पूर्वराष्ट्रपति महिन्दा राजपाक्ष प्रधानमन्त्रीमा नियुक्त,श्रीलंकामा अचानक बदलियो सत्ता समिकरण


एजेन्सी । श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षलाई राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । यसअघि प्रधानमन्त्री पदमा रानिल विक्रमासिंघे थिए । श्रीलंकाको नाटकीय घटनाक्रमबाट संवैधानिक संकट सिर्जना भएको बताइएको छ ।

शुक्रबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाको पार्टी श्रीलंका फ्रिडम एलाइन्सले प्रधानमन्त्री रनिल विक्रमसिंगेको सरकारबाट बाहिरिने निर्णय गरेपछि दक्षिण एसियाली टापु राष्ट्रको राजनीति बदलिएको हो। युनाइटेड नेशनल पार्टीका नेता रनिल सन् २०१५ देखि श्रीलंकाका प्रधानमन्त्री थिए। पार्टीको उक्त निर्णयको केहीबेरमै राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री रनिललाई बर्खास्त गरे। राजनीतिक घटनाक्रम तीव्र रूपमा विकसित भयो।

 

रनिललाई बर्खास्त गरेको केही समयमै सिरिसेनाले पूर्वराष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्रीको सपथ खुवाए। श्रीलंकाली सञ्चारमाध्यमका अनुसार यी दुई पार्टीबीच गत फेब्रुअरीमा भएको स्थानीय चुनाव यता विवाद बढ्दै गएको थियो। आर्थिक नीति र दैनिक प्रशासनिक काममा पनि दुई दल टाढिँदै गएका थिए।

 

विक्रमासिंघेले संसदमा आफ्नो बहुमत रहेको र बहुमत रहुन्जेल आफू नै प्रधानमन्त्री रहिरहने बताएका छन् । पछिल्लो केही हप्ता श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीबीच सरकार चलाउने विषयमा रस्साकस्सी चलिरहेको थियो ।

 

सन् २००५ देखि २००१५ सम्म श्रीलंकाका राष्ट्रपति भएका राजापाक्ष सन् २००४ मा एक वर्षका लागि पहिलो पटक प्रधानमन्त्री बनेका थिए। सन् २०१५ को चुनावमा पनि राजापाक्ष राष्ट्रपतिका उम्मेदवार थिए। उनकै मन्त्रिमण्डलका सदस्य रहेका सिरिसेनाले चुनावको केही दिनअघि मन्त्रीबाट राजीनामा दिए र चुनावमा राजापाक्षेलाई हराए। तीन वर्षपछि उनै सिरिसेनाले राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।