गत वर्षको तुलनामा भन्दा यस पटकको दसैंमा च्याङ्ग्राको भाउ महँगियाे

बागलुङ, असोज २९ । यस पटकको दसैंमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा रु चार हजार बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन् ।

 

च्याङ्ग्रा कम आउनु, ठाँउठाँउमा कर लिर्नुपर्नेजस्ता कारणले मूल्य बढेको हो । चिनियाँ मुद्राको भाउ बढ्दा पनि च्याङ्ग्रा महँगिने गरेको बताइन्छ । च्याङ्ग्रा २७ हजारमा बेचेको व्यवसायी महेन्द्र केसीले बताए ।

 

‘२३ हजार मुस्ताङमै पर्यो’ उनले भने, ‘गत वर्ष सो मूल्यमा यहीँ आउँथ्यो ।’ च्याङ्ग्रा खरीदमा लाग्ने समय, खाना, बास, भाडामै व्यवसायीको बढी खर्च छ । पहिलोजस्तो नाफा हुन छोडेपछि व्यवसायीले च्याङ्ग्रा कम खरीद गर्न थालेका छन् । केसीले ल्याएका १०१ च्याङ्ग्रामध्ये ५० बढी बिक्री भइसकेका छन् ।

 

उनीलगायत बागलुङबाट गएका व्यवसायीले एक साता लगाएर च्याङ्ग्रा भित्र्याएका हुन् । च्याङ्ग्रा यहाँ ल्याइ पुर्याउँदा व्यवसायीले तीन÷चार ठाउँमा दस्तुर र कर तिर्ने गरेका छन् । यो वर्ष कतिपय स्थानीय तहले पनि कर उठाएपछि व्यवसायी मर्कामा परेका हुन् । अर्का व्यवसायी बलबहादुर थापाले भाउ महँगिएपछि बेच्न गाह्रो भइरहेको बताए ।

 

व्यवसायी थापाले तिब्बतबाट यो वर्ष कम च्याङ्ग्रा आएकाले मूल्य बढेको बताए । मुस्ताङमा मात्रै पालिने च्याङ्ग्राले माग धान्न नसक्ने हुँदा ठूलो सङ्ख्यामा च्याङ्ग्रा तिब्बतबाट भित्रने गर्छन् ।

 

जिउँदो च्याङ्ग्राको मूल्य बढेपछि काटेर बेचिने मासुको मूल्य पनि चर्को छ । प्रतिकिलो रु १२ सय तिरेर च्याङ्ग्राको मासु किनेको बागलुङ नगरपालिका–४ का गोविन्द्रप्रसाद शर्माले बताए ।

 

बागलुङमा मात्रै दसैंका बेला वर्षेनी करीब दुई हजार च्याङ्ग्रा भित्रने गरेको व्यवसायी बताउँछन् । मुस्ताङबाट झारिने च्याङ्ग्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै काठमाडौंसम्म पु¥याइन्छ । पोखरामा यो वर्ष १७ हजार च्याङ्ग्रा झरेको बताइन्छ । –रासस