काठमाडौँ–लुम्बिनी पर्यटकीय बस सञ्चालन

काठमाडौ, असोज २२ । ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले सोमबार बिहानदेखि काठमाडौँ–सुनौली हुँदै लुुम्बिनीसम्म बस सञ्चालनमा ल्याएको हो । ट्राभल नेपालले यसअघि नै लुम्बिनी बस सञ्चालन गर्ने भनेपनि मुग्लिङ–नारायणघाटको बाटो र पूर्वाधारका कारण सञ्चालन गर्न सकेको थिएन ।

 

प्रालिका सञ्चालक प्रल्हाद लोहनीले लुम्बिनीको लागि तीनवटा अत्याधुनिक र सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको जानकारी दिए । सुविधायुक्त सोफा सिट रहेको बसमा चर्पीदेखि चुरोट पिउने कोठासम्म रहेको छ ।

 

काठमाडौँको गौशालाबाट बिहान ६ः३० बजे लुम्बिनीका लागि छुट्ने बसको टिकट ट्राभल नेपाल अनलाइनमार्फत समेत लिन सकिने लोहनीले बताए । सात बस रहेको ट्राभल नेपालले चार बस पोखरामा सञ्चालन गर्दै आएको छ ।

 

टुरिष्ट बस एशोसियसन अफ नेपाल ९टिवान० का महासचिव कृष्ण आचार्यले मुलुकको पर्यटन विकासका लागि काठमाडौँ–लुम्बिनी बस सेवाले ठूलो सहयोग पुग्ने बताए।

 

दैनिक आन्तरिक तथा बाह्य हजारौँ पर्यटकलाई ओहोरदोहोर गराउने पर्यटकीय बसका लागि काठमाडौँमा छुट्टै बसपार्क नहुँदा समस्या परेको छ । काठमाडौँको कान्तिपथ सडकबाट पर्यटक बोकेर आवतजावत गरिरहेका पर्यटकीय बस यतिबेला सोह्रखुट्टे सडकबाट यात्रु बोकेर ओहोरदोहोर गरिरहेका छन् ।

 

पर्यटनको विकासका लागि एशोसियसनले काठमाडौँदेखि जनकपुर र बर्दियामा पनि बस सञ्चालन गर्न लागे पनि पार्किङका लागि पूर्वाधारको विकास र सडक राम्रो नहुँदा समस्या परेको छ । काठमाडौँबाट देशका विभिन्न भागमा पर्यटक लैजान हाल १०० को हाराहारीमा बसले यात्रुलाई सेवा दिइरहेका छन् । रासस