सङ्घीयताको लाभ जनतालाई हस्तान्तरण गर्नुपर्छः मुख्यमन्त्री शाही

सुर्खेत, कात्तिक २ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीयताको लाभ जनतालाई हस्तान्तरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।नेपालीहरुको महान् चाड विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले तीव्र आर्थिक तथा भौतिक विकास गरी सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

 

मुख्यमन्त्री शाहीले कर्णालीमा रहेका प्रचुर प्राकृतिक स्रोत–साधनको सदुपयोग गर्दै जनता र नेतृत्वको तीव्र इच्छाशक्ति एवम् कडा मेहनतबाट छोटो अवधिमै समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

 

“सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन आवश्यक कानून संरचना र योजना निर्माणमा सरकार लागिपरेको छ”, उहाँले भन्नुभयो, “यसका लागि हाम्रा मौलिक परम्परा कला–संस्कृति चाडपर्वले एकताबद्ध भएर प्रदेश निर्माणमा अघि बढ्न प्रेरणा मिल्नेछ ।”

 

मुख्यमन्त्री शाहीले केन्द्रीकृत शासन प्रणालीको विकल्पमा जनअपेक्षाबमोजिम लागू भएको सङ्घीय शासन प्रर्णालीलाई सफल पार्नसमेत सबैमा आग्रह गर्नुभयो । रासस