विधान मस्यौदामा समान धारणा बनाउन पौडेल पक्षको छुट्टै भेला

काठमाडौं, मंसिर २४ । पार्टीको सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको महासमिति बैठक नजिकिए सँगै विधानको विषयलाई लिएर नेपाली कांग्रेसभित्र गुटगत भेला तीव्र हुन थालेको छ । गुटगत बैठक विशेष गरी केन्द्रीय कार्यसमितिको संख्या बढेसँगै पदाधिकारीको संख्या बढाउनुपर्ने, पार्टीभित्रको निर्णय गर्ने अधिकार विकेन्द्रीकरण गर्नुपर्ने विषयमा केन्द्रित रहेको छ ।

 

विधान संशोधनको मुख्य एजेन्डासहित यही मंसिर २८ देखि पुस ३ गतेसम्म कांग्रेस महासमिति बैठक बस्दै छ । महासमति बैठकमा पेस हुने विधान मस्यौदामाथिको छलफल केन्द्रीय कार्यसमितिमा सकिएको छ । केन्द्रीय सदस्यहरुबाट आएको सुझावलाई समावेश गरी समान धारणासहित विधान मस्यौदा पेस गर्न कांग्रेसको छुट्टाछुट्टै गुटगत भेला बसिरहेको छ ।

 

समिति बैठकमा नौ दिनसम्म चलेको विधान मस्यौदामाथिको छलफलबाट प्राप्त सुझावलाई शीर्ष नेताहरु बसेर परिमार्जन गर्ने आधार तय गरी औपचारिक निर्णय गर्ने तयारी भइरहेको छ । कार्यसमितिको संख्या बढाउने तर पदाधिकारी नबढाउने गरी मस्यौदा समितिले पेस गरेको विधान मस्यौदामाथि केन्द्रीय समितिका अधिकांश सदस्यले असहमति जनाउँदै पदाधिकारीको संख्या पनि बढाउनुपर्ने माग गरेका छन् ।

 

यसै विषयमा छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक आइतवार नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको थियो । बैठकमा पौडेलका साथै महामन्त्री डा। शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, डा। शेखर कोइराला, डा। रामशरण महत, चन्द्र भण्डारी, गगन थापा, नवीन्द्रराज जोशी, कमला पन्त, जीवन परियार, काठमाडौं जिल्ला सभापति सबुज बानियाँलगायतको उपस्थिति थियो । नेपाल समाचारपत्रबाट