हेलिकोप्टर दुर्घटनामा , मन्त्री अधिकारीसहित सबैको निधन

काठमाडौं, फागुन १५ । ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार ७ जनाको शव फेला परेको छ। फुङलिङ नगरपालिका-१०, काफ्लेपाटीमा भएको दुर्घटनास्थलमा ७ जनाको शव फेला परेको हेली सोसाइटी अफ नेपालका एक प्रतिनिधिले पुष्टि गरेका हुन्।

 

फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई ‘तारा’ले पनि ७ जनाकै शव फेला परेको पुष्टि गरे। ‘दुर्घटना भएको जानकारी मिल्नासाथ हामी सो स्थानतर्फ जाँदैछौं’, उपप्रमुख भट्टराईले भने, ‘दुर्घटना स्थलमा पुगेका स्थानीयले ७ जनाको शव भेटिएको पुष्टि गरेका छन्।’

 

उनका अनुसार दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपािलकाको सीमा क्षेत्रमा पर्छ। उनले भने, ‘सो क्षेत्र प्रशिद्ध तिर्थस्थल पाथीभराको नजिक रहेको छ।’ अहिले घटनास्थलतर्फ जिल्लास्थित सरकारी अधिकारी तथा प्रहरीसहितको उद्दार टोली पुग्दै गरेको उनले बताए।

 

‘हाल ताप्लेजुङमा कुहिरो लागिरहेको र पानी पनि परिरहेको छ’, भट्टराईले भने। ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाको विमानस्थल कार्यालयलेसमेत पुष्टि गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना सवार हेलिकोप्टरमा सवार थिए।

 

कलसाइन एएमआई ९अल्फा माइक इन्डिया० उक्त हेलिकोप्टर काठमाडौंबाट आज बिहान साढे ८ बजे उडेको थियो। मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो। मन्त्रीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन गुरुङ लगायत थिए। हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।