न्यायाधीश राउतकी पत्नी २२ दिनपछि थुनामुक्त


काठमाडौं मंसिर ५। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी पत्नी ललिताकुमारी थुनामुक्त भएकी छन् । जिल्ला अदालतको आदेशपछि ललिताकुमारीसँगै उनका दुई दाजु र एक भाउजुलाई २२ दिन थुनामा राखेपछि उदयपुर जिल्ला अदालतले थुनाबाट मुक्त गर्न आदेश दिएको हो ।

१४ कात्तिकमा पक्राउ परेकी ललिता मंसिर ३ गतेसम्म प्रहरी हिरासतमा बसिन् । उनीविरुद्ध कीर्तेको मुद्दा परेको थियो । दाइभाउजुको बच्चालाई आफ्नो बनाएर नक्कली जन्मदर्ता गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। तर, जिल्ला न्यायाधीश तीर्थराज केसीको इजलासले सरकारी कागज कीर्तेको मुद्दामा प्रमाण नष्ट गर्न सक्ने सम्भावना नभएकाले हिरासतमा नराखी अड्डाले खोजेको बेला उपस्थित हुने गरी छाड्न सोमबार आदेश दिएको हो ।

 

’निजहरूलाई हिरासत नराखि अड्डाले खोजेको बखत उपस्थति गराउने शर्तमा मुद्दाको अनुसन्धान गर्न कुनै वाधा नदेखिँदा थप अवधि हिरासतमा नराखि अनुसन्धान गर्नुहोला भनि मिसिल र सक्कल कागजात सम्बन्धीत इलाका प्रहरी कार्यालय कटारीमा पठाइदिनु,’ उक्त आदेशमा उल्लेख छ। जेठा दाजुभाउजुको बच्चालाई आफ्नो बनाएर वडा कार्यालयमा जन्मदर्ता गराएपछी न्यायाधीश राउतका बुवाले प्रहरीमा उजुरी दिएका थिए।

 

उनको उजुरीपछि प्रहरीले ललिता, उनका दुई दाजु र कान्छी भाउजुलाई पक्राउ गरेको थियो। २०६१ सालमा विवाह गरेका प्रकाशमान र ललिताका सन्तान छैनन्। श्रीमानको सहमतिमै जेठा दाजुभाउजुको बच्चालाई आफ्नो बनाएर जन्मदर्ता गराएको श्रीमति राउतको दाबी छ।

 

तर न्यायाधीश राउतले भने अर्कैको बच्चालाई जालझेल गरेर श्रीमतिले आफ्नो बनाएको बताउँदै आएका छन्। उनीहरुले गत असोज १० र ११ गते कटारी नगरपालिका वडा नम्बर ३ को कार्यालयबाट बाबु प्रकाशमान सिंह राउत र आमा ललिताकुमारी राउत, बाजे बलबहादुर राउत हो भनी कीर्ते सही छाप ल्याप्चेसमेत लगाई नवजात शिशु दक्ष्य राउतको जन्मदर्ता बनाएको आरोप छ ।