिले सरकार अफ्ठेरोमा परेको छ ।डिएनए परिक्षणबाट हत्याको अभियोगमा पक्राउ परेका दिलिप विष्ट निर्दोष सावित भएपछि गृहमन्त्री र आईजिपीले राजिनामा दिनुपर्ने आवाज पनि उठिरहेको छ ।

 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी एसियाकै पहिलो भएको बताएपनि पछिल्लो समय प्रहरी विवादमा मुझिएको छ । बलात्कार र हत्यामा संलग्नको खोजी गरीरहेका प्रहरी र घटनाको अनुसन्धानमा खटिएकाहरुबीच नै तालमेल नभएको बताइएको छ ।

 

पन्तको न्याय र दोषीलाई कारबाहीको माग गर्दै शनिवार देशव्यापी प्रदर्शन हुंदैछ । ‘निर्मलाको निम्ति न्याय’ भन्दै देशका १५ भन्दा धेरै जिल्लामा एकैपटक दबाब भेला आयोजना हुन लागेको हो । बलात्कारविरुद्ध आवाज उठाउन काठमाडौंको माइतीघर मण्डलामा दिउंसो १ बजे प्रदर्शन हुंदैछ ।

 

यस्तै गाईघाटको पिपलचोकमा बिहान ८ बजे, मेलम्ची, हेलम्बु बसपार्कमा दिउंसो १ बजे, भरतपुरको चौबीसकोठीमा साँझ ५ बजे, नेपालगञ्जमा दिउंसो १ बजे, पोखराको मानवअधिकार चोकमा दिउंसो १ बजे, पांचखाल काभ्रेको समाजकल्याण चोकमा बिहान ८ बजे, राजबिराजको भगवती मन्दिर नजिकै दिउँसो १ बजे निर्मलाको पक्षमा प्रदर्शन हुंदैछ ।

 

यस्तै, इनरुवाको लोकतान्त्रिक चोकमा दिउंसो १ बजे, इटहरीको रेयूकाई चोकमा दिउंसो १ बजे, धरानको भानु चोकमा दिउंसो १ बजे, विराटनगरको ट्राफिक चोकमा दिउंसो १ बजे, तथा बिराट चोकमा दिउंसो १ बजे, दमकको दमक चोकमा दिउंसो १ बजे, झापाको अर्जुनधारामा दिउंसो १ बजे र कँंकरभिट्टाको हनुमान मन्दिरमा बिहान ९ बजे प्रदर्शन हुंदैछ ।