अार्थिक समृद्धि हासिल गर्न धेरै समय लाग्दैन : प्रधानमन्त्री अाेली


काठमाडौं मंसिर १०। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आर्थिक समृद्धि हासिल गर्न धेरै समय नलाग्ने बताएका छन्। उद्योग–वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको प्रथम बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

उत्पादनका नयाँ क्षेत्र पहिचान गर्ने त्यसलाई कार्यन्वयन गरेर दुई अंकको आर्थिक वृद्धि सहित समृद्धि हासिल गर्न धेरै समय नलाग्ने प्रधानमन्त्री ओलीको दाबी छ । ‘परम्परागत ढंगले धान फलाएर,गहुँ फलाएर वा आलु फलाएर मात्र आर्थिक वृद्धि हुदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘खनिज पदार्थको उत्खनन्, र कृषिको आधुनिकीकरण मार्फत देशलाई समृद्ध बनाउन सकिन्छ।

 

प्रधानमन्त्री ओलीले दुई तिहाइ बहुमतसहित देश निर्माण गर्ने दुरदर्शी योजना भएको सरकार भएकोले यसमा शंका नगर्न सबैलाई आग्रह गरे। ‘बहुमतले मात्र देशको विकास हुदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘विगतमा पनि वहुमतका सरकार थिए तर केही भएन । अहिले देश निर्माणको ठोस योजना सहितको दुई तिहाईको सरकार भएकोले देश बन्छ । यसका लागि सबै क्षेत्रको साथ सहयोग चाहिन्छ।’

 

देश निर्माणको प्रमुख आधार सुशासन भएकोले त्यसको पालनामा निजी र सरकारी सबै क्षेत्र सजग हुनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। लोकतन्त्र राजनीतिक हक अधिकार प्राप्तीको विषय मात्र भन्दा पनि आम जनताको जीवनमा सुखको अनुभुत गराउने माध्यम हुनु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ।

 

प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रमा भएका नीतिगत अफ्ठ्याराहरुलाई सजिलो बनाउन सरकार प्रतिवद्ध रहेको बताए। ‘ सरकार र निजी क्षेत्रका चाहनाहरु कहिलेकाँही नमिल्न सक्छन्, ‘ प्रधानमन्त्री ओलीले भने, ‘तर यथासक्य सरकार लचिलो भएर ऐन कानुनलाई परिमाजर्न गर्न तयार छ।’

 

संघीय संसदको आगामी अधिवेशनमा आफ्ना आफ्ना क्षेत्रमा भएका ऐन कानुनका अफ्ठ्यारालाई लिपिवद्ध गरेर संसद सचिवालयमा बुझाउन प्रधानमन्त्री ओलीले आग्रह गरे। ‘संसदको आगामी अधिवेशनमा संसोधन गर्नुपर्ने ऐन कानुनहरु कारण सहित पेश गर्नुहोस हामी त्यसलाई अध्ययन गरेर सजिलो बनाउने प्रयास गर्छौं,’ उनले भने।