श्रममन्त्री विष्ट र फ्रान्सेली राजदूत फ्राँस्वा जाभियबीच भेटवार्ता


काठमाडौं  पाैष ५। नेपालका लागि फ्रान्सका राजदूत फ्राँस्वा जाभिय लेजे र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग भेटवार्ता भएको छ । उक्त भेटका अवसरमा नेपाल र फ्रान्सबीचको सात दशक लामो सम्बन्धका विविध आयामका बिषयमा छलफल भएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।

भेटका क्रममा मन्त्री विष्टले नेपालमा २०७२ सालमा आएको विनासकारी भुकम्पको बेला फ्रान्स सरकारले पुर्याएको सहयोग र विभिन्न पूर्वाधार विकासको क्षेत्रमा गरेको लगानी प्रति आभार व्यक्त गरे। मन्त्री विष्टले नेपालका धेरै युवाहरु रोजगारीको शिलशिलामा खाडी र युरोपका विभिन्न मुलुकमा कार्यरत रहेको सन्दर्भमा दुई देशबीच रोजगारीका अवसर आदानप्रदान मार्फत दुवै देशको हित अभिवृद्धी गर्न सकिने बताए।

 

सो अवसरमा राजदूत लेजेले तीन महिनाको अवधिमा राजनीतिक, आर्थिक तथा भौगोलिक अवस्थाको जानकारी प्राप्त गरेको बताए। यस प्रकारको द्विपक्षीय छलफलले नेपाल र फ्रान्सबीचको सम्बन्धलाई थप मजवुत वनाउन सहयोग पुग्ने उनको भनाई छ।

 

नेपालको राजनीतिक स्थायित्वप्रति खुशी व्यक्त गर्दै फ्रेञ्च कम्पनीहरुले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन चाहेको र यसको लागि नेपालको आवश्यकता के हो भन्ने विषय पहिचान गर्न जरुरी रहेको उनले बताए। सोही अवसरमा उनले सन २०१४ मा नेपाल र फ्रान्सबीच भएको द्विपक्षीय सम्झौताको कार्यन्वयन गर्न दुवै देश जिम्मेवार हुनु पर्ने बताए।

 

जवाफमा मन्त्री विष्टले फ्रान्स सरकारको तर्फबाट देखाएको लगानीको अग्रसरता प्रति धन्यवाद दिँदै आवश्यकता र औचित्यताको आधारमा दुइदेशबीच लगानी तथा सहयोगको आदान प्रदान गर्नुपर्ने बताए। उनले नेपाल र फ्रान्सबीचको बहुआयामिक सम्वन्धलाई अझ विस्तार गर्न आफू प्रतिवद्ध रहेको कुरा उल्लेख गरे।