आलु महोत्सवमा १५ लाखको आलु विक्री

पोखरा, बैशाख ०१। पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजित आलु महोत्सवमा रू. १५ लाख ६० हजारको आलु विक्री भएको छ । ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ आयोजित महोत्सवमा शुक्रवारसम्म लगभग ३७ हजार दर्शकले अवलोकन गर्नुका साथै सो रकमको आलु खरीद गरेका थिए ।

 

विष्णुपादुका खेलमैदानमा आयोजित महोत्सवको आकर्षणकोरुपमा रहेको आलुको पहाडमा अहिले पनि खरीद विक्रीको भीड लाग्ने गरेको संयोजक कृष्णबहादुुर थापाले जानकारी दिए ।

 

उनका अनुसार दर्शकले महोत्सवमा आलुका विभिन्न परिकारको स्वाद लिँदै सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता, राष्ट्रिय कृषि दोहोरी, कृषि झाँकी, पप कन्सर्ट, हास्य कलाकारको प्रस्तुति, जापानीज सुन्तला, च्याउ, कफी, चियाको विक्री एवम् प्रदर्शन गरिएको छ । यही चैत २२ गतेदेखि सञ्चालन भएको महोत्सव  आज आइतवारसम्म सञ्चालन रहने छ ।