नारायणगड-मुग्लिन सडक खण्डबाट दशौंको मुखमा यस्तो आयो खबर, के छ त नाका आवत जावतको विकल्प ?

चितवन, असोज ८ । नारायणगढ–मुग्लिन सडकखन्डको निर्माण सकिन नपाउँदै तीन ठाउँमा भासिएको छ । ती ठाउँमा सवारी एकतर्फीमात्रै सन्चालनमा आएका छन् ।

 

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालकाअनुसार पछिल्लोपटक नारायणगढबाट २६ किलोमिटर दूरीमा रहेको भालुढुंगामा ७५ मिटर लामो सडक भासिएको छ ।

 

सो ठाउँमा पाँच मिटर चौडा भासिएको हो । करिब २० सेन्टिरमिटर भासिएको छ ।

सडक विस्तार गर्दा छेउपट्टीबाट पर्खाल लगाइएको थियो । फेदबाट त्रिशूलीको बहावले धक्का दिइरहेकाले भासिनुका कारण थाहा हुन सकेको छैन ।

 

सोही सडकको १७ किलोमा ४० मिटर भासिएको छ । सो ठाउँमा वि.सं. २०६० मा ‘स्वायल रक एंकरिङ’ गरिएको थियो । एंकरिङले काम गर्न छाडेपछि भासिएको अनुमान गरिएको छ ।

 

सडक ६ मिटर चौडाइ र दुई मिटर गहिराइ भासिएको छ । वर्षात्को समय भएकाले अहिले नै के गर्ने भन्ने विषयमा निर्णय लिन नसकिएको बिसुरालले बताए ।

 

नारायणगढबाट ८ किलोमिटरको दूरीमा रहेको भतेरीमा ५० मिटर सडक भासिएको छ । सो ठाउँमा १.५ मिटर चौडा सडक भासिएको छ ।

‘ग्याभिनवाल’ लगाएर सडक विस्तार गरिएको थियो । पर्खालसमेत लच्किएर बसेको छ । माटो भरेका कारण पुनः तलबाटै बनाउनुपर्ने सुझाव प्राविधिकले दिएका छन् ।

 

तीनओटै ठाउँमा ठेकेदार कम्पनीको बिमा हुने भएकाले काम सुरु भएको छैन ।

परामर्शदाता कम्पनीका विज्ञ समूहले सडक भासिनुका कारण अध्ययन गरिरहेको बिसुरालले बताए ।

सडक निर्माणको कार्य हालै सम्पन्न भएपनि एक वर्षसम्म बिग्रे–भत्केमा निर्माण कम्पनीले नै गर्नुपर्ने हुन्छ ।

 

सो सडकलाई तीन भागमा विभाजन गरेर ठेक्का दिइएको थियो । तीनओटै ठेकेदार कम्पनीका क्षेत्रमा सडक भासिएको हो । ती ठाउँ र भासिएका ठाउँमा एकतर्फीमात्रै सवारी गुडेका छन् । रासस