पन्ध्र लाख भारतीय रुपैया चोरेको आरोपमा एक पक्राउ

बैतडी, चैत १६ । भारतमा १५ लाख भारतीय रुपैया चोरेर भागेका एक नेपाली पक्राउ परेका छन् । भारतको राजस्थानबाट पैसा चोरेर भागेका बैतडीका नागरिकलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।

भारतको राजस्थानमा काम गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका ४ घर भएका ३२ बर्षीय निरजबहादुर चन्दलाई गएराती उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो ।

भारतस्थित नेपाली दुतावासले पत्राचार गरेपछि चन्दलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । १५ लाख रुपैया भारु चोरेर ल्याएको आरोप लागेका चन्दले भने आफूले १४ लाख भारु मात्रै चोरेको प्रहरीसंग स्वीकार गरेको छ । चन्द भारतको राजस्थानका राजेश गुप्ताको घरमा काम गर्दै आएका थिए ।

चोरेर ल्याएको रकम मध्ये डेढ लाख मात्रै नगद फेला परेको र अरु रुपैया कैलालीमा बुझाएको भनेकाले चन्दलाई कैलाली प्रहरी समक्ष पठाउने तयारी भएको छ । कैलालीमा चन्दले कसलाई पैसा बुझायो भन्ने खुल्न नआएको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको छ ।