सेना भर्ना घुसकाण्ड : कोर्ट मार्शल फैसला- १८७ दोषी, तीन करोड २३ लाख बिगो असुली !

काठमाण्डौ  मंसिर १४। २०७३ र २०७५ सालमा नेपाली सेनामा विभिन्न पदहरुको भर्नामा भएको अनियमितता सम्बन्धमा २०७५र०२र६ गते सहायक रथीको अध्यक्षतामा बसेको कोर्ट अफ ईन्क्वायरीले छानबिन गरी २३ अधिकृतसहित १८७ जना उक्त भर्ना प्रक्रियामा दोषी देखि जनरल समरी सैनिक अदालत (कोर्ट मार्शल)को लागि सिफारिस गरिए अनुसार विभिन्न सजायको फैसला सार्वजनिक भएको छ।

 

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, उक्त कोर्ट अफ ईन्क्वायरीको आधारमा २०७५ कार्तिक ६ गते प्रधानसेनापतिबाट निर्देशन भई उपरथीको अध्यक्षतामा ९ सदस्यीय जनरल समरी सैनिक अदालत गठन भई अदालती प्रकृया शुरु भएको थियो ।

उक्त सैनिक अदालतले २०७५ मंसिर १३ गतेको मितिबाट लागू हुने गरी दोषीहरुबाट कूल विगो रकम रु। ३,२२,७५,०००र(तीन करोड बाइस लाख पचहत्तर हजार) राजस्व दाखिला हुने गरी निम्न फैसला गरेको छ।

(क) २ (दुई) अन्य दर्जालाई ६ (छ) वर्ष कैद, विगो रकम राजस्व दाखिला र भविश्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी बरखास्त,

(ख) २(दुई) अधिकृत सहित ६ (छ) जनालाई ३५ (पैतिस) दिन देखि ३ (तीन) वर्षसम्म कैद, विगो रकम राजस्व दाखिला र भविश्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बरखास्त,

(ग) १ (एक) जना अधिकृत सहित २ (दुई) जनालाई विगो रकम राजस्व दाखिला र भविश्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बरखास्त,

(घ) १ (एक) अन्य दर्जालाई भविश्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बरखास्त,

(ङ) १ (एक) अन्यदर्जालाई विगो रकम राजस्व दाखिला सहित ४ (चार) वर्ष बढुवा रोक्का,

(च) ५ (पाँच) अन्य दर्जालाई २ (दुई) देखि ५ (पाँच) वर्ष बढुवा रोक्का,

(छ) भर्ना हुँदा मापदण्ड विपरीत भर्ना भएका १०१ (एक सय एक)अन्य दर्जालाई भविश्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बरखास्त,

(ज) ३७ (सैतिस) अन्य दर्जालाई भर्ना हुँदा आर्थिक लेनदेनमा संलग्न भएकोले ३ (तीन) वर्ष बढुवा रोक्का,

(झ) सैनिक ऐन अनुसार आफ्नो पदीय दायित्व पूरा नगर्ने अधिकृत १६ (सोह्र) सहित जम्मा १७ (सत्र) जनालाई सचेत गराईएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बताएको छ।

(ञ) ४ (चार) अधिकृत सहित आरोपित १४ (चौध) जनालाई सफाई दिइएको, कोर्ट मार्शल फैसला गरेको छ।

 ( ट  )  सेवारत १ (एक) अन्य दर्जालाई भर्ना भएको दर्जाबाट घटुवा गरी पहिलाकै दर्जा कायम गरिएको छ ।साँघु साभार ।