प्रधानमन्त्री ओलीद्वारा महासचिव पौडेलको बचाउ

काठमाडौं, बैशाख १८ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले ललिता निवासको सरकारी जग्गा खरिदमा महासचिव विष्णु पौडेलको संलग्नता नरहेको बताउनुभएको छ । उहाँले सरकारले ललिता निवासको सरकारी जग्गा फिर्ता ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।

 

मंगलबार नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले जहाँ जोसुकैले सरकारी जग्गा अतिक्रमण गरेको भएपनि सरकारले फिर्ता ल्याउने बताउदै भन्नुभयो–नेकपाको सरकार र पार्टीलाई बदनाम गर्न बालुवाटार जग्गा प्रकरणलाई विरोधीहरुले उचाल्ने काम गरेका छन् ।’

 

नेकपाको सरकार र पार्टीलाई बदनाम गर्न महासचिव पौडेललाई लान्छना लगाइएको उल्लेख गर्दै राजाको शाससनकालमा किनबेच भएको जग्गा विक्री हुँदा महासचिव पौडेल कुनै पदमा नै नरहेको दावी गर्नुभयो । पौडेलले सत्ता र पदको दुरुपयोग गरेर जग्गा आफ्नो छोराको नाममा गरेको होइन, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

 

उहाँले बालुवाटार जग्गा प्रकरण, वाइडबडी प्रकरण तथा होटल हायात प्रकरणको स्पष्ट छानबिन गरेर दोषीलाई कारबाही गर्ने बताउदै कसलाई नाफा नोक्सान पर्छ त्यसतर्फ ध्यान नदिइ सरकारले सत्यत्थ्य बाहिर ल्याउने बताउनुभयो ।

 

सोमवार बसेको नेकपाको सचिवालय बैठकमा नेताहरुले महासचिव पौडेलमाथि छानबिन गर्नुपर्ने माग राखेपछि प्रधानमन्त्री ओलीले महासचिव पौडेल निर्दोष रहेको बताउनुभएको छ । नेपाल समाचारपत्रका खबर छ ।