त्रिपुरेश्वर – नागढुङ्गा सडक वैशाखभित्र कालोपत्रे गर्ने तयारी

काठमाडौँ, फागुन १५ । लामो समयदेखि नाजुक रहेको त्रिपुरेश्वर– कलङ्की– नागढुङ्गा सडकमा अब चाँडै कालोपत्रे देखिने भएको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले कामलाई तिब्रता दिएसँग आउँदो वैशाखभित्र कालोपत्रे हुने भएको हो ।

 

साढे तीन वर्ष पहिले नै निर्माण सम्झौता भएको १६ किलोमिटर लामो उक्त सडक विस्तार जग्गा अधिग्रहण विवादले समयमै काम हुन नसक्दा सर्वसाधारणले सास्ती ब्यहोर्नुपरेको थियो । कलङ्कीदेखि नागढुङ्गासम्मका विभिन्न स्थानमा सडकछेउका संरचना भत्काउनै पर्ने भएपछि स्थानीय मुआब्जा माग गर्दै सर्वोच्च अदालत गएका थिए । अदालतले विभिन्न मुद्दामा घर भत्काउन रोक लगाएपछि निर्माण समस्या भएको थियो ।

 

समस्या समाधानका लागि तत्परता देखाउँदै गत साउन १० गते मन्त्रिपरिषद् बैठकले सो सडक विस्तारलाई यथासम्भव अगाडि बढाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले उपलब्ध चौडाइमा आवश्यक संरचनासहित निर्माण सम्पन्न गर्ने सैद्धान्तिक सहमति दिएपछि सडक विस्तार आयोजनाको काम अगाडि बढेको हो ।

 

चार खण्डमा निर्माण सम्झौता भएको उक्त सडक विस्तारको कार्यमा पहिलो खण्डको त्रिपुरेश्वरदेखि कलङ्की खण्डमध्ये सोल्टीमोडदेखि कलङ्की चोकसम्म कालोपत्रे गर्ने अन्तिम तयारी गरिएको छ । कलङ्कीदेखि नागढुँगासम्मको क्षेत्रमा पनि सम्भव भएका क्षेत्रमा निर्माण कार्यले तीव्रता पाइरहेको आयोजना प्रमुख अर्जुनप्रसाद अर्यालले जानकारी दिनुभयो ।

 

अठार मिटर चौडा कालोपत्रे सडक निर्माण गर्ने भनिए पनि विवाद आएका स्थानमा मन्त्रिपरिष्दको निर्णय अनुरुप यथासक्य चौडा गराइने अर्यालको भनाइ छ ।

“सडक छेउका संरचना नभत्काउने गरी सम्भव भएका सबै स्थानमा सडक चौडा र कालोपत्रे गर्न लागेका छौँ,” उहाँले भन्नुभयो । कूल ३९ करोड २९ लाख रुपियाँमा त्रिपुरेश्वरदेखि कलङ्कीसम्मको निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी सिएम कन्स्ट्रक्सनले अहिले सोल्टीमोडदेखि कलङ्कीसम्म कालोपत्रेको अन्तिम तयारी गरेको छ ।

 

विस्तारित भागमा ग्राभेलिङको काम भइरहेको सीएमका प्रबन्धक शान्तराम श्रेष्ठले जानकारी दिनुभयो । “हाम्रो योजना आइतबारबाट नै कालोपत्र गर्ने थियो,’’ उहाँले भन्नुभयो, ‘‘मौसमी प्रतिकूलताका कारण केहीदिन पछि सार्नुपरेको छ, मौसम ठीक भएमा यसै साताभित्र कालोपत्रेको काम शुरू गरिन्छ ।’

कलङ्कीदेखि नागढुङ्गासम्म सडक विस्तारको मुख्य जिम्मेवारी पाएकोे सैलुङ निर्माण सेवाले पनि कामलाई तीव्रता दिइरहेको छ । सैलुङका संयोजक नवराज भण्डारीले सडकछेउका विद्युत् पोल तथा खानेपानीका पाइपको व्यवस्थापनको काम भइरहेको जानकारी दिनुभयो ।

 

“सबै काम तीव्र गतिमा भइरहेको छ,” उहाँले भन्नुभयो, ‘‘ढुङ्गाअड्डा क्षेत्रमा त कालोपत्रे गर्न मिल्ने अवस्थामा पुुगेका छौँ । मौसम अनुकूल हुनासाथ कालोपत्रे थाल्छौँ ।’ नागढुङ्गासम्म चैत्रभित्रै कालोपत्रे लगायतका सबैकाम सम्पन्न गर्ने गरी काम अगाडि बढाएको उहाँले बताउनुभयो ।”

 

त्रिपुरेश्वरदेखि नागढुङ्गासम्मको सडक विस्तार गर्न २०७२ साल असार ३१ मा ठेक्का सम्झौता भएको थियो । गत कात्तिक मसान्तमा ठेक्का अवधि सकिए पनि निर्माण कम्पनीले अवधि थपका लागि अयोजना कार्यालयमा आवेदन दिइसकेका छन् । कामको प्रगति हेरेर ठेकेदारलाई समय उपलब्ध गराउने तयारी रहेको जनाइएको छ । गोरखापत्र दैनिकबाट।