निर्मला हत्या प्रकरण : प्रहरी अनुसन्धान नै उल्टो

महेन्द्रनगर भदाै ३०। निर्मला पन्तको बलात्कारपछि हत्या घटना प्रकरणमा जिल्ला प्रहरी सुरुदेखि नै विवादित रह्यो। साउन १० गतेको उक्त घटनाको सत्य–तथ्य पत्ता लगाउन केन्द्रीय अनुसन्धान ब्युरोले चौथो दिन टोली पठायो।

 

त्यसप्रति पीडित परिवारको भरोसा थियो। तर, उसले पनि निर्दोषलाई फसाएर जिल्ला प्रहरीलाई सहयोग पुग्ने तरिका अपनायो।  करिब ३ साता लामो ‘अनुसन्धान’ पछि भदौै ४ गते स्थानीय दिलीपसिंह विष्टलाई दोषी किटान गर्दै सार्वजनिक गर्‍यो।

 

त्यसमा जानकार र स्थानीयबासीले विश्वास गरेनन्। यति बेला डीएनए परीक्षणको प्रतिवेदनले पनि त्यही देखायो। विष्ट निर्दोष सावित भएर छुटिसकेका छन्। बरु तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट (हाल निलम्बित), उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयरका भतिजा आयुष विष्टको डीएनए परीक्षण गरिएको छ। परिणाम आउन बाँकी छ।

 

घटनाको गहन र संवेदनशील भएर अनुसन्धान गर्न सीआईबीका डीएसपी अगुंर जीसीको नेतृत्वमा खटिएको टोलीले गम्भीर रुपमा नलागेको देख्ने÷जान्नेहरू बताउँछन्। ‘सीआईबीको टोली बिहानै बाहिर निस्कन्थ्यो, साँझपख प्रहरी प्रमुख र उनीहरुबीच छलफल हुने गथ्र्यो’, जिल्ला प्रहरी स्रोतले भन्यो, ‘सीआईबीको टोली खटिए पनि अनुसन्धानमा तत्कालिन प्रहरी प्रमुखकै प्रत्यक्ष निगरानी थियो। उनले जे भन्यो, त्यही गर्‍यो टोलीले।’

 

साउन १० गते साथी रोशनी (आँचल) बमको घरमा होमवर्क गर्न गएकी १३ वर्षीया निर्मलाको साउन ११ गते भीमदत्त नगरपालिका २ र १८ को सीमामा पर्ने निम्बुखेडा खोलामा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटियो। प्रहरीले ११ गते नै शवको मुचुल्का गरी घटनास्थलबाट उठाएर पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राख्यो। तत्कालिन प्रहरी नेतृत्वले संगठनसंगको समन्वयमा सीआईबीको टोली मगायो। र अनुसन्धान अघि बढ्यो।

 

साउन १३ गते महेन्द्रनगर पुगेर अनुसन्धान थालेको सीआईबी टोलीले घटनास्थलको अध्ययन र पीडित परिवार भेटे लगत्तै उसको अनुसन्धान कारागारबाट सजाय काटेर बाहिर निस्केकाहरुमा केन्द्रीत देखियो। ‘त्यही क्रममा दिलीपसिंह विष्टलाई फसाउने नियत बन्यो’।

 

स्थानीय बासिन्दाको बुझाइ पनि त्यस्तै रह्यो। ‘सीआईबी नै अपराधी खोज्नभन्दा कमजोर वा फसाउन सकिने मान्छे खोज्नतर्फ लाग्यो’, स्थानीय अम्बादत्त तिवारीले भने, ‘जिल्लाको प्रहरी नेतृत्वकै चङ्गुलमा सीआईबी समेत पर्दा उसको भूमिका शंकास्पद रह्यो।’ जिल्ला प्रमुख एसपी भएकाले त्यसभन्दा माथिल्लो अधिकृतको नेतृत्वमा सीआईबीको टोली पठाएको भए अनुसन्धानले सहि दिशा लिन सक्थ्यो कि भन्ने उनको अनुमान छ। ‘डीएसपी कमाण्डमा आएको टोली एसपीकै प्रभावमा पर्‍यो।’

 

उनलाई साउन २१ गते प्रहरीले सामान्य सोधपुक्षका लागि भन्दै लगेर ११ दिनसम्म यातना दिएर राखेको थियो। सार्वजनिक मुद्दा चलाइएका उनलाई ३१ गते प्रमुख जिल्ला अधिकारीले ५ हजार रुपैयाँ धरौटीमा छाडिदिएका थिए। आफूलाई यातना दिनेमा मुख्य भूमिका सीआईबी नेतृत्वकै टोलीको रहेको उनी बताउँछन्। उनको स्वास्थ्य कमजोर बनेको छ। सुतेको समयमा बरबराउने समस्या देखिन थालेको छ।

 

अनुसन्धानकाकै क्रममा सीआईबी र प्रहरीको चरम यातना भीमदत्त नगरपालिका–२, उल्टाखामकी १८ वर्षीया हेमन्ती भट्टले पनि भोगिन्। उनलाई ६ दिनसम्म प्रहरीले निकै दुःख दियो। ‘बिना कारण अनेकौं धम्की दिएर घटनाबारे तलाई थाहा छ भन् भन्दै यातना दिए’, उनले भनिन्, ‘काठमाडौंबाट आएको सिआईबीका मानिसले नै घरबाट सोधपुक्ष गर्नु छ भन्दै लगे।’ उनीहरुले घटनाबारे नबताए जिन्दगी नै बर्बाद पारिदिने भन्दै यातना दिएको उनी बताउँछिन्।

 

मानसिक र शारीरिक यातनाले छोरी निकै तनाबमा छिन्’, बुबा गोकलेश्वर भट्टले भने, ‘निर्दोषलाई फसाएर वाकस्तविक अपराधि जोगाउन खोज्ने ती प्रहरी सबैलाई कारबाही हुनुपर्छ।’

 

सीआईबीका डीएसपी अगुंर जीसीको नेतृत्वमा प्रहरी निरीक्षक गणेश सापकोटा र प्रहरी नायव निरीक्षक धर्मेन्द्र राई अनुसन्धानमा खटिएका थिए। साउन १३ गते महेन्द्रनगर पुगेर अनुसन्धान गरिरहेको सीआईबीको टोली भदौं ९ गते राति महेन्द्रनगरबाट फिर्ता भएको थियो।

 

प्रहरीको नयाँ नेतृत्व र सीआईबीको नयाँ टोलीले घटनाको सुक्ष्म र गहन अनुसन्धान गरिरहेको अनुसन्धान अधिकृत डीएसपी कृष्णराज ओझा बताउँछन्। ‘संयुक्त रुपमा अहिले हाम्रो अनुसन्धान केन्द्रीत छ’, उनले भने, ‘सीआईबीको टोलीले अनुसन्धानमा ठूलो सहयोग मिलेको छ।’

 

घटनासँग जोडिएका शुरुका कतिपय प्रमाण नष्ट भइसकेका कारण अनुसन्धानमा केहि कठिनाई भए पनि निकै मसिनो तरिकाले काम भइरहेको प्रहरी स्रोत बताउँछ।

घटनास्थल अपत्यारिलो

‘साउन १० गते दिउँसो २।३० देखी ३ बजेको समयमा बालिकाको बलात्कारपछि हत्या भएको देखिन्छ’, भदौं ४ गते प्रहरीले मुख्य अभियुक्त बनाएका दिलीपसिंह विष्टलाई सार्वजनिक गर्दै तत्कालिन निलम्बित एसपी डिल्लीराज विष्टले भनेका थिए। साथी रोशनी बमकै बयानलाई आधार मान्ने हो भने निर्मला दिउँसो २ बजे उनको घरबाट निस्केकी थिइन्। प्रहरीले सार्वजनिक गरेको समय र रोशनीले बयानमा भनेको समयमा ३० मिनेटको मात्रै फरक देखिन्छ।

 

महेन्द्रनगर बजारदेखि निर्मलाको शव फेला परेको दुरी करिब साढे २ किलोमिटरको आसपासमा छ। अझ नजिकै नेपाली सेनाको २५ नम्बर बाहिनी छ। यस्तो ठाउँमा दिउँसै बलात्कार हत्या सम्भव नहुने धेरैको बुझाइ छ। जिल्ला प्रहरी प्रमुख एसपी कुबेरसिंह कडायत कुन ठाउँ कति संवेदनशिल हो-होइन भन्दा पनि अपराधी पत्ता लगाउनु महत्वपूर्ण हुने बताउँछन्। निर्मलाको शव पाइएको उखुबारी क्षेत्र भीमदत्त नगरपालिका २ उल्टाखाम र भीमदत्त नगरपालिका १८ का मानिसहरुको बाक्लो ओहोर दोहोर गर्ने सडक हो।  आजको अन्नपूर्णपोष्टबाट।