रहस्यमय गतिविधि पूर्व माओवादी प्रचण्डको साथ छोड्दै

काठमाडौं कार्तिक १३  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धेरै विश्वासिला नेता होइनन् भन्ने विश्लेषण नेपाल भित्र मात्र होइन, बाहिरी मुलुकमा पनि गरिन्छ । छलाड्ड मार्न, छिनमै कोल्टे फेर्ने, छिनमै रंग फेर्न सक्ने चतुर नेतामा पर्छन् प्रचण्ड । त्यसैले कहिले चर्को भारतविरोधी देखिने प्रचण्ड कहिले भारत परस्त देखिन्छन् ।

 

अनि कहिले प्रधानमन्त्री केपी ओलीको प्रवक्ता झैं देखिन खोज्ने प्रचण्ड कहिले प्रखर विरोधी जस्ता पनि देखिन्छन् । अर्थात् प्रचण्ड स्थिर र विश्वासको राजनीति गर्दैनन् भन्ने विश्लेषण नेकपा भित्र हुने गर्छ । अनि राजनीति शास्त्रीहरू पनि पीँद नभएको लोटा जस्तो भनेर प्रचण्ड प्रति ब्यंग्य पनि गर्ने गर्छन् । यो सब उनको शैली र विगत देखिको व्यवहारले आर्जन गरेको सम्पत्ति हो । अहिले केही साता यताका उनका गतिविधिले पनि नेकपा भित्र यस्तै विश्लेषण र टिप्पणी हुन थालेको छ ।

 

खासगरी प्रचण्डको दुई चोटीको भारत भ्रमणले धेरै प्रश्न उठाएको छ । पहिलो भारत भ्रमणका क्रममा उनले बोलेको प्रतिक्रियाले आन्तरिक मात्र होइन बाह्य राजनीतिमा तरंग ल्यायो । नेतृत्वको आलोपालो देखि संविधान संशोधन लगायतका धेरै विवादास्पद कुरा भारतमा बोलेका थिए र भारतीय नेताहरूलाई पनि साथ लिएको बताए । अर्थात् साक्षीकारुपमा भारतीय नेतालाई प्रस्तुत गर्न खोजे ।

 

भारत भ्रमणपछिको सिंगापुर भ्रमणले तरंग नै ल्यायो । यो पूर्व तयारी सहितको रहस्यमय भ्रमण थियो भनेर पनि टिप्पणी हुन थालेको छ । सिंगापुरबाट फर्केपछि वामदेव गौतमलाई उपनिर्वाचनबाट संसदमा ल्याउने प्रयासमा प्रचण्डले एउटा तीरले दुई शिकार गर्न खोजेका थिए । अर्थात् पूर्वएमाले भित्रको एउटा ठूलो पंक्तिलाई साथ लिने र केपी ओली माथि दबाब बढाउने । तर, त्यो प्रचण्डका लागि प्रति उत्पादक बन्न गयो ।

 

गौतम प्रकरणबाट सेट ब्याक खाएका प्रचण्ड दशैं लगत्तै २०७५ कार्तिक ९ गते भारत भ्रमणका गए । हुन त यो एक दिनको यात्रा थियो । तर, भारतीय नेताहरूसंग नजिक हुने मौका पनि थियो । प्रचण्डलाई लिन एयरपोर्टमा पुगेका थिए भाजपाका राष्ट्रिय महासचिव तथा शक्तिशाली नेता राम माधव । राम माधव भारतीय जनता पार्टीका महासचिव तथा इन्डिया फाउन्डेशनका निर्देशक हुन् । उनी उनी राष्ट्रिय स्वयम्सेवक संघ र सरकार बीचको पुलको काम गर्ने भाजपा भित्र प्रभावशाली नेतामै पर्छन् ।

 

उनीसंगको साँठगाँठ र उठवसबाट प्रचण्डले भारतीय संस्थापनसंग सम्बन्ध थप गाढा बढाउन प्रयास गरेको बुझिन्छ । हुन पनि केही समय पहिला नेपाली पत्रकारसंग प्रचण्डले भारतलाई चिढ्यानु आफ्नो कमजोरी भएको त्यो कमजोरी प्रति पश्चाताप भएको बताएका थिए । त्यसपछि उनी निरन्तर भारतीय नेताहरूसंग निकट सम्बन्ध राख्न खोजिरहेका छन् ।

 

यही बीचमा श्रीलंकाको राजनीतिक समीकरण पनि निकै उत्तर चढावपूर्ण भएको छ । श्रीलंकाको राजनीतिक परिवर्तन भारतीय प्रभाव र खेलमा भएको विश्लेषण भइरहेको छ । पूर्वराष्ट्र पति महिन्द्रा राजापाक्ष प्रधानमन्त्री हुनुमा भारतीय प्रभाव नै हो भन्न थालिएको छ । जबकि उनीमाथि चीन परस्तको आरोप विगतमा लाग्दै आएको थियो ।

 

भारतीय जनता पार्टीका नेता तथा राज्यसभा सदस्य सुव्रमण्यम् स्वामीले भारतीय प्रभावमा राजापाक्ष प्रधानमन्त्रीको भएको संकेत गरेका छन् । सार्क मुलुकहरूमा यी सब राजनीतिक चलखेल भइरहेका बेला प्रचण्डको चलखेल अस्वभाविक ठानिएको छ । भारतसंग दोस्ती बनाएर सत्तारोहणको सपना देखेको आरोप खेप्दै आएका प्रचण्डको भारतसंगको भूमिका शंकास्पद रहेकै कारण उनी विवादमा पर्दैछन् ।

 

अहिले प्रचण्ड नेकपा भित्र रहस्मय नेताका रुपमा देखा परेका छन् । प्रचण्डको सिंगापुर भ्रमण लगत्तैै वामदेव गौतम प्रकरण उचालियो । गौतमलाई उप निर्वाचनबाट ल्याएपछि केपी ओली विरुद्ध खेल्ने रणनीति बनाएको आरोप खेपेका प्रचण्डको त्यो ग्राण्ड डिजाइन फेल भएको छ । सामाजिक सञ्जाल र नेकपाका कार्यकर्ताले नै चर्को असन्तुष्टि जनाए पछि गौतम काठमाडौं ७ को उपनिर्वाचनमा नलड्ने अवस्था सिर्जना भयो ।

 

वामदेव प्रकरण भन्दा अघिल्लो दिनसम्म सरकारले काम गर्न नसकेको र मन्त्री फेरबदल गर्नुपर्ने तर्क गरिरहेका प्रचण्डले पछिल्लो दिनमा सरकारले गरेका राम्रा कामको फेहरिस्त लगाउदै हिंडेका छन् । अर्थात् सरकारप्रति सकारात्मक सन्देश दिन थालेका छन् । यो रहस्य पनि बुझिनसक्नुको भएको टिप्पणी नेकपाभित्र हुने गरेको छ ।

 

यसले प्रचण्डलाई नेकपाभित्र फाइदाभन्दा बढी घाटा गराउन सक्छ । जस्तो नेकपा भित्र पूर्व माओवादी प्रचण्डको साथ छोड्न थालेका छन् । केही सांसद, नेताहरू माधव नेपाल र केही केपी ओलीनिकट देखिन थालेका छन् । जनार्दन शर्मा प्रधानमन्त्री ओलीनिकट देखिन थालेको धेरै भयो भने देवेन्द्र पौडेल माधव नेपालनिकट देखिन्छन् । माधव नेपालको चियापानको हर्ताकर्ता पौडेल नै थिए । उनी गण्डकी प्रदेशको इञ्चार्जका दावेदार थिए । ओलीले आफु निकटका पृथ्वीसुव्बा गुरुङलाई नै दिए । यसरी हेर्दा प्रचण्ड आफ्नै पुरानो गुटमा एक्लो पर्दैछन् । साँघु साप्ताहिक