निर्मला हत्याकाण्ड: गाउँले पनि प्रहरीको शंकाको घेरामा, चारजनाको डिएनए रिपोर्ट आयो

कञ्चनपुर, कात्तिक २९ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ । न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेका वेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर अनुसन्धान थालेको हो ।

 

‘उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा छन् । उनीहरूको गतिविधिमाथि सूक्ष्म ढंगले निगरानी भइरहेको छ,’ कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कडायतले भने।

 

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार निर्मलाका केही आफन्तलाई पनि निगरानीमा राखिएको छ । प्रहरीले गाउँलेसँगै अन्य क्षेत्रमा पनि अनुसन्धान जारी रहेको जनाएको छ । शंकास्पद व्यक्तिका टेलिफोन, फेसबुकलगायतमा पनि निगरानी बढाएको छ । त्यसका आधारमा दुई सयभन्दा बढी व्यक्तिसँग बयानसमेत लिएको छ । ‘केहीको मौखिक र केहीको लिखित बयान लिएका छौँ,’ एसपी कडायतले भने ।

१० साउनमा कापी लिन साथीको घर गएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला ११ साउनमा उखुबारीमा मृत भेटिएकी थिइन् । त्यसयता वडा प्रहरी, जिल्ला र प्रदेश प्रहरीसँगै सिबिआईको टोली पनि अनुसन्धान खटिएको थियो । गृह मन्त्रालय र प्रहरी मुख्यालयको उच्चस्तरीय टोलीसमेत छानबिनमा खटिए पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।

थप तीनको डिएनए परीक्षणको तयारी

डिएनए परीक्षण गरिएका शंकास्पद व्यक्तिको रिपोर्ट सकारात्मक आउनेमा प्रहरी पनि आश्वस्त छैन । एसपी कडायतले यसमा अहिल्यै केही भन्न नसकिने बताए । ‘उनीहरू चारैको मिल्न पनि सक्छ, कसैको नमिल्न पनि सक्छ । अहिल्यै केही भन्न सकिँदैन,’ उनले भने ।

प्रहरी शंकास्पद थप तीनजनाको डिएनए परीक्षणका लागि पनि तयारी अवस्थामा छन् । त्यसपछि अर्को चरणमा सन्दिग्ध घेरामा राखिएका गाउँका केही व्यक्तिको डिएनए परीक्षण गर्ने योजना बनाएको छ ।

यसअघि अभियुक्तका रुपमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका–१९ बागफाँटाका दीलिप विष्ट, कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका तत्कालीन एसपी दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षण भएपनि निर्मलाको भेजिनल स्वाबमा भेटिएको पदार्थसँग मेल खाएको थिएन ।

दीलिपका परिवारद्वारा क्षतिपूर्ति माग

निर्मलाको हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएर यातना दिएका दीलिप विष्टका परिवारले क्षतिपूर्तिको माग गरेका छन् । प्रहरीले दीलिपलाई मुख्य अभियुक्त भन्दै पत्रकार सम्मेलन गरेर ४ भदौमा सार्वजनिक गरेको थियो । तर, मानसिक सन्तुलन गुमाएका उनलाई नक्कली अभियुक्त बनाएको भन्दै आन्दोलन भएको थियो । डिएनए परीक्षण गर्दा नमिलेपछि दीलिप रिहा भएका थिए ।

प्रहरीले हिरासतमा राख्दा दिएको यातनाले दीलिपको स्वास्थ्य बिग्रिएको उनका दाइ खडकले बताए । अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको जनाउँदै खडकले भने, ‘ऋण निकालेर उपचार गरिरहेको छु । सामाजिक रूपमा पनि परिवारको बदनाम गरिएको छ ।’

चारजनाको डिएनए रिपोर्ट आयो

प्रहरीले शंका गरेका चार व्यक्तिको डिएनए रिपोर्ट आएको छ । केन्द्रीय विधिविज्ञान प्रयोगशाला काठमाडौंले काठमाडौंमा रहेका कञ्चनपुर प्रहरी अधिकृतलाई बुधबार रिपोर्ट दिएको छ ।

‘प्रयोगशालाले सिलबन्दी गरिएको रिपोर्ट दिएको छ, सरकारी वकिलको सल्लाहमा खोल्छौँ,’ कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले भने । रिपोर्ट कञ्चनपुर ल्याएपछि सरकारी वकिलको सल्लाहमा खोलिने उनले बताए । डिएनए परीक्षण गरिएका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । आजको नयाँ पत्रिकाबाट  ।