क्रान्तिकारी माओवादीको केन्द्रीय आवासीय प्रशिक्षक प्रशिक्षण अाजबाट काठमाडाैमा सुरु

काठमाडौं कार्तिक ११  । नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टी केन्द्रीय स्कुलिङ विभागको आयोजनामा आइतबार काठमाडौंमा प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समुद्घाटन गरेको छ । पार्टी महासचिव मोहनवैद्य ‘किरण’ द्वारा पार्टी केन्द्रीय कार्यालय वुद्धनगरमा उद्घाटित उक्त कार्यक्रम कात्तिक ११ गतेदेखि १७ गते सातदिनसम्म आवासीय रुपमा चल्ने बताइएको छ ।

 

प्रशिक्षण कार्यक्रमको उद्घाटन मन्तव्यका क्रममा सात दिनसम्म हुँदै गरेको यो प्रशिक्षक प्रशिक्षणको ठूलो र दीर्घकालीन महत्व रहेको भन्दै महासचिव किरणले विश्वमा कम्युनिज्म समाप्त भएको भन्ने भ्रम परिरहेको र नेपालमा नामधारी कम्युनिस्टहरु बहुमतको जनादेशसहित सरकारमा आएर केही पनि गर्न नसकिरहेको अर्को भ्रम परिरहेको अवस्थामा यो वैचारिक प्रशिक्षण कार्यक्रम हुन लागिरहेको बताएका थिए । यो प्रशिक्षण मुख्यतः विचारमा आधारित भएकाले ‘आइडियोलोजी’ लाई प्रशिक्षणमार्फत् ‘हेडोलोजी’ मा रुपातन्तरण गरिने कुरामा जोड दिंदै नेता किरणले यो प्रशिक्षण वर्ग र वर्गीय कुरामा आधारित रहेको बताए ।

 

महासचिव किरणका अनुसार विचारधाराका हिसाबले नेपालमा हालसम्म पुरातनपन्थी, प्रतिक्रियावादी, पुँजीवादी स्कुलिङ पनि अस्तित्वमा रहेका छन् । तर हाल यी किनारा लाग्दै पनि गइरहेका छन् भन्दै जनताका माझमा रहेका कम्युनिस्ट भन्नेहरुमा पनि विभिन्न स्कुलिङहरु रहेको कुरामा जोड दिएका थिए । यिनमा पतनभई प्रतिक्रियावादमा परिणत भएका घोर दक्षिणपन्थीहरुको ओली–दाहालको नेकपा स्कुलिङ, क्रान्तिका कुरा गर्ने तर क्रान्ति कहिल्यै नगर्ने मध्यपन्थी मसालको मोहनविक्रम स्कुलिङ र माक्र्सवाद नै पुरानो भयो भनेर माक्र्सवादको सारतत्वमाथि हमला गर्दै नयाँ माक्र्सवादी जलप दिनखोज्ने नव वा उत्तर माक्र्सवादी रमेश सुनुवारहरुको स्कुलिङ रहेको बताएका थिए । यिनीहरुले रुपमा जाँदा कम्युनिस्ट पार्टीको क्लास दिने, तर वर्गीय पार्टी र वर्गीय पक्षधरता सिद्धिएको भनेर माक्र्सवादी सारतत्वमाथि हमला गर्ने र यसलाई भ्रष्टिकरण गर्ने भनी किरणले जोड दिएका थिए ।

 

यस बाहेक कम्युनिस्ट स्कुलिङ भनेको नेकपा (क्रान्तिकारी माओवादी) को स्कुलिङ हो भन्दै महासचिव वैद्यले क्रान्तिकारीहरुमा पनि मुखले भन्दा कम्युनिस्ट भन्ने तर अध्ययन नगर्ने समस्या रहेको कुरामा जोड दिएका थिए । सातदिनसम्म चल्न गइरहेको आवासीय स्कूलिङको मुख्य उद्देश्य भनेको महासचिव किरणको भनाइमा माक्र्सवादका तीन मुख्य संघटक अंगहरु जस्तै दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा, आजको नेपालको सन्दर्भमा क्रान्तिकारीहरुलाई चाहिएका र खोजेका कुराहरु केके हुन् यिनका बारेमा अध्ययन र अनुसन्धान हो ।

प्रशिक्षक प्रशिक्षणका लागि केन्द्रीय पार्टी स्कुलिङका अध्यक्ष परि थापाले देशका सातवटै प्रदेशहरुबाट ३० जनालाई केन्द्रीय प्रशिक्षार्थीहरुका रुपमा छनोट गरिएको र त्यसमा पार्टीका केन्द्रिय समिति सदस्य तथा जिल्ला पार्टीका सेक्रेटरीहरु रहेको बताए । यो प्रशिक्षण कार्यक्रम नियमित स्कूलिङ नभएको तर देशभर स्कुलिङ र प्रशिक्षणका लागि प्रशिक्षकहरु तयार पार्ने ध्येयका साथ आयोजना गरिएको कुरामा जोड दिंदै जहाँ पनि र जहिले पनि जान सक्ने तयारी हालतमा रहने दक्ष र योग्य प्रशिक्षकको निर्माण हुने आशा व्यक्त गरेका थिए ।

 

थापाले ‘साउण्ड हेल्थ साउण्ड माइण्ड’ भने झैं वैचारिक र भौतिक दुवै रुपमा प्रशिक्षणको सोच बनाइए पनि हालका लागि यो वैचारिक रुपमा अलि बढी केन्द्रित गरिएको बताए । प्रतिक्रियावादीहरुले क्रान्तिकारी हरुलाई वैचारिक तथा भौतिक रुपमा चारैतिरबाट आक्रमण गरिरहेकाले त्यसको प्रतिरोधका लागि गरिइरहेका तयारीहरुमध्ये यो सबैभन्दा ठूलो वैचारिक तयारी रहेको बताउँदै उनले क्रान्तिकारीहरु ती प्रतिक्रियावादीहरुभन्दा श्रेष्ठ बन्नुपर्ने आवश्यकता आएको कुरामा जोड दिएका थिए ।

 

सञ्चालक तथा केन्द्रीय स्कुलिङ विभागका सदस्य हस्तबहादुर केसीले स्कुलिङलाई व्यवस्थित गर्न, विचारअनुसार बुझाइमा एकरुपता ल्याउन यो कार्यक्रम चलाइएको भन्दै पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन अभियानको अन्त्य हुनलाग्दाको अवस्थासँगै यसलाई जोडिएकोे कुरामा जोड दिएका थिए ।

 

कार्यक्रमका अतिथिहरुमा क्रान्तिकारी माओवादीका महासचिव मोहनवैद्य ‘किरण’, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, स्थायी समिति सदस्य रामसिंह श्रीस, केन्द्रीय स्कुलिङ विभागका अध्यक्ष परि थापा, पीवीएम् सीताराम तामाङ, ईन्द्रमोहन सिग्देल ‘वसन्त’, सल्लाहकार ओम गुरुङ, वुद्धिजीवी अध्यक्ष हुकुम बहादुर सिंह, प्राध्यापक जगदीशचन्द्र भण्डारी लगायतका जिम्मेवार नेताहरु रहेका थिए ।