बलात्कारी र भ्रष्टाचारीलाई फाँसीको सजाय हुनुपर्छ, सांसद यज्ञराज सुनुवार


काठमाडौँ कार्तिक १३। सत्तारुढ दल नेकपाका नेता तथा सांसद यज्ञराज सुनुवारले बलात्कारी र भ्रष्टाचारीलाई फाँसीको सजाय हुनुपर्ने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता सुनुवारले पछिल्लो समय नेपालमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका घट्ना बढ्दै गएको भन्दै त्यसलाई रोक्नका लागि मृत्युदण्ड दिनुपर्ने टिप्पणी गरेका हुन् ।

 

अहिलेको सरकारबाट ठूलो परिवर्तनको अपेक्षा राख्नु स्वभाविक भएको भन्दै उनले ५ वर्षमा गर्ने काम ६ महिनामै गर्न सकेन भनेर असफल भन्न नहुने तर्क गरे ।

 

सरकार बनेको छोटो अवधीमा नै १६ वटा मौलिक हक, नीति, कार्यक्रम र बजेट बनेको उल्लेख गर्दै सुनुवारले तिनै नीति बजेट कार्यान्वयन भएपछि परिवर्तन देखिने बताए ।

 

‘मुलुकले दिशा समात्न लागेको छ । तर, समस्या धेरै छन् । समाधान पनि हुँदै जान्छ’, उनले भने । प्रतिपक्षीको गाली र आलोचनाले कम्युनिष्ट सरकार विचलित नहुने भन्दै उनले दबाबलाई सकारात्मक रुपमा लिइने बताए । ‘सरकारले काम गरिरहेको छ । प्रतिपक्षीको गालीले कम्युनिष्टहरु रिसाउँदैनन्’, सुनुवारले थपे ।

 

नेता सुनुवारले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली स्वस्थ भएपछि स्थायी कमिटीको बैठक बसेर एकता प्रक्रिया अगाडि बढाइने जानकारी दिए । उनले भने , ‘स्थानीय तहसम्मको कमिटी निर्माण छिटै हुन्छ । अब एकता प्रक्रिया टुङ्ग्याउछौँ ।’