वर्षातले निकै क्षति पुर्याएको साँफे–मार्तडी सडकलाई ठेकेदार कम्पनिले पूर्णरुपमा मर्मत नगरेपछि बाजुराका प्रहरीले आफैँ मर्मत गर्न सुरु

बाजुरा, मंसिर २० । साँफे–मार्तडीसडक खण्ड अन्तरगत बार्जुगाडदेखि सदरमुकाम मार्तडीसम्मको २८ किलोमिटर सडकमा यस वर्षको वर्षातले निकै क्षति पुर्याएको सडकलाई ठेकेदार कम्पनिले पूर्णरुपमा मर्मत नगरेपछि बाजुरा प्रहरीले आफैँ मर्मत गर्न सुरु गरेको छ ।

 

साँफे–मार्तडीसडक खण्ड अन्तरगतको बल्दे, दवारी, हरणेखोला, तिपाडा, ओलेना, पानीनाउला, थुवाकाँध र पावरहाउस देखि कारागार डिलसम्मको सडकमा यस वर्षको वर्षातमा सडकलाई पूर्णरुपमा क्षति पारेको छ । वर्षातमा क्षती भएको सडक हिउँदे याम सुरु भइसक्दा पनि पुनमर्मत नगरिएपछि जिल्ला भित्रिने र बाहिरिने सवारी साधानहरुलाई दिनप्रतिदिन सडकमा यात्रा गराउन जोखिम बढ्दै गएको छ ।

 

वर्षातमा भत्किएको सडक पुन मर्मत नगरिएपछि सवारी साधानहरु दुर्घटना हुने सम्भावना बढेको भन्दै सडकमा सवारी साधानहरुलाई अबरोध हुनेगरि खसेका ढुंगा र पहिरो हटाउन सुरु गरिएको बाजुरा प्रहरी प्रमुख उद्धवसिंह भाटले बताए ।

 

बिहीबार बिहानैबाट बाजुरा प्रहरी प्रमुख उद्धबसिंह भाट, प्रहरी निरिक्षक लोकेन्द्रसिंह गुरुलगायत २० जना प्रहरीको सक्रियतामा सडकमा खसेका ढुंगा र पहिरो हटाउन थालिएको हो ।

 

गत असारदेखि भदौ मसान्तसम्म निरन्तर परेको वर्षासंगै सडक माथिबाट खसेको पहिरोले सडक नै जोखिममा रहेको छ । सडक निर्माण कम्पनि पिएस कन्ट्रक्सन प्रालिले सदरमुकाम मार्तडीसम्मको सडकलाई पुनमर्मत नगरेपछि प्रहरी आफैले भत्केको सडक मर्मत गरेको हो ।

 

यता बार्जुगाडदेखि सदरमुकाम मार्तडीसम्मको पक्की सडक निर्माणको जिम्मा पाएको पिएस कन्ट्रक्सन प्रालिका ईन्चार्ज प्रेम थापाले भने वर्षातमा भत्केको सडकलाई मंसिर मसान्त भित्र एक स्काइभेटर सहित ५ वटा टिप्पर लगाएर पुनः मर्मत गरिसक्ने दाबी गरेका छन् ।

 

वि।स।२०५१ सालमा अछामको साँफेबगरबाट सदरमुकाम मार्तडीसम्मको ५७ किलोमिटर सडकको सिलानास गरेको २२ वर्षपछि सदरमुकाम मार्तडीमा बस सेवा संचालन भएको थियो ।

 

बाजुराबासीले सदरमुकाम मार्तडीबाटै पक्की सडकमा यात्रा गर्ने धोको गत बैशाख महिनाबाट पुरा गरेका भएपछि यस वर्षको वर्षातले पक्की बनेको सडक पूर्णरुपमा पहिरोले भत्किएपछि अहिले ५७ किलोमिटर सडकमध्ये करिब ५ किलोमिटर कच्चीसडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।