चिनियाँसहित तीनजनालाई सम्पत्ति शुद्धिकरण मुद्दा

काठमाडौं फागुन १४। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले चार वर्षअघि चिनियाँ नागरिकबाट बरामद भएको एक करोड तीस लाख रुपियाँ रकम अवैध र गैरकानूनी कार्यबाट आर्जित भएको जनाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले २०७१ साउन १५ गते उक्त रकमसहित चिनियाँ नागरिक लि जिओफेङलाई ठमेलबाट पक्राउ गरि विभागमा बुझाएको थियो । विभागले सो रकम अवैध र गैरकानूनी स्रोतबाट आर्जन भएको दाबीसहित सोमबार विशेष अदालतमा उक्त मुद्दा दायर गरेको हो ।तातोपानी नाका हुँदै चीन लान खोजेको विशेष सूचनाका आधारमा महाशाखाले उनलाई पक्राउ गरेको थियो ।

महाशाखाले बरामद रकमसहित थप कारवाहीका लागि १९ साउन २०७१ मा विभागमा पत्र बुझाएको थियो । अबैध रकमसहित पक्राउ परेका लि धरौटीमा रिहा भएका थिए । अहिले भने ती सबै अभियुक्त फरार छन् ।यो खबर आजको समाचारपत्रमा छ ।