अरूलाइ दशैँकाे चटारो हुम्लाका किसानलाई कामको चटारो

हुम्ला कार्तिक ०२। नेपालीको महान् पर्व बडादशैँका बेला हुम्लाका बासिन्दाले दशैँलाई भन्दा पनि कामलाई बढी महत्व दिने गरेका छन् । दशैंका बेला गाउँघरमा किसानलाई कात्तिके कामले छोएको छ ।

 

यति बेला दशैँसँगै कात्तिके बालीनाली भित्र्याउने समय पनि भएकाले दशैँलाई ओझेलमा पारेको चङ्खेली गाउँपालिकाका भक्तराज ऐडीले बताए । हिमाली जिल्ला हुम्लामा एक बाली मात्र खेती हुने र छ महीनाको खेतीपातीले अर्को छ महीनासम्म पु¥याउनु पर्ने भएकाले यतिखेर यहाँका खेतीपातीमा लगाइएको कोदो, मकै, फापर, आलुजस्ता अन्न भित्र्याउन स्थानीयवासी व्यस्त छन् । कृषक बिहान ४ बजे उठेर खेतबारीको तुलफल टिप्ने र राति ८(९ बजे घर फिर्ता हुने गरेको उनले जानकारी दिए ।

 

वर्षमा एकचोटी आउने चाडमा पनि वैशाख, जेठमा लगाएका बालीनाली समयमै घर नभित्र्याउँदा बारीमै कुहिने चिन्ताले पनि यहाँका किसानले दशैँभन्दा महत्व कात्तिकको कामलाई दिने गरेको सिमकोट गाउँपालिका–२ ठेहेका हेमन्त बोहराले बताउनुभयो । यति बेला पाकेका फलफूल समयमै घर नभित्र्याए चरा– चुरुङ्गीले खाने र पाकेको फल झरेर खेर जाने भएकाले पनि यहाँका कृषक व्यस्त भएका हुन् ।