नदीमा डुबेर १ जनाको मृत्यु, जीपको ठक्करवाट एक घाइते

बैतडी,चैत ३० ।बैतडी र दार्चुलाको सीमा भएर बग्ने चौलानी नदीमा डुबेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरका ४५ बर्षीय लक्ष्मण सिंह भण्डारी रहेका छन्।

आज दिउँसो १ बजेतिर देउझाडी नजिक चौलानी नदीमा नुहाउने क्रममा भण्डारीको डुबेर मृत्यु भएको दार्चुलाका प्रहरी प्रमुख दिपेन्द्र शाहीले जानकारी दिनुभयो । भण्डारी सुस्त मनस्थितीको रहेको बुझिएको उहाँले बताउनुभयो ।

मृतक भण्डारीको शव परिक्षणपश्चात आफन्तको जिम्मा लगाईसकेको प्रहरीले जनाएको छ ।

जीपको ठक्करवाट १ जना घाइते

जीपको ठक्करवाट बैतडीमा आज एक जना घाइते भएका छन् । घाईते हुनेमा पाटन नगरपालिका ४ का २६ बर्षीय हजारी चन्द रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दशरथचन्द नगरपालिका २ स्थित निंगलाशैनी भगवती मन्दिरमा मेला हेर्न गइरहेका बेला आज दिउँसो २ बजेतिर चन्दलाई देहिमाडौं बजार नजिक घुसुल्ला मोडमा म १ ज १८९ नं को जीपले ठक्कर दिएको हो ।

जीपको ठक्करले घाईते भएका चन्दको निधार र हातमा चोट रहेको छ । घाइते चन्दको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका जिल्ला प्रहरी प्रवक्त्ता एवं प्रहरी निरीक्षक दिपक पातलीले बताउनुभयो ।