आमाछोराको शव जङ्गलमा फेला, हत्याको अनुसन्धान जारी

रुकुम, पुस २९। सिस्ने गाउँपालिका, ६ की ३० वर्षीया रेनुका केसी शाह र उनकी २० महिनाका नाबालक छोरा एटियम शनिबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व ले जनाएको छ ।

 

उनीहरू पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट निस्केका थिए । घरदेखि तीन किलोमिटर टाढाको उदीनढुङ्गा जङ्गलमा छोरा झुन्डिएको र आमा भुइँमा लडेको अवस्थामा फेला परेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले बताए । दाउरा काट्न जङ्गल गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

आमाको घाँटीमा पनि डोरीको दाग रहेकाले डोरी चुँडिएको हुनसक्ने प्रहरीले बताए । प्रारम्भिक अनुसन्धानबाट छोराको हत्यापछि आमाले आत्महत्या गरेको जस्तो देखिएको छ । थप परीक्षण र अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी नायब उपरीक्षक तिम्सिनाले बताए ।