न्यायका लागि ज्यानै दिन तयार छु !निर्मलाका बाबु यज्ञराजको चेतावनी :

कञ्चनपुर –कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका बाबु यज्ञराजले न्यायका लागि आन्दोलनको घोषणा गरेका छन् । राज्यले आफूलाई न्याय नदिएकाले सुरुमा प्रशासनमा धर्ना दिने र त्यसबाट पनि नभए आमरण अनसनमा बस्ने उनले बताए ।

 

आइतबार आफ्नै घरमा पत्रकार सम्मेलन गर्दै उनले कार्तिक २५ गतेबाट स्थानीय प्रशासनमा धर्ना बस्ने घोषणा गरे । यज्ञराजले निर्मलाको बलात्कारपछि हत्या भएको एकसय २ दिन हुँदा समेत हत्यारा सार्वजनिक नगरेको भन्दै २५ गतेबाट न्यायका लागि जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने घोषणा गरेका हुन् ।

 

पत्रकार सम्मेलनपछि रातोपाटीले पन्तलाई टेलिफोनमा सम्पर्क गरेर धर्नापछि पनि न्याय पाउनुभएन भने के गर्नुहुन्छ भनेर प्रश्न गर्दा उनले भने ‘घटना भएको १०२ दिन बितिसक्यो, वास्तविक हत्यारा अझै सार्वजनिक भएको छैन । धर्नापछि पनि हत्यारा सार्वजनिक नगरे आमरण अनसन बस्छु र न्यायका लागि ज्यानै दिनपनि पछि पर्दिन ।

‘मेरो अरु केही माग छैन । म न्याय नपाउँदा डिप्रेशनको बिरामी भैसकेको छु । अब मलाई ज्यानको केही माया छैन । निर्मलाका ठाउँमा नेताकी छोरी भएको भए उनीहरु के गर्थे ? पन्तको प्रश्न छ ।

 

आफ्नो आन्दोलन न्याय नपाएसम्म जारी रहने भन्दै उनले अबको आन्दोलनमा पनि मानवअधिकारकर्मी, महिला, पत्रकार सवैले साथ रहनेमा विस्वस्त रहेको बताए ।
पन्तको घर कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा हो ।

 

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव भेटिएको थियो । घटनापछि हत्यारालाई कारबाहीको माग गर्दै निरन्तर आन्दोलन र दवाव अभियान चल्दै आएपछि हालसम्म दोषी पक्राउ पार्न सकेका छैनन् ।